इजिप्टमा भइरहेको अफ्रिकन कप अफ नेशन्स २०१९ मा डेब्युटान्ट मदागास्करले पूर्व विजेतालाई स्तब्ध बनाएको छ।
गएराती भएको खेलमा मदागास्करले ३ पटकको विजेता नाइजेरियालाई २-० ले पराजित गरेको हो।
लालाइमा नोमेन्जानाहारीले खेलको १३औं मिनेटमा मदागास्करको लागि पहिलो गोल गरेका थिए। कालरोलुस एन्डिएमाहित्सिनोरोले ५३औं मिनेटमा मदागास्करका लागि दोस्रो गोल गरे।
नाइजेरिया विरुद्ध अप्रत्यासित जितपछि मदागास्कर समूह बी मा अपराजित रहँदै प्रिक्वाटरफाइनलमा पुगेको छ। ३ खेलबाट ७ अंक जोडेको मदागास्कर समूह बी को विजेता बन्दा ३ खेलबाट ६ अंक जोड्दै नाइजेरिया समूह उपविजेता बन्यो।
यसै समूहको अर्को खेलमा गुनियले बुरुन्डीलाई २-० ले पराजित गर्दै पहिलो जित हात पार्यो। जितपछि ३ खेलबाट ४ अंकसहित गुनिय तेस्रो स्थानमा छ। गुनियले पनि तेस्रो हुने मध्ये उत्कृष्ट चार भित्र पर्दै प्रिक्वाटरफाइनलमा स्थान बनाउने सम्भावना छ।
यसैगरी यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको घरेलु टोली इजिप्टले समूह ए मा लगातार तेस्रो जित हात पारेको छ। युगान्डालाई २-० ले पराजित गर्दै समहको सबै खेल जितेको इजिप्ट समूह ए को विजेताको रुपमा प्रिक्वाटरफाइनल पुगेको छ। इजिप्टको लागि मोहमद सलाह र अहेमद अलमोहमदीले एक-एक गोल गरे।
इजिप्टसंग हारेपनि अर्को खेलमा डिआर कंगोले जिम्बावेलाई हराएपछि युगान्डा समूह ए मा ४ अंक सहित दोस्रो बनेको छ। युगान्डा समूह ए को उपविजेताको रुपमा प्रिक्वाटरफाइनल प्रवेश गरेको छ।