PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्पिडमा गर्नुस् कन्ट्रोल, नत्र यसरी हुनुहुनेछ लेजर गनको शिकार : कसरी गर्छ यसले काम?

स्पिडमा गर्नुस् कन्ट्रोल, नत्र यसरी हुनुहुनेछ लेजर गनको शिकार : कसरी गर्छ यसले काम?

सविन ढकाल/पहिलोपोस्ट


‘३० हजारको बाइक छ। एक हजार कसरी तिरौं सर?’

हातमा हेल्मेटम बोकेका एक युवक विशाल ट्राफिक प्रहरीसँगै प्रतिवाद गरिरहेका थिए। बा ३४ प ३४१८ नम्बरको पुरानो स्कुटर सडकको किनारा लगाइएको थियो।

हातमा रातो चिट बोकेका ट्राफिक प्रहरीले ‘नियम नै यस्तै छ’ भन्दै सम्झाइरहेका थिए। चिटमा हजार रुपैयाँको जरिवाना दस्तुर काटिसकेका थिए। युवक सहजै चिट समात्ने पक्षमा थिएनन्।

दिउँसो चर्को घाममा युवक पनि तात्दै गएका थिए। ‘१० हजार रुपैयाँ तलब छ। कसरी एक हजार रुपैयाँ जरिवाना तिरौँ?’ उनले फेरि पनि आफ्नो दलील पेश गरे।

तीव्र गतिमा सवारी चलाएको भन्दै शुक्रवार दिउँसो ललितपुरको सातदोबाटोमा उनी ट्राफिकको कारबाहीमा परेका हुन्। प्रहरीले एक साता अघिमात्र तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रण गर्न कारबाही सुरु गरेको हो। ‘लेजर स्पिड गन’को सहायताले ट्राफिकले प्रति घन्टा ५० किलोमिटरभन्दा बढीको स्पिडमा कुदाएमा कारबाही गर्न थालेको हो। युवक त्यही कारवाहीको भागिदारमध्येका एक प्रतिनिधिमात्र हुन्।

एक साताको अवधिमा ५ सयभन्दा बढी चालक यस्तै कारबाहीमा परिसकेका छन्। उनी आफ्नो स्पिड ५० भन्दा बढी नभएको पनि दाबी गर्दै थिए। तर, ५४ किलोमिटरको स्पिडमा उनले मोटरसाइकल हुइँक्याएका रहेछन्।

उनले ५० भन्दा कम स्पिडमा बाइक कुदाएको दावी गरिरहेपछि हातमा लेजर स्पिड गन लिएका असई मानबहादुर ठगुन्नाले हेर्न नै बोलाए। भने, ‘तपाईँलाई विश्वास नभए फोटो निकालेर दिन्छु।‘

त्यसपछि विशालले झोक्किँदै भने, ‘८ लेनको बाटो छ। ५० को स्पिडमा पनि नचलाए हिँडेर नै गए भइगयो नि।‘

तर, ट्राफिक प्रहरीले बनाएको नियमका आगाडि कसको के लाग्थ्यो? उनी बाध्य भए। हजार रुपैयाँको जरिवाना दस्तुरको चिट लिएर बाटो लागे। भन्दै थिए, ‘नेपालमा सवारी चलाउने वातावरण भएन, हिँडेर गए भयो।‘

प्रति घण्टा ७२ किलोमिटरको स्पिडमा आएका बा ९८ प ३९३५का सवारी चालकको गुनासो पनि यस्तै सुनियो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ल्याएको लेजर गनमा उनी पनि सन्तुष्ट देखिएनन्।

‘१ हजार रुपैयाँ लगाएर सरकारले अपराध नै गर्‍यो। ७२को स्पिडमा पनि सवारी चलाउन नपाउने?,’ उनको प्रश्न थियो।

फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले गति नियन्त्रण गर्न स्पिड लेजर गन ल्याएको हो। गनले १ सय ५० मिटर दुरीसम्म काम गर्छ। ५० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतिमा सवारी आए सडकमा खटिएका ट्राफिकले यसैगरी जरिवाना दस्तुर काट्छन्।

सातदोबाटो ट्राफिक परिसरले राखेको लेजर गनमा मात्र दैनिक ८० देखि ९० जना कारबाहीमा पर्ने गरेको प्रहरी निरीक्षक राजेश सिलवाल बताउँछन्। ‘कारबाहीमा पर्नेको सङ्ख्या बढ्दै गएको छ। धेरैजसो ३० वर्ष उमेर समूहका चालक नै रहेका छन्,‘ उनले भने।

महानगरीय ट्राफिक प्रहरीसँग अहिले तीन वटा लेजर गन छन्। कोटेश्वर कलङ्की सडक, कोटेश्वर भक्तपुर र महाशाखा कार्यालयमा गनको प्रयोग गरिएको छ। ‘धेरै सवारी दुर्घटना तीव्र गतिका कारण भएको पाइयो। यसलाई नियन्त्रण गर्न नै लेजर गनको कारबाही सुरु गरिएको हो,‘ महाशाखाका एसएसपी वसन्त पन्तले भने।

यात्रुमा लेजर गनबारे पूर्व जानकारी नहुनु र प्रत्येक सडकमा गति निर्धारण गरिएका सङ्केत बोर्ड नहुँदा समस्या परेको सवारी चालकको गुनासो छ।

‘यो एकदमै राम्रो नियम हो। यसले दुर्घटना कम गराउँछ। कारबाहीको दस्तुर धेरै होइन। हामी सजग भए काबाहीमा नै परिँदैन। तर सङ्केत बोर्ड प्राप्त भएन,‘ चालक रवीन्द्र घिमिरेले भने। उनी पनि शुक्रवारमात्र ट्राफिक प्रहरीको लेजर गनको निशानामा परेका थिए।

स्पिड लेजर गनले १ सय ५० मिटर भन्दा बढी दुरीको सवारीलाई भने निगरानी गर्न सक्दैन। सडकमा गन बोकेर खटिएका ट्राफिक प्रहरीले कुनै सवारी तीव्र गतिमा आएको देखेमा गनबाट हेर्छन्। सवारीको नम्बर प्लेटलाई निशाना बनाएर गनमा रहेको ‘एम’ बटम थिचेपछि लेजर गनले काम गर्न थाल्छ। त्यसैका आधारमा ट्राफिक प्रहरीले कार्वाही गर्न थाल्छ। त्यसैले फराकिला सडक देख्दैमा ज्यादा स्पिडमा गाडी नचलाउनुहोला।



ट्रेन्डिङ पोस्ट

Ncell