PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१३ दिन नि टिकेन सरकारको अडान : विषादी परीक्षण विनै भारतबाट तरकारी आयात हुने



सविन मिश्र

१३ दिन नि टिकेन सरकारको अडान : विषादी परीक्षण विनै भारतबाट तरकारी आयात हुने

काठमाडौं : भारतबाट नेपाल आयात हुने तरकारी र फलफूललाई परीक्षणविना नेपाल छिर्न रोक लगाउने निर्णयबाट सरकार पछि हटेको छ।

अब, सरकारले विषादी परीक्षणविना नै भारत तथा अन्य मुलुकबाट नेपालमा तरकारी र फलफूल आयात गर्न बाटो खुलेको छ।

विषादी परीक्षणविना फलफूल र तरकारी आयात गर्न नदिने यसअघिको निर्णय १३ दिनमै उल्ट्याउँदै मन्त्रिपरिषदको बैठकले विना परीक्षण त्यस्ता वस्तुको आयातको बाटो क्लियर गरिदिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तयारी विना नै निर्णय गर्दा कार्यान्वयनमा समस्या भएकाले तत्काललाई साविक अनुसार नै फलफूल तथा तरकारी आयातको बाटो खोलिएको जानकारी दिए।

'हामीसँग तरकारी जाँच गर्ने एउटा मात्रै मेसिन भएको र त्यो पनि काठमाडौंमा कारण भन्सारमा विषादी परीक्षण गर्न सकिएन,' उनले भने, 'अब यथाशीघ्र सबै भन्सारमा विषादी जाँच गर्ने उपकरण जडान गरी आयातमा कडाई गर्ने तर तत्काललाई भने पहिले जस्तै आयात हुन दिने निर्णय भएको छ।'

बिहीवारको मन्त्रिपरिषद बैठकमा मन्त्री यादवले आफ्नै निर्णय उल्ट्याउने प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री यादवले आफूले यसअघि गरेको निर्णय कार्यान्वयन गर्न केही समस्या देखिएको पनि स्वीकार गरे।

'पहिले तयारी नपुगी निर्णय गर्दा कार्यान्वयनमा समस्या भयो, अब सबै भन्सारमा परीक्षणको उपरकण जडान गर्न अर्थ मन्त्रालयले बजेट दिने प्रतिबद्धता पनि जनाइसकेको छ,' मन्त्री यादवले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell