PahiloPost

Jul 18, 2019 | २ साउन २०७६

भक्तपुर र काठमाडौंका पोखरीसँगै पाटनको मल्लकालीन पोखरी ब्युताउँदै भक्तपुरबासी

भक्तपुर र काठमाडौंका पोखरीसँगै पाटनको मल्लकालीन पोखरी ब्युताउँदै भक्तपुरबासी

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं: काठमाडौंको रानीपोखरीको पुनर्निर्माणकालागि हाल भक्तपुरबाट करिब ६० जना आएर काम गरिरहेका छन्। काठमाडौंकै रानीपोखरी भन्दा पुरानो भाजु (भाज्या) पुखु निर्माणमा पनि करिब ४० जना खटिएका छन्।

पुनर्निमाणमा खटिनेमा अधिकांश महिला छन्।

पुनर्निर्माणको काम ठेक्का बिना उपभोक्ता समितिमार्फत् भइरहेको छ। यी दुवै पोखरी निर्माणको नेतृत्व भक्तपुरका कृष्णप्रसाद दुमरुले गरिरहेका छन्।

दुमरु डेढ महिनादेखि भक्तपुरको अर्को जम्बो टोली लिएर ललितपुरको लगनखेल पुगिरहेका छन्।

लगनखेलबाट ललितपुर जिल्ला अदालत जाने बाटैमा रहेको 'न्हू पुखु' पुनर्निर्माणका लागि भक्तपुरकै दक्ष जनशक्ति अहिले काम गरिरहेका छन्। दुमरु हाल तीनै पोखरी (भाजु पुखु, रानी पोखरी र न्हू पुखुमा) को निर्माण कार्यका लागि दैनिक रुपमा तीनै जिल्ला पुग्ने गरेका छन्।

बिहान भाजु पुखुको निर्माणका बारेमा बुझेर उनी आवश्यक्ताअनुसार काठमाडौं र ललितपुर पुग्ने गरेका छन्।

काठमाडौं र भक्तपुरमा झैं पाटनमा पनि पुनर्निर्माणमा खटिनेमा महिला नै धेरै छन्। रानीपोखरी र भाजु पुखुमा काम गरिरहेका महिलाहरु समेत अहिले न्हू पुखुमा काम गरिरहेका छन्।

दुमरु तीनै जिल्लामा काम गर्न पाउँदा सबैजना खुशी रहेको बताउँछन्। ‘भक्तपुरको भाजु पुखुमा गरेको काम देखेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानी पोखरीको पोखरी र पर्खाल लगाउने काम हामीलाई दियो,’ दुमरुले भने, ‘अहिले ललितपुरमा पनि हामीलाई बोलाउनु भयो। यसले त हामी भक्तपुरबासीलाई गर्व महसुस भएको छ।'

सम्बन्धित समाचार: रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी

**

न्हू पुखु भन्ने बितिक्कै धेरैलाई काठमाडौंको रानीपोखरी याद आउँछ। नेवार समुदायमा रानी पोखरीलाई 'न्हू पुखु' अर्थात 'नयाँ पोखरी' भन्ने गरिन्छ। काठमाडौंको मध्य भागमा रहेको 'न्हू पुखु' रानी पोखरीमा रुपान्तरण भयो। त्यो शहरकै शोभा बन्यो। तर ललितपुरको मध्य भागमा रहेको न्हू पुखु भने बर्षौसम्म ओझेलमा नै रह्यो। पाटनबासी नै सो पोखरीबारे धेरै जानकार छैनन्।

पाटन अस्पतालबाट महालक्ष्मीस्थान र लगनखेल चोकबाट जिल्ला अदालत जाने दुई बाटोको बीचमा रहेको छ 'न्हू पुखु'। जिल्ला अदालतको अगाडि रहेको ललितपुर महानगरपालिका वडा नम्बर ५ कार्यालयसँगै रहेको फलामे गेटबाट न्हू पुखु पुगिन्छ।

मल्लकालिन न्हू पुखुलाई स्थानीयहरु ललितपुर नगरको सबैभन्दा पछिल्लो पोखरी रहेको हुन सक्ने बताउँछन्। तर न त यस पोखरीबारे थप अध्ययन हुन सकेको छ न त यसको इतिहासबारे धेरै जानकार नै छन्।

पोखरी पुनर्निर्माण सुरु भएकोले पोखरीबारे थप अध्ययन हुने र यसको इतिहासबारे थाहा पाउन सकिने सम्भावना बढेकोमा स्थानीयमा केही आशा पलाएको छ।

पोखरी पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले ४४ लाख ९१ हजार ७ सय ५९ रुपैयाँ बजेट छुट्याएको छ। पुनर्निमाणका लागि न्हू पुखु संरक्षण तथा पुनर्निर्माण समिति गठन गरिएको छ।

'धेरै समय यो पोखरी गुमनाम नै भयो। फोहोर थुप्रन थाल्यो। त्यसमाथि उपत्यकामा खुल्ला ठाउँको अभाव भइरहेको छ,’ समितिका अध्यक्ष सतिश नारायण डंगोल न्हू पुखु पुनर्निर्माणको आवश्यकताका बारेमा भन्छन्, ‘त्यसैले मल्लकालीन सम्पदा संरक्षण गर्दै पौराणिक संरचनामै केन्द्रित भएर पोखरी निर्माण गर्न लागेका हौं। न्हू पुखुलाई हामी एउटा नमूना सार्वजनिक स्थानका रुपमा निर्माण गर्नेछौं।‘

**

पोखरीको पुनर्निर्माण कार्य सुरु भएको साढे एक महिना बितिसक्दा पोखरीको चारै भागमा पुरानो पर्खाल उत्खनन गर्ने काम भइरहेको छ। दक्षिण क्षेत्रमा त पर्खाल निर्माण कार्य सुरु भइसकेको छ।

पोखरी निर्माणको नेतृत्व गरिरहेका दुमरु भन्छन्, ‘मुख्य योजनाभन्दा फरक ढंगबाट अहिले काम फरक भएको छ। पर्खाल नै छैन भनेको स्थानमा उत्खनन गर्दा पर्खाल भेटिएको छ।' भेटिएको पर्खाल सबै माअप्पा (पातलो इट्टा) ले निर्माण भएको देखिन्छ। दुमरु उत्खननका क्रममा भेटिएका इट्टा, ढुंगाको अध्ययन गरे पोखरीको ऐतिहासिक अवस्था बारेमा थाहा पाउन सक्ने बताउँछन्।

अझै पोखरीको मध्य भागमा काठ रहेको छ जुन पानीमाथि सजिलै देख्न सकिन्छ। दुमरु त्यो करिब आठ बाइ आठको काठ हुन सक्ने बताउँछन्। यसबाट पोखरीको बीचमा पहिला मन्दिर वा केही संरचना भएको पुष्टि हुन सक्ने उनको दाबी छ।

भक्तपुरमा निर्माण भइरहेको भाजु पुखुमा पनि पोखरीको मध्य भागमा काठ रहेको थियो। अध्ययन गर्दै जाँदा त्यो काठ भूकम्प प्रतिरोधात्मक तरिकाले राखिएको र त्यहाँ मन्दिर रहेको तथ्य फेला परेको थियो। दुमरु पोखरीको इतिहास बारेमा पनि अध्ययन हुनुपर्नेमा जोड दिन्छन्।

यता, उपभोक्ता समिति पनि पोखरीका बारेमा अध्ययन गराउने विषयमा सकारात्मक रहेको छ। समितिका अध्यक्ष जोशीका अनुसार पोखरीका बारेमा अध्ययन गर्न पुरातत्व विभागमा गएर आग्रह गर्ने तयारी छ।

न्हू पुखु पुनर्निर्माणका लागि पहिला पोखरीमा रहेको पानी सुकाउने योजना थियो। तर पानी सुकाउँदा फेरि पानी जमाउन गाह्रो हुन सक्ने कुरालाई मध्यनजर गर्दै पानी नसुकाइ काम भइरहेको छ।

दुमरुका अनुसार पानीको बहावलाई जस्तापाताले रोकेर पोखरी निर्माणको काम भइरहेको छ। अहिले पुनर्निर्माणमा खटिएका महिलाहरु पोखरीको चारैतिर झारपात उखेल्ने, जमिन सुम्याउने, कालो माटो र बज्र ( चुना, सुर्की र बालुवाको मिश्रण), इट्टा सफा गर्ने लगायतका काम गरिरहेका छन्। न्हू पुखु निर्माणमा आधुनिक सामाग्री प्रयोग गरिने छैन।

उपभोक्ता समिति पोखरी निर्माणपछि त्यसलाई मानिसहरु आराम र मनोरञ्जन गर्न मिल्ने गरी बनाउने पक्षमा छ। पोखरीको वरिपरि पार्क बनाएर सार्वजनिक स्थलका रुपमा विकास गर्ने योजना रहेको छ। त्यसका लागि महानगरले थप बजेट छुट्याउने समितिको विश्वास छ।

पोखरीलाई मल्लकालीन ऐतिहासिक रुपमै निर्माण गरेर आधुनिक र समय साक्षेप बनाउने पुनर्निर्माण समितिको योजना छ। 'पोखरी निर्माण गर्नु मात्रै हाम्रो उद्देश्य होइन,’ समितिका अध्यक्ष जोशीले भने, ‘पोखरी निर्माण भएपछि यहाँका स्थानीयहरुलाई इतिहासप्रति संवेदनशिल बनाउने र पोखरीलाई सार्वजनिक स्थलका रुपमा विकास गर्ने योजना छ।'

दुमरु पनि भक्तपुरको सिप र दक्षता उपत्यकाका तीनै जिल्लामा देखाउन पाउँदा यसले तीनै जिल्लाका मानिसहरुबीच आत्मियता बढाउनेमा विश्वस्त छन्। भक्तपुरबाट काठमाडौं र ललितपुर आएर काम गरिरहेका दिदी बहिनीहरुले भक्तपुरमाभन्दा बढी मिहिनेत गरिरहेको उनको बुझाइ छ।

लामो समय ओझेलमा परेका पोखरीहरु ब्युताउँन तीनै जिल्लामा देखिएको अग्रसरतालाई सबैले साथ दिनुपर्ने दुमरुको राय छ। ‘पोखरीको आवश्यकता बारे बुझ्नुपर्छ। यसको निर्माण सौन्दर्यकरण गर्न मात्रै भएको होइन। बस्तीको आवश्यक्तालाई ख्याल गर्दै पोखरी बनाइएको हो,’ उनले भने, ‘खुल्ला क्षेत्रको अभाव र जमिनमुनि पानी जाने अवस्था नरहेको बेला पोखरीहरु ब्युताउँन सके सबैलाई राम्रै हो।'

सम्बन्धित समाचार: तिर्खाएका ढुंगेधारा ब्युताउँने प्रयास, आउला त पानी? 



ट्रेन्डिङ पोस्ट