PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रुझाउँदै जावलाखेल पुगे रातो मछिन्द्रनाथ, जेठ २६ गते भोटो जात्रा

रुझाउँदै जावलाखेल पुगे रातो मछिन्द्रनाथ, जेठ २६ गते भोटो जात्रा

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई आज जावलाखेल पुर्‍याइएको छ। लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको 'रछ्यान कामना पीठ'को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ।

रातो मछिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ।

इति टोलबाट जावलाखेलसम्म रथ पुर्‍याउने दिन पुल्चोक,बुंगमती, कीर्तिपुर,पांगा,नँगाउँ,सतुंगल,बलम्बु, मच्छेगाउँका, थानकोटका मानिसहरु आउनुपर्ने परम्परा रहेको थियो। तर अहिले भने त्यो परम्परामा कमी आउन थालेको स्थानीय बताउँछन्। यद्यपि जात्राको रौनकमा भने परिवर्तन आएको छैन। 

कुमारीपाटी हुँदै जावलाखेल पुग्ने क्रममा परेको झरीले रथ यात्रामा पुगेका मानिसहरुलाई झनै रोमाञ्चित बनाएको थियो। 

रथ जावलाखेल पुगेसँगै यो वर्षको रथयात्रा सम्पन्न भएको छ। अब चार दिनपछि अर्थात जेठ २६ गते जावलाखेलमै भोटो जात्रा हुनेछ। सो दिन उपत्यकामा सार्वजनिक विदा दिइनेछ।

भोटो जात्रापछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्गमतीमा रहेको मन्दिरमा विराजमान गराएपछि मात्रै यो वर्षको रातो मछिन्द्रनाथको जात्रा समापन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell