काठमाडौं : साविक विजेता गोल्डेनगेट इन्टरनेशनल कलेज क्वीक्स नेपाल बास्केटबल लिगबाट बाहिरिएको छ। होम एण्ड अवे को आधारमा भएको लिगमा तेस्रो भएको गोल्डेनगेट एलिमिनेटरमा नेपाल पुलिसँग पराजित हुँदै बाहिरिएको हो।
बेस्ट अफ थ्री को आधारमा भइरहेको प्लेअफ अन्तर्गत एलिमिनेटरमा पुलिसले लगातार दुई खेल जितेपछि गोल्डेनगेट बाहिरिएको हो। सोमवार राखेप कभर्डहलमा भएको दोस्रो खेलमा पुलिसले गोल्डेनगेटलाई ९०-६५ ले पराजित गर्यो। पुलिसका लागि विकास गुरुङले २४ अंक स्कवर गरे। उनी खेलको बेस्ट प्लेअर चुनिए। यसअघि आइतवार भएको पहिलो खेलमा पुलिसले गोल्डेनगेटलाई ७८-७२ ले पराजित गरेको थियो।
पुलिसले अब दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लब र टाइम्स इन्टरनेशनल क्लबको विजेतासँग खेल्नेछ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीले पहिलो क्वालिफायर खेलिरहेका छन्। बेस्ट थ्री को आधारमा भइरहेको खेलमा दुवैले एक-एक खेल जितेका छन्। आइतवार आर्मीले टाइम्सलाई पराजित गरेको थियो। तर सोमवार भएको खेल टाइम्सले ८१-५७ ले जित्दै खेल बराबरी गरेको हो। अब तेस्रो खेल जित्ने टिम सिधै फाइनल प्रवेश गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्न पुलिससँग खेल्न पाउनेछ।