PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हेर्नुस् प्रहरीको त्यो 'किक' जसले 'प्रहरी मेरो साथी' भन्ने नारालाई नै लज्जित पार्छ : को हुन् यिनी जसले अनाहकमा सहन पर्‍यो लात?

हेर्नुस् प्रहरीको त्यो 'किक' जसले 'प्रहरी मेरो साथी' भन्ने नारालाई नै लज्जित पार्छ : को हुन् यिनी जसले अनाहकमा सहन पर्‍यो लात?

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार प्रर्दशन हुँदा प्रहरीको छवि नै बिग्रने गरी एउटा तस्बिर सार्वजनिक भयो।

माइतीघर मण्डलमा नेवा: देय् दबूका नेवा राजनीतिक अभियानका नेवा: राष्ट्रिय पत्रकार दबू लगायत नेवार समुदायका अगुवाहरुले प्रदर्शन गरेका थिए। त्यही स्थिति केही असामान्य बन्न पुग्यो।

प्रदर्शनकारी र प्रहरीबीच एकाएक झडपको स्थिति बन्यो। केही प्रदर्शनकारी घाइते पनि भए। केहीलाई प्रहरीले नियन्त्रणमा पनि लियो। नियन्त्रणमा लिएका एकजनालाई भने प्रहरीले किक हानिरहेको फोटोले 'प्रहरी मेरो साथी' भन्ने नाराकै धज्जी उडाइरहेको थियो। त्यसो त केही अघि बौद्धमा सडक कालोपत्रेको माग गर्दै आन्दोलनमा उत्रनेको सुनको सिक्री प्रहरीले नै उडाएको खुलासा नभएको होइन।

प्रहरीले समातिसकेपछि पनि लातको सिकार भएका हुन् उपेन्द्रकाजी शाक्य। कालो चस्मा र रातो टिसर्टमा देखिएका शाक्यलाई प्रहरीले लाठीले मात्र हानेनन् लात्तीले पनि प्रहार गरिरहे।

‘म पानीको फोहरा हानेको भिडियो मोबाइलमा खिचिरहेको थिएँ। पछाडिबाट १०/१२ जना प्रहरीको समूह आएर हान्न थाले,' उपेन्द्रकाजी शाक्यले भने।

प्रहरीले प्रदर्शनकारीमात्र नभइ माइतीघर मण्डल वरिपरि बसिरहेका सर्वसाधारणमाथि समेत पानीको फोहरा प्रहार र लाठी हानेको थियो। त्यही क्रममा शाक्यलाई प्रहरीले नियन्त्रणमा लियो। तर, उनी झडपकै क्रममा भाग्न पनि सफल भए। ‘केही समय नियन्त्रणमा लिएर राख्यो। तर, अरुलाई नियन्त्रण गरेपछि उम्किन सफल भएँ,' शाक्यले भने।

प्रहरीको लाठी प्रहारबाट शाक्यको शरीरमा चोट लागेको छ। ‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौं। प्रहरीले दमन गर्‍यो। यो गलत हो,' शाक्यले भने।

प्रहरीले प्रदर्शनका क्रममा लाठी प्रहार गरेर दमन गरेको भन्दै आलोचना भएपछि पानीको फोहरा प्रयोग गर्न थालेको छ। तर, नियन्त्रणमा रहेका शाक्यलाई लात्ती प्रहार भएपछि प्रहरी थप आलोचित भएको छ।

माइतीघर मण्डलमा छुट्यो प्रहरीको वाटर केनन, प्रदर्शनकारीको ढाडमा लाठी र लात

 



ट्रेन्डिङ पोस्ट

Ncell