PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि नेपालको तयारी सुरु, सन्दीपले सिकाए बलिङ



पहिलोपोस्ट

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि नेपालको तयारी सुरु, सन्दीपले सिकाए बलिङ

काठमाडौ : मलेसियामा जुलाईमा हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि नेपाली युवा क्रिकेट टोलीले तयारी शुरु गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको कारण नेपालको युवा टोलीले ढिलो तयारी सुरु गरेको हो।

जुलाई २ देखि मलेसियामा प्रतियोगिता सुरु हुने भएपनि नेपालले भने तीन साता समय बाँकी रहँदा तयारी थालेको हो।

बिहीवार कीर्तुरस्थित टीयू मैदानमा सुरु भएको प्रशिक्षणमा राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछानले लेगस्पीनरहरुलाई बलिङ सिकाएका थिए। १९ वर्षका भएपनि सन्दीप हाल यू-१९ टिममा भने छैनन्।

राष्ट्रिय टिमबाट खेलिसकेका रोहित कुमार पौडेल, भिम शार्की, पवन सर्राफ भने यूवा टोलीमा छन्।

यू-१९ टिमका प्रशिक्षक विनोद दासले यू-१९ टोलीमा रहेका खेलाडी र यू-१६ को चार खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएको जानकारी दिए। दासका अनुसार शुक्रवारदेखि पूर्ण रुपमा प्रशिक्षण हुनेछ।

प्रतियोगिताको लागि नेपालले खेलाडीको सूचीमा एसीसीलाई पठाएपनि अहिलेसम्म नाम अप्रुभ भएर आएको छैन।

काठमाडौंमा एक साताको तयारी पछि नेपाली टोली थप तयारीका लागि भारत जानेछ। प्रशिक्षक दासले टोली बैंगलोर जाने र त्यहाँ ३ वटा अभ्यास खेल खेल्ने बताए। त्यहाँबाट नेपाली टिमको अन्तिम सूची तयार गर्ने प्रशिक्षक दासले बताए।

बिहीवार टीयू मैदानमा सन्दीपले यू-१९ टिममा रहेका लेगस्पिनरहरुलाई प्रशिक्षण दिएका थिए। विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगहरुमा खेलिसकेका सन्दीपले अन्य युवा खेलाडीलाई लेगस्पिन कला सिकाएका हुन्।

यस्तै सन्दीपको बलिङमा प्रशिक्षक विनोद दासले ब्याटिङ समेत गरेका थिए।

मलेसियामा जुलाई पहिलो साता हुने यू-१९ इस्टर्न क्रिकेटमा नेपाल समूह ए मा छ। नेपालले पहिलो खेल म्यानमारसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell