काठमाडौँः गुठी विधेयकको विवादमा सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोप सदनमा जारी छ। सोमबारको प्रतिनिधिसभा बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष दलका सांसद्हरुले एक अर्कालाई आरोप लगाएका छन्।
विशेष समय लिएर नेपाली कांग्रेसका सांसद् दिलेन्द्र बडुले विधेयक फिर्ता लिन माग गरे। सडकमा भइरहेको आन्दोलनलाई कांग्रेसको समर्थन रहने बडुले सदनबाटै घोषणा गरे।
विधेयकबारे प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुल बाँस्कोटाको दोहोरो चरित्र भएको उनले टिप्पणी गरे।
उनले भने ‘सडकमा चलिरहेको जायज आन्दोलनमा नेपाली कांग्रेसको समर्थन छ। ऐक्यवद्धता जनाउन चाहन्छ। तत्काल उक्त विधेयक फिर्ता लिएर वार्ता र सम्वादमा सरकार जाओस्। अन्यथा उत्पन्न हुने परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनेछ। प्रधानमन्त्री विचार गरिनेछ भन्ने सरकारकै प्रवक्ता सामन्ती चरित्रको अन्त्य गरिन्छ भन्ने दोहोरो चरित्र हामीलाई मान्य छैन। विधेयक तत्काल फिर्ता होस्।’
विशेष समयमा बडुले गरेको कटाक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् खगराज अधिकारी जवाफ दिए। शून्य समयमा अधिकारीले कांग्रेसलाई विगतमा आफैँले गरेको काम सम्झन स्मरण गराए।
अधिकारीले भने ‘नेपाली काँग्रेसको सरकारले गुठीलाई रैकरमा १६० रुपैयाँ लिएर जमिनदारका नाममा दर्ता गर्दा धर्म संस्कृति कहाँ हरायो? धर्म, संस्कृति, कला साहित्यका लागि निरन्तर लडिरहेको नेपाल कम्युनिस्ट पार्टीका बारेमा बोल्नेहरूले एक पटक आफ्नो अनुहार हेर्नुपर्छ।’
यस्तै, विशेष समयमा सांसद् लक्ष्मणलाल कर्णले राज्य व्यवस्था समितिले गरेको निर्देशन कार्यान्वयन नगर्ने लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको भनाइप्रति आपत्ति प्रकट गरे। समितले स्थानीय तहको पदपूर्ति सम्बन्धी निर्णय रोक्न आयोगलाई निर्देशन दिएको थियो।