PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रचण्डको त्यो बोली जसले चिढ्यायो तामाङ समूदायलाई, माफी मगाउने हठमा उत्रिए संगठनहरु



नेत्र तामाङ

प्रचण्डको त्यो बोली जसले चिढ्यायो तामाङ समूदायलाई, माफी मगाउने हठमा उत्रिए संगठनहरु

काठमाडौं : पछिल्लो पटक सामाजिक सञ्जालमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध तामाङ समुदाय नै खनिएको छ।

तामाङ समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको आरोप प्रचण्डमाथि लागेको छ।

प्रचण्डको अभिव्यक्तिले थप भ्रम उत्पन्न भएको उल्लेख गर्दै तामाङ संघसंस्थाले पनि विज्ञप्तिमार्फत् उनलाई सच्चिन आग्रह गरेका छन्।

तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङले विज्ञप्ति जारी गर्दै भनेको छ - 'विगतदेखि शोषण दमन र उत्पीडन भोग्दै आएका समुदायमा थप भ्रम र दुविधा उत्पन्न हुने गरी तामाङ केटी र मुम्बइको प्रसंग जोड्नुभएपछि समस्त तामाड समुदायको आत्मसम्मानमा गहिरो चोट पुगेको छ।'

घेदुङले यस्तो अभिव्यक्तिको मनसाय प्रष्ट पार्न र सच्चिनसमेत् भनेको छ। 'उक्त अभिव्यक्तिको सन्दर्भमा प्रष्ट पार्न र यसलाई सच्याउन नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दछौं,' घेदुङका महासचिव महितकुमार तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यता, तामाङ सोसाइटी अफ अमेरिकाले पनि प्रचण्डको अभिव्यक्तिको विरोध गरेको छ। सोसाइटीका अध्यक्ष लक्यान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'उत्पीडित समुदायको नेताका रुपमा स्थापित नेताले शोषण, दमन र उत्पीडन भोग्दै आएका तामाङ समुदायप्रति कहालीलाग्दो इतिहासलाई साक्षीका रुपमा ल्याउँदै तामाङ केटी र मुम्बइको प्रसंग जोड्नु समस्त तामाङ समुदायको आत्म सम्मानमा प्रहार गरेको हामी ठान्दछौ र घोर भर्त्सना गर्दछौ।' सोसाइटले यसै विज्ञप्तिमार्फत् नेकपा अध्यक्षलाई सच्चिनसमेत आग्रह गरेको छ।

यता तामाङ समाज अमेरिकाले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न भनेको छ।

समाजकी अध्यक्ष सानुमाया तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रचण्डको अभिव्यक्ति नश्लीय भएकोले गम्भीर आरोप लगाइएको छ।

‘प्रचण्डको उक्त नश्लीय अभिव्यक्तिको हामी घोर भत्सना गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रचण्डले तुरन्तै सार्वजनिक रुपमा माफी माग्न र अब उप्रान्त कुनै पनि संस्था वा व्यक्तिले नश्लीय प्रोफाइलिङ हुने भावार्थको अभिव्यक्ति नदिन हुन तामाङ समाज अमेरिका अनुरोध गर्दछौं।’

के बोलेका थिए प्रचण्डले तामाङ जातिविरुद्ध?

भरतपुर महानगरपालिका चौथो नगरसभामा प्रचण्डले राखेको अभिव्यक्ति अहिले विवादमा आएको हो। मंगलबार आयोजित नगरसभामा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राखेका थिए।

चितवन नेपाली कांग्रेसका सभापतिसमेत रहेका जितनारायण श्रेष्ठ र कांग्रेस नेता एवं प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठले शान्ति प्रक्रियाबारे राखेको प्रश्नको जवाफ दिने क्रममा उनले विप्लवलाई कटाक्ष समेत गरेका थिए। विप्लवले बन्द गरेको दिनसमेत भएकाले उक्त दिन प्रचण्डले विप्लवले तर्साउन खोजेको बताएका थिए।

कार्यक्रममा प्रचण्डले भने, 'अघि जितनाराणजी र मिलनजीले पनि अलिकति राजनीतिक परिस्थितिबारे पनि बोले हुन्थ्यो भनेर कुरा राख्नुभयो। संविधान बनिसक्यो। तीन तहको निर्वाचन भइसक्यो हामीले ऐतिहासिक रुपमा राजनीतिक परिस्थिति त बनेकै छ। तर कता कता फेरि यो यात्रा बिथोलिने हो कि भन्ने चिन्ता कहिलेकही दुईचार वटा बम पड्किँदा। आज पड्कियो। कतै होक्स भेटियो भन्ने कुरा सुनेँ। होक्स भनेको नक्कली। तर्साउन राखिएको। कुनै ठाउँमा सिलिन्डर भेटिए। केही ठाउँमा प्रेसर कुकर भेटियो रे। तर, यो पार लाग्ने कुरा हैन।'

आफूले विप्लवलाई नजिकैबाट चिनेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले थपे, 'साथीहरुले भनेको साँचो कुरा के हो भने विप्लवलाई असध्यै नजिकबाट चिन्नेमध्ये म हो। किनभने पछिल्लोचोटि शान्तिप्रक्रियामा आउँदा दुई वर्ष उहाँ मेरो कार्यालयको मुख्य सचिव भएकाले म चिन्छु पनि। विस्तारै नयाँ सोचतिर जान प्रेरित गरेको छ। ढिलो या छिटो उहाँहरु फर्किनुहुन्छ। जसरी साथीहरु फर्किरहनुभएको छ। विप्लवजी पनि आउनुहुन्छ। मप्रति उनको मनमा घृणा चाहिँ छैन।'

यही विषयमा उदाहरण जोड्न प्रचण्डले तामाङनीको सन्दर्भ निकाले। प्रचण्डले नगरसभामा यस सन्दर्भमा दिएको अभिव्यक्ति जस्ताको तस्तै:

कहिले काहीँ उहाँ(विप्लव)ले बडो मार्मिक कुरा पनि गर्नुहुन्छ के। उहाँले गरेको एउटा कुरा म तपाइँहरुसँग सुनाउन चाहन्छु। यो हामी सँगै हुँदाखेरीको। एउटै कमिटीमा हुँदा। शान्ति प्रकियामा आइसकेपछि। उहाँलाई गहिरो गरी के लागेको छ भने- शान्ति प्रक्रियामा त मैले लिएर आएँ। १२ बुँदे समझदारी भयो, शान्ति सम्झौता भयो। संविधानसभाको चुनाव भयो। त्यतिबेलासम्म हाम्रो पार्टी एकीकृत नै थियो। विप्लव पनि केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो। एउटा मिटिङमा बहस हुँदा उहाँले मेरो दिमाग पनि अलिअलि खल्बलिने गरी उहाँले एउटा तर्क भन्नुभयो। ‘कमरेड तपाइँले हामीलाई काठमाडौं त लिएर आउनुभयो। तर, मलाई चाहिँ अनुभूति के भयो भने नुवाकोटको एउटा भर्खरको चाहिँ तामाङनी केटीलाई काठमाडौं लगेर म लगेर बिहे गर्छु भनेर बम्वई पुर्‍यायो जस्तो फिल भयो भने उनले। कुरा बुझ्नुहोला। उहाँले अब बुझ्नुभयो होला। मैले बम्वई लगेको छैन। मैले काठमाडौं नै ल्याएको छु सबैलाई। मैले कसैलाई पनि बम्वई लगेको छैन। भन्ने कुरा बुझ्न उहाँलाई यति केहीकेही गर्नुपर्ने थियो गर्नुभयो। अब धेरै गर्नुहुन्न होला लाग्छ मलाई। यो भन्दा बढी मलाई नसोध्नुहोला मिलनजी। हेर्दै जानुहोला बम्बइ लगेको रहेनछ प्रचण्डले हामी सबैलाई काठमाडौं र नेपालमा नै विवाह गराउनका लागि पहल गरेको रहेछ भन्ने जुन दिन बुझ्नुहुन्छ। उहाँ तुरुन्तै फर्कनुहुन्छ। मलाई पाएको संकेतमा उहाँले बुझ्न थाल्नुभएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell