PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजदूत नियुक्तिमा राजनीतिको रन्को : निर्देशिका लत्याउँदै नेता भए हाबी



विधुर ढकाल

राजदूत नियुक्तिमा राजनीतिको रन्को : निर्देशिका लत्याउँदै नेता भए हाबी

काठमाडौं : सरकारले रिक्त चार देशका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरे पनि विवादमुक्त भने रहन सकेन। गत बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले चार देशमा राजदूत नियुक्तिको निर्णय गरेको थियो।

अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका नयाँ राजदूत चयन गरेको हो।

मानव बेचविखनको आरोप लागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिइन्। त्यसपछि त्यहाँको राजदूत पद खाली थियो। अष्ट्रेलियका लागि सरकारले नयाँ राजदूतमा महेश दाहाललाई नियुक्तिका लागि सिफारिस गरेको छ।

उनी ९ महिना अगाडि मात्र ने क पामा प्रवेश गरेका थिए। सुरुमा कांग्रेसमा रहेका दाहाल गत प्रतिनिधिसभा तथा प्रदेशसभामा चितवनबाट प्रचण्ड विजयी भएसँगै उनीसँग नजिकिएका थिए।

नेपाली कांग्रेसको कोटाबाट नेपाल टेलिभिजनको अध्यक्ष भएका उनलाई ने क पाको पार्टी कार्यालयमा प्रचण्ड र महासचिव विष्णु पौडेलले पार्टी प्रवेश गराएका थिए।

तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालले दाहाललाई अध्यक्षमा नियुक्त गरेका थिए। दाहाललाई पछि माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले उनको कार्यकाल थप गरिदिएका थिए। कार्कीले माओवादी कोटाबाट सचिन रोकालाई महाप्रबन्धकमा नियुक्ति दिँदै दाहालको कार्यकाल थपेका थिए त्यतिखेर।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै दाहालले राजीनामा दिए। ने क पा प्रवेश गर्ने क्रममा धुम्बाराहीमा 'टुरिस्ट' पहिरनमा ढाका टोपी लगाएका उनी त्यस लगत्तै विमानस्थल पुगेका थिए। अनि सोझै अमेरिका हानिएका थिए। उनका परिवार अमेरिकामा स्थापित छन्। नेपाल जेसिजको अध्यक्ष भएका र वाककटुता भएका दाहालसँग मानिस रिझाउने क्षमता बाहेक कुटनीतिक क्षेत्रको अनुभव भने छैन।

कांग्रेसका डाक्टरको ठाउँमा नेकपाका डाक्टर

तत्कालीन नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत नियुक्त गरी पठाएका राजदूतहरुलाई ओली सरकारले फिर्ता गराउँदै नयाँ राजदूत सिफारिस गर्न थालेको छ।

यसरी कांग्रेसको कोटाबाट सिफारिसमा परेका नेपालका लागि बंगलादेशका राजदूत डाक्टर चोपलाल भुषाललाई गत वर्षको पुसमै ओली सरकारले फिर्ता बोलाउन निर्णय गरेको थियो।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालका श्रीमान डाक्टर भुषाललाई देउवा सरकारले त्रिवि शिक्षण अस्पतालका चिकित्सक हुँदाहुँदै बंगलादेशको राजदूतको रुपमा पठाएको थियो।

अहिले उनको स्थानमा ओली सरकारले नेकपाका डाक्टर बंशीधर मिश्रलाई राजदूतको रुपमा सिफारिस गर्ने निर्णय गरेको हो। मिश्र नेकपाका नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेजका लगानीकर्ता हुन्।

तत्कालीन नेकपा एमालेबाट संविधानसभाको सदस्य भएका मिश्र मेडिकल शिक्षाको सुधारका लागि गोविन्द केसीले गरेको सत्याग्रहको कटु आलोचक हुन्। उनमा पनि कुटनीतिक क्षेत्रको अनुभव छैन। उनी न त पार्टीको विदेश विभागसँग जोडिएका नै नेता हुन्। डाक्टर मिश्र पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपालको कोटाबाट सिफारिसमा परेको स्रोतले बतायो।

जनप्रशासनमा स्नातक तथा एमबीबीएस गरेका मिश्रले २०३२ सालमा विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०४९, २०५६ र २०६४ मा मिश्र नेता नेपालको गृह जिल्ला रौतहट ४ बाट निर्वाचित भएका थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सदस्य भएका थिए। उनी हाल नेकपाको केन्द्रीय सदस्य छन्।

त्यस्तै, प्रधानमन्त्री ओलीको प्रस्तावमा सिफारिसमा पर्नेमा स्पेनका लागि राजदूत दावाफुटी शेर्पा छिन्। भुषाललाई बंगलादेशबाट फिर्ता बोलाउने निर्णयमै स्पेनका लागि राजदूत भरतबहादुर रायमाझीलाई पनि सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो।

नेपालले स्पेनमा पहिलो पटक २०७४ सालमा सरकारले राजदूत खोल्ने निर्णय गर्दै रायमाझीलाई राजदूतको रुपमा सिफारिस गरेको थियो। त्यतिबेला दूतावास नै नभएको देशमा राजदूत सिफारिस गरेको भन्दै विरोध भएको थियो।

राप्रपाको कोटाबाट राजदूत सिफारिस भएका रायमाझी नियुक्ति भएको ९ महिनापछि कार्यक्षेत्रमा पुगेर ओहोदाको प्रमाणपत्र बुझाएका थिए।

तर, कार्यभार सम्हालेको साढे ९ महिनामा नै उनलाई सरकारले फिर्ता बोलाएको थियो। उनको स्थानमा हाल सरकारले दावाफुटी शेर्पालाई राजदूतको रुपमा नियुक्तिका लागि सिफारिस गरेको छ। शेर्पा नेपालकी प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्। उनका बुबा लाक्पा सोनाम शेर्पा यति एयरलाइन्सका कार्यकारी अध्यक्ष तथा थामशेर्कु ट्रेकिङका सञ्चालक हुन्।

उनका भाइ आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसँगै निधन भएको थियो। उनको निधन पछि लाक्पा सोनाम यति एयरलाइन्सको कार्याकारी अध्यक्ष भएका हुन्।

ने क पाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेका व्यवसायी आङछिरिङ शेर्पाकै सम्बन्धका कारण दाबाफुटी शेर्पालाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको परराष्ट्र स्रोतले बतायो। हाल ने क पाको पार्टी कार्यालय रहेको धुम्वाराहीको भवन उनै दावाफुटीकी आमा पासाङ ल्हामुको स्मृतिमा बनेको फाउन्डेशनको स्वामित्वमा रहेको भवन हो। उनी फाउन्डेशनकी अध्यक्षसमेत हुन्।

दावाफुटी राष्ट्रिय विभुतीकी छोरी भएकाले 'कोटा'मा बुढानिलकन्ठ स्कुलमा पढेकी हुन्। पछि अमेरिकामा अध्ययन गरी फर्किएकी उनले विश्व खाद्य कार्यक्रममा केही समय स्वमसेवकका रुपमा काम गरेकी थिइन्। उनले हिमाली जिल्लामा काम गरेको संगठनको नेपाल च्याप्टर स्रोतले जनायो। हाल उनी आफ्नो पारिवारिक कम्पनी थामशेर्कु ट्रेकिङमा काम गर्दै आएकी छन्। राजनीतिक निकटता रहेको व्यापारिक घराना हुनुबाहेक उनमा राजदूत हुने अनुभव केही नभएको परराष्ट्र स्रोत जनायो।

त्यस्तै, सरकारले कतारका लागि नयाँ राजदूतमा नारद भारद्वाजलाई सिफारिस गर्ने निर्णय गरेको छ। राजदूत सिफारिसमा ने क पाका दुई अध्यक्ष र नेता नेपालबीचको भागबण्ड हुँदा प्रधानमन्त्री ओलीको कोटामा परेका दुई राजदूत मध्ये भारद्वाज तत्कालीन ने क पाको विदेश विभागको सदस्य रहेर काम गरेका नेता हुन्।

प्रधानमन्त्री ओलीसँगै झापा विद्रोहमा सहभागी भएका उनी १२ वर्ष जेल बसेका थिए। त्रिविमा अंग्रेजी विषयको सहप्राध्यापक रहेका उनलाई ओलीकै जोडबलमा राजदूत सिफारिस गरिएको हो।

कतारका लागि राजदूत प्रा रमेशप्रसाद कोइरालालाई सरकारले वैशाखमा फिर्ता बोलाउने निर्णय गरेको थियो।

कोइराला कांग्रेस कोटाबाट राजदूतमा सिफारिस भएका थिए। कांग्रेस कोटाबाट कतारका लागि २०७३ को अन्तिममा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूतमा सिफारिस गरेको थियो। कोइराला पूर्व श्रममन्त्री टेकबहादुर गुरुङका सल्लाहकारको जिम्मेवारीमा समेत थिए।

राजदूत नियुक्तिमा नीति भन्दा नेता हावी

नयाँ सरकार गरेसँगै परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि नयाँ निर्देशिका जारी गरेको थियो। असार २४ गतेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिका राजदूत नियुक्ति गर्दा विरलै मात्रामा अपनाइँदै आएको छ। राजदूत नियुक्तिमा नीति निर्देशिका भन्दा पनि नेताहरु हाबी हुने परम्परा यसपटक पनि दोहोरिएको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले प्रारम्भिक अध्ययन गरी सम्भावित उम्मेद्वारको टुंगो लगाउने भन्दै राजदूत नियुक्तिका लागि नयाँ योग्यता सार्वजनिक गरेका थिए।

प्रारम्भिक उम्मेदवारहरुको छनोट गर्दा परराष्ट्र सेवा र सामाजिक काममा संलग्नतालाई हेरिने र त्यसमा विषयगत दक्षतालाई समेत ध्यानमा राखिने बताएका थिए मन्त्री ज्ञवालीले।

राजदूतहरुको नियुक्ति परराष्ट्र सेवा र विशिष्ठ योगदान पुर्‍याएका (राजनीतिक नियुक्ति) पचास/पचास प्रतिशतको आधारमा सिफारिस गर्ने गरी निर्देशिका बनाइएको छ। राजदूत नियुक्त गर्दा १४ वटा योग्यतालाई समेत ध्यान दिइने बताइए पनि सरकारले राजदूत नियुक्तिका लागि प्रमुख योग्यता नेतासँगको निकटतालाई दिइएको छ।

राजदूत नियुक्तिका लागि न्यूतम शैक्षिक योग्यता स्नातक, विदेशी नागरिकता नलिएको, कुटनीतिक अनुभवलाई प्राथमिकता दिइएको हुनुपर्ने उल्लेख छ। त्यस्तै, कुन देशका लागि सिफारिस गर्ने हो त्यहाँ नेपालको तर्फबाट सम्पादन हुने कामको आवश्यकता अनुसारको ज्ञान भएकोलाई प्राथमिकतामा राखिने बताइए पनि त्यस्तो नभएको परराष्ट्रका अधिकारीले बताए।

'नीति एउटा छ सिफारिस गर्दा ती सबैलाई पञ्छाइयो,' परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, 'नीति र निर्देशिका एकातिर तर नेतासँगको निकटतालाई हेरिएको छ। अहिले नियुक्तिका लागि सिफारिसमा परेकाहरु बारे मन्त्रालयबाट अध्ययन भएको देखिँदैन।'

निर्देशिकामा एनजिओमा काम गर्नेलाई सिफारिस नगर्ने बताइए पनि स्पेनका लागि सिफारिस भएकी शेर्पा आफैमा एनजिओकी अध्यक्ष हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell