PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोपा अमेरिका: लुइस सुवारेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा



पहिलोपोस्ट

कोपा अमेरिका: लुइस सुवारेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा

सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे ब्राजिलामा भइरहेको कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाटै बाहिरिएको छ। लुइस सुवारेजले पेनाल्टी चुकाउँदा उरुग्वे पेरुसँग अन्तिम क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएको हो।

समूह सी'मा अपराजित रहँदै क्वाटरफाइनल पुगेको उरुग्वेले निर्धारित समयभित्र पेरुविरुद्ध गोल गर्न सकेन। ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जहाँ पेरुका पाँचै खेलाडीको प्रहार गोल हुँदा उरुग्वेको चार खेलाडीले मात्र गोल गरे। सुवारेजको प्रहार पेरुका गोलकिपरले रोके।

कोपामा पेनाल्टी सुटआउटमा निर्णय भएको यो तेस्रो खेल हो। यसअघि ब्राजिलले पहिलो क्वाटरफाइनलमा पाराग्वे र चिलीले तेस्रो क्वाटरफाइनलमा कोलम्बयालाई पनि पेनाल्टी सुटआउटमै हराएका थिए।

अर्जेन्टिनाले भने भेनेजुएलालाई निर्धारित समयमै पराजित गरेको थियो।

उरुग्वेको तर्फबाट पहिलो पेनाल्टी प्रहार गरेका सुवारेज सफल हुन सकेनन्। उनको प्रहार पेरुका गोलकिपर पेड्रो गालेसले बचाए। त्यसपछि पेरुका लागि जोस पाउलो गुएराले पहिलो पेनाल्टी गोल गर्दै अग्रता दिलाए। उरुग्वेका लागि एडिनसन कभानी, क्रिस्टियन स्तुअनी, रोड्रिगो बेन्टानकुर र लुका टोरेइराले पेनाल्टीमा गोल गरे। पेरुका लागि राहुल रुइडिएज, योसिमार युतुन, लुइ एडिनसुला र एडिसन फ्लोरेसले गोल गरेपछि ५-४ को जीत हात पारेको हो।

पेरुले अब फाइनल प्रवेशका लागि साविक विजेता समेत रहेको चिलिसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि पहिलो सेमिफाइनलमा घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell