PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

विश्वकप क्रिकेटमा लिग चरणका खेल सम्पन्नः भारत शीर्ष स्थानमा, यस्तो बन्यो सेमिफाइनल समीकरण



पहिलोपोस्ट

विश्वकप क्रिकेटमा लिग चरणका खेल सम्पन्नः भारत शीर्ष स्थानमा, यस्तो बन्यो सेमिफाइनल समीकरण
Photo: cricket.com.au

विश्वकप क्रिकेटमा लिग चरणका खेल गएरातिबाट सकिएका छन्। लिग चरणका खेल सकिँदा भारत शीर्ष स्थानमा उक्लिएको छ। लामो समयदेखि अङ्क तालिकाको पहिलो स्थानमा रहेको अष्ट्रेलिया अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित भएसँगै दोस्रो स्थानमा झरेको छ।

तालिकामा भारतको १५ र अष्ट्रेलियाको १४ अंक छ।

शनिबार सम्पन्न पहिलो खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गर्‍यो। लिड्समा सम्पन्न खेलमा श्रीलंकाले दिएको २६५ रनको लक्ष्य भारतले ४३ ओभर ३ बलमै पूरा गर्‍यो। भारतका लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुल दुबैले शतकीय इनिङ्स खेले। राहुलले १११ रन बनाउँदा शर्माले १०३ रन जोडे। कप्तान विराट कोहली ३४ रनमा नटआउट रहे।

पहिले ब्याटिङ गरेको श्रीलंकाले एन्जेलो म्याथ्युको ११३ रनको मद्दतले २६४ रन बनाएको थियो। श्रीलंकाको इनिङ्समा लाहिरु थिरिमानेको ५३ रनबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन।

भारतले लिगका ९ मध्ये ७ खेलमा जित हात पारेको छ। एक खेल बराबरी हुँदा एकमा पराजय व्यहोरेको छ।

यस्तै, लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पराजित गरेको छ। टुर्नामेन्टको तेस्रो जित हात पार्ने क्रममा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १० रनले पराजित गर्‍यो।

३२६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३१५ रनमा समेटिएको थियो।

अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले शतकीय इनिङ्स खेले पनि पर्याप्त भएन। वार्नरले १२२ रन जोडे। यस्तै, एलेक्स केरीले ६९ बलमा ८५ रन बनाए।

म्यान्चेष्टरमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कप्तान फाफ डुप्लेसिसको शतकको मद्दतले ३२५ रन बनाएको थियो। अफ्रिकाको इनिङ्समा भान डेर डुसेनले ९५ रनको योगदान दिए।

 

यस्तो बन्यो सेमिफाइनल समीकरण

लिग चरणका सबै खेल सकिँदा भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन्।

अंकतालिकामा पनि क्रमशः भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड र न्युजिल्याण्ड नै रहेका छन्।

तालिका अनुसार अब फाइनल प्रवेशका लागि पहिलो स्थानमा रहेको भारतले चौथो स्थानको न्युजिल्याण्डसँग खेल्नेछ। भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल जुलाई ९ (मंगलबार) हुनेछ।

खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ।

यस्तै, दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन्। जुलाई ११ (बिहीबार) यी दुई टोलीबीच खेल हुनेछ।

फाइनल खेल जुलाई १४ मा लण्डनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell