PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विश्वकप क्रिकेट : फिन्चको १५३ रन, स्टार्कको ४ विकेट, अष्ट्रेलिया चौथो जित हात पार्दै शीर्ष स्थानमा



पहिलोपोस्ट

विश्वकप क्रिकेट : फिन्चको १५३ रन, स्टार्कको ४ विकेट, अष्ट्रेलिया चौथो जित हात पार्दै शीर्ष स्थानमा

कप्तान आरोन फिन्चको शतक अनी मिचेल स्टार्कको उत्कृष्ट बलिङ मद्दतमा साविक विजेता अष्ट्रेलियाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा चौथो जित हात पारेको छ।

शनिवार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया अंकतालिकामा शीर्ष स्थानमा उक्लेको हो। ५ खेल खेलेको अष्ट्रेलियाले चार जित र एक हारसहित ८ अंक जोडेको छ। ५ खेलपछि श्रीलंकाको भने ४ अंक मात्र छ। श्रीलंकाले १ खेल जित्दा २ खेलमा वर्षाका कारण अंक बाँडेको थियो। दुई खेलमा भने श्रीलंकाले हार बेहोरेको हो।

कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले कप्तान फिन्चको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३४ रनको बनाएको थियो। ३३५ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.५ ओभरमा २४७ रनमा अलआउट भयो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले उत्कृष्ट सुरुवात गरेको थियो। कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १५.५ ओभरमै ११५ रनको उत्कृष्ट साझेदारी गरेका थिए। तर मिचेल स्टार्कले कुशल परेरालाई आउट गर्दै अष्ट्रेलियालाई पहिलो सफलता दिलाए। त्यसपछि भने श्रीलंकाले लगातार विकेट गुमाइरह्यो। कप्तान दिमुथ शतक बनाउनबाट ३ रनले चुके। श्रीलंकालाई लागि सर्वाधिक रन बनाएका उनले १०८ बल खेल्दै ९ चौकाको मद्दतमा ९७ रन बनाए। लहिरु थिरिमानेले १६ र कुशल मेन्डिसले ३० रन जोडे। धनन्जय शिल्भा १६ रनमा नटबउट रहे। बाँकी ६ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

१८६ मा ३ विकेट गुमाएको श्रीलंकाले थप ६१ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो।

श्रीलंकालाई अलआउट गर्न अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए। मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए। यस्तै केन रिचर्डसनले ३, प्याट कमिङले २ तथा ज्यासन बेरोहनडर्फले १ विकेट लिए।

ग्लेन म्याक्सवेलले विकेट लिन नसकेपनि किफयाती बलिङ गर्दै १० ओभरमा ४६ रन खर्चे। तर उत्कृष्ट फिल्डिङ गरेका उनले श्रीलंकालाई करुणारत्नेलाई आउट गर्न उत्कृष्ट क्याच लिएका थिए।

त्यसअघि आरोन फिन्च यस विश्वकपमा शतक प्रहार गर्ने पहिलो कप्तान बन्दा अष्ट्रेलियाले लगातार दोस्रो पटक ३३० भन्दा बढि रन बनाएको थियो। डेविड वार्नर २६ र उस्मान खवाजलाई १० रनमा गुमाएपनि फिन्चले पूर्व कप्तान स्टिभ स्मिथसँग मिलेर तेस्रो विकेटका लागि १७३ रनको साझेदारी गरेका थिए। फिन्चले १३२ बल खेल्दै १५ चौका र ५ छक्काको मद्दतमा १५३ रन बनाए।

५९ बल खेलेका स्मिथले ७ चौका र १ छक्काको मद्दतमा ७३ रन जोडे। यस्तै अलराउण्डर ग्लेन म्याक्सवेलले २५ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा नटआउट ४६ रन बनाए।

श्रीलंकाका इरुस उदाना र धनन्जय दा शिल्भाले २-२ विकेट लिए। उदानाले ४९औं ओभरमा एलेक्स क्यारी र प्याट कमिङलाई आफ्नै बलमा रनआउट समेत गरेका थिए।

 

स्टार्क दोस्रो स्थानमा

श्रीलंका विरुद्ध ४ विकेट लिएपछि स्टार्क विश्वकपमा अष्ट्रेलियाका लागि सर्वाधिक विकेट लिनेमा ब्रेट लिसँगै दोस्रो स्थानमा पुगेका छन्।

दोस्रो विश्वकप खेलिरहेका स्टार्कले यस संस्करणमा ५ खेलबाट १३ विकेट लिइसकेका छन्। गत संस्करणमा अष्ट्रेलिया र न्यूजिल्याण्डमा भएको विश्वकपमा उनले ट्रेन्ट बोल्टसँगै सर्वाधिक २२ विकेट लिएका थिए। स्टार्कले वेष्ट इन्डिज विरुद्ध ५ विकेट लिएका थिए भने पाकिस्तान विरुद्ध २ तथा अफगानिस्तान र भारत विरुद्ध १-१ विकेट लिएका थिए।

विश्वकपमा अष्ट्रेलियाका लागि ग्लेन म्याग्राले सर्वाधिक ७१ विकेट लिएका छन्। म्याग्रा विश्वकपमै सर्वाधिक विकेट लिने बलर समेत हुन्।

यस्तै श्रीलंका विरुद्ध २ विकेट लिङ्कएा अष्ट्रेलियाका प्याट कमिङ यस विश्वकपमा सर्वाधिक विकेट लिनेमा स्टार्क भन्दा पछि छन्। उनले ५ खेलमा ११ विकेट लिइसकेका छन्।

 

फिन्च अगाडि

१२औं संस्करणमा शतक प्रहार गर्ने पहिलो कप्तान बनेका फिन्च सर्वाधिक रन बनाउनेमा अगाडि छन्। श्रीलंका विरुद्ध १५३ रन बनाएका उनले एक शतक र र दुई अर्धशतकसहित कूल ३४३ रन बनाएका छन्। फिन्चले सर्वाधिक चौका (३०) र सर्वाधिक छक्का (१४) पनि प्रहार गरेका छन्।

यस्तै सर्वाधिक रन बनाउनेको दोस्रो स्थानमा पनि अष्ट्रेलियाकै डेविड वार्नर छन्। एक र दुई अर्धशतक प्रहार गरेका वार्नरले २८१ रन बनाएका छन्। यसैगरी ३ अर्धशतक प्रहार गरेका स्मिथल २४३ रनहसित सर्वाधिक रन बनाउनेमा पाँचौ स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell