PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

त्रिपक्षीय सन्धि पुनरावलोकन गरी दुई देशबीच सम्झौता गर्न बेलायती समकक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव



पहिलोपोस्ट

त्रिपक्षीय सन्धि पुनरावलोकन गरी दुई देशबीच सम्झौता गर्न बेलायती समकक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं : बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका प्रधानमन्त्री थेरेसा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ।

आज बेलायती प्रधानमन्त्रीको निवास १० डाउनिङ स्ट्रिटमा भएको भेटवार्तामा बेलायती सेनामा कार्यरत नेपालीहरू (ब्रिटिस गोर्खा) सम्बन्धी समस्या समाधानको विषयमा छलफल भएको थियो। त्यस्तै भेटवार्ताका क्रममा नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिको विषयमा छलफल भएको थियो।

सन् १९४७ मा भारतबाट बेलायती उपनिवेश हट्दै गर्दा तीन देशबीच भएको सन्धिको पुनरावलोकन तथा बेलायती सेनामा कार्यरत नेपालीको समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई थप उचाइमा लाने विषयमा कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस गोर्खा सैनिक सन्दर्भमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुरानो भएको भन्दै नयाँ परिवेश अनुसार पुनरावलोकन हुनुपर्ने बताएका छन्।

‘ब्रिटिस–गोर्खा आर्मीका सम्बन्धमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच सम्पन्न त्रिपक्षीय सन्धि पुरानो भयो। यस सन्दर्भमा भर्ती, अवकाश तथा अवकाशपछिको अवस्था समेट्ने गरी नयाँ व्यवस्था गर्नु पर्छ, नेपाल र बेलायतबीच द्वीपक्षीय सन्धि गर्नु पर्छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विट गरेका छन्।

भेटमा नेपाल–बेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धनका विषयमासमेत छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन्।

बेलायतमा कार्यरत गोरखा सैनिकहरूले पटक पटक बेलायत सरकारबाट असमान व्यवहार भएको भन्दै आन्दोलन गर्दै आएका छन्। समस्या समाधानका लागि दुई देशबीच सरकार स्तरबाट संवाद गरी समस्या समाधान गर्नुपर्ने बताउँदै आएका छन्।

यसअघि सन् २०१८ को मार्चमा त्रिपक्षीय कमिटीले पनि समस्या समाधानका लागि दुई देशबीच वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दुवै देशका प्रतिनिधिलाई बुझाएको थियो। तर हाल सम्म उक्त सुझाव कार्यान्वयनमा आएको छैन।

यसअघि प्रधानमन्त्री ओलीले बेलायती समकक्षी मेसँगको भेटवार्ता अगाडि बेलायतमा रहेका गोरखा सैनिक तथा नेपाली प्रतिनिधिहरूसँग भेट गरी उनीहरूको समस्याको बारेमा जानकारी लिएका थिए।

आन्दोलनरत गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो), संयुक्त सत्याग्रह सङ्घर्ष समिति लगायतका विभिन्न गोर्खाका संस्थाका नेताहरूसँग भेटेर उनीहरूको समस्याको बारेमा जानकारी लिएका हुन्।

यसैबीच आजै प्रधानमन्त्री ओलीले लन्डनमा रहेका व्यापारिक समुदायका प्रतिनिधिहरूसँग नेपालमा लगानीको वातावरण बनेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

उनले नेपालमा गरिने लगानीको सुरक्षा गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार ह्यारीसँग शिष्टाचार भेट गरेका छन्। राजकुमार ह्यारीले केन्सिङटन प्यालेसमा प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए।

प्रधानमन्त्री ओली बुधवार रेलमार्ग हुँदै लन्डनबाट फ्रान्सको पेरिस जाँदै छन्। ओली फ्रान्स र ब्रिटेनबीच समुद्रमुनि अवस्थित ब्रिटिश च्यानल भनिने युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्ने बीबीसी नेपाली सेवाले जनाएको छ।

प्रधानमन्त्री ओलीको बिहीवार फ्रान्सका प्रधानमन्त्रीसँग द्वीपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री स्तरमा नेपालबाट फ्रान्समा हुन लागेको १९ वर्षपछिको पहिलो भ्रमण हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell