PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

विश्वकप क्रिकेट : रोहितको शतक मद्दतमा भारत सेमिफाइनलमा, बंगलादेश बाहिरियो



पहिलोपोस्ट

विश्वकप क्रिकेट : रोहितको शतक मद्दतमा भारत सेमिफाइनलमा, बंगलादेश बाहिरियो

रोहित शर्माको शतक प्रेरित भारत बंगलादेशलाई पराजित गर्दै आइसीसी विश्वकप २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलवार भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै छैटौं जित हात पारेको भारतले ८ खेलबाट १३ अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। अष्ट्रेलिया भन्दा १ अंकले पछि रहेको भारत दोस्रो स्थानमा यथावत छ।

भारतले अब लिगको अन्तिम खेल श्रीलंकासँग खेल्नेछ।

भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर खेल्दै २८६ रनमा अलआउट भएको हो।

भारतसंग पराजित भएपछि बंगलादेश भने सेमिफाइनल होडबाट बाहिरिएको छ। बंगलादेशको ८ खेलबाट ७ अंक मात्र छ र अंक तालिकामा सातौं स्थानमा छ। अब अन्तिम खेलमा पाकिस्तानलाई हराएपनि बंगलादेश शीर्ष चारमा पर्ने छैन।

अष्ट्रेलिया र भारतले सेमिफाइनल पुगिसक्दा बाँकी दुई स्थानका लागि अब ३ टिम होडमा छन्। तेस्रो स्थानमा रहेको न्यूजिल्याण्ड, चौथो स्थानमा रहेको आयोजक इंग्ल्याण्ड र पाँचौ स्थानमा रहेको पाकिस्तान सेमिफाइनल पुग्ने होडमा छन्। अब न्यूजिल्याण्ड र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ भने पाकिस्तानले बंगलादेशसँग खेल्नेछ।


रोहितको चौथो शतक

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको ओडिआई विश्वकपमा रोहित शर्माले चौथो शतक प्रहार गरेका छन्। उनको १०४ रनको मद्दतमा टस जितेर पहिले ब्याटिङ गरेको भारते ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको थियो।

रोहितले ९२ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे। यस विश्वकपमा चौथो शतक प्रहार गरेका रोहितले एकै विश्वकपमा चार शतक प्रहार गर्ने श्रीलंकन कुमार सांगाकाराको कीर्तिमान बराबरी गरेका छन्। सांगाकारले चार वर्षअघि चार शतक प्रहार गरेका थिए।

यस्तै केएल राहुलले ७७ रन बनाए। पहिलो विकेटका लागि रोहित र राहुलले १८० रनको साझेदारी गरेका थिए। ऋषभ पन्तले ४८ र महेन्द्र सिंह धोनीले ३५ रन जोडे।

बंगलादेशका लागि मुस्ताफिजुर रहेमानले १० ओभरमा १ मेडन राख्दै ५९ रन खर्चेर ५ विकेट लिए।

 

हार्दिक र बुमराहको उत्कृष्ट बलिङ

हार्दिक पाण्ड्या र जसप्रित बुमराहले उत्कृष्ट बलिङ गरेपछि बंगलादेश २ ओभर अगावै अलआउट भयो। बंगलादेशका लागि शकिब अल हशन र मोहम्मद सैफुद्दिनले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन्। शकिबले ६६ रन बनाए। सैफुद्दिनले अन्तिमस्म खेल्दै नटआउट ५१ रन जोडे यस्तै सबिर रहेमाजले ३६ र सौम्य सरकारले ३३ रन बनाए।

भारतका लागि जसप्रित बुमारहले ९ ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए। यस्तै हार्दिकले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए। भुवनेश्वर कुमार, मोहम्मद शामी र युजभेन्द्र चाहालले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell