PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकप क्रिकेट : रुटको दोस्रो शतक, वेष्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड दोस्रो स्थानमा



पहिलोपोस्ट

विश्वकप क्रिकेट : रुटको दोस्रो शतक, वेष्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड दोस्रो स्थानमा

जो रुटको अलराउण्ड प्रदर्शन अनी जोफ्रा आर्चर र मार्क उडको उत्कृष्ट बलिङ पछि घरेलु टोली इंग्ल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा तेस्रो जित हात पारेको छ। शुक्रवार भएको खेलमा इंग्ल्याण्डले वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो।

तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोड्दै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लेको हो। साविक विजेता अष्ट्रेलिया को पनि समान ६ अंक रहेपनि इंग्ल्याण्ड रनरेटको आधारमा अगाडि रहेको हो। उता दोस्रो हारपछि ४ खेलबाट ३ अंक रहेको वेष्ट इन्डिज छैटौँ स्थानमा छ।

रुटले यस संस्करणमा दोस्रो शतक प्रहार गरेपछि इंग्ल्याण्डले २१३ रनको लक्ष्य ३३.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि फास्ट बलरद्वय जोफ्रा आर्चर र मार्क उडको ३-३ विकेट अनी रुटले २ विकेट लिएपछि वेष्ट इन्डिज २१२ रनमै अलआउट भएको थियो।

रुटले ९३ बल खेल्दै ११ चौकाको मद्दतमा शतक पूरा गरेका थिए। ९४ बल खेलेका रुट सय रनमा नटआउट रहे।

रुटको यो करियरको १६औं ओडिआई शतक हो। उनले यस संस्करणमा पाकिस्तान विरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए।

कप्तान इयान मोर्गन र नियमित ओपनर ज्यासन रोए फिल्डिङका क्रममा घाइते भएपछि रुटले जोनी बेयर्स्टवसँगै ओपनिङ गरेका थिए। उनले पहिलो विकेटका लागि बेयर्स्टोवसँग १४.४ ओभरमा ९५ रनको साझदारी गरेका थिए।

बेयर्स्टोब ४६ बल खेल्दै ७ चौकाको मद्दतमा ४५ रन बनाएर आउट भए। त्यसपछि तेस्रो नम्बर ब्याटिङ गरेका क्रिस वोक्ससँग रुटले दोस्रो विकेटका लागि शतकिय साझेदारी गरे। यी दुईले १०४ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। वोक्सले ५४ बल खेल्दै ४ चौकाको मद्दतमा ४० रन योगदान गरे।
 

वेष्ट इन्डिजका शानन गाब्रीएलले इंग्ल्याण्डको दुवै खेलाडीलाई आउट गरेका थिए। उनले ७ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए।

त्यसअघि साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले इंग्ल्याण्डको उत्कृष्ट बलिङसामु पुरा ओभर खेल्न सकेन। निकोलस पुरनले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले ४० रनको व्यक्तिगत आँकडा पार गर्न सकेनन्। फलस्वरुप वेष्ट इन्डिजले ४४.४ ओभर खेल्दै सबै विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो।

पुरनले ७८ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ६३ रन बनाए। शिमोन हेयतमारले ३९ र क्रिस गेलले ३६ रन जोडे।

वेष्ट इन्डिजलाई अलआउट गर्न मार्क उडले ६.४ ओभरमा १८ रन मात्र खर्चेर ३ विकेट लिए। आर्चरले ९  ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए। ५ ओभर बलिङ गरेका रुटले २७ रन खर्चेर २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell