PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'विनास काले विपरित बुद्धि!': प्रधानमन्त्रीका 'अरिंगाल'हरु नै एकापसमा भिड्दै



विधुर ढकाल

'विनास काले विपरित बुद्धि!': प्रधानमन्त्रीका 'अरिंगाल'हरु नै एकापसमा भिड्दै

काठमाडौं: गत फागुन २५ गते प्रधानमन्त्री केपी शर्मा ओली रौतहट पुगेर बोक्सी हुँदैन भन्दै उद्घोष गरे। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को २ नं प्रदेश स्तरीय सभामा बोल्दै उनले भनेका थिए, 'बोक्सी हुँदैन। हुन्थ्यो भने चुनावमा टोकेर विरोधीलाई सकाउँथे। संसारमा बोक्सी भए सबैभन्दा पहिले मलाई आएर खाओस्।'

तराइमा व्याप्त बोक्सी प्रथालाई सामाजिक कुरितीको रुपमा चित्रण गरेका उनै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आज बिहानै एउटा ट्विट गरे, ‘छौँडा’हरु भन्दै।

उनले सामाजिक सञ्जाल ट्विटरमा कवितांश बनाउँदै लेखेका छन्,

'भनिन्छ, छौंडाहरू

आफैं चलमलाउँदैनन्

कसैले छोड्छन्,

दु:ख दिन्छन्!

यी छौंडाहरू

आफैं चलमलाएका हुन् की

कसैले छोडेका?'

 

सामाजिक सञ्जालमा उनले भनेको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जाल तातेको छ। पछिल्लो समय सरकार र प्रधानमन्त्री विरुद्ध सत्तारुढ दलकै नेताहरुले आवाज उठाइरहेका बेला प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नै विरोधीहरुलाई 'छौँडा'को रुपमा चित्रण गरेका छन्।

उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा रिमालको राजिनामा समेत माग्न थालिएको छ। धर्म संस्कृति भित्रका कुरिती तथा अन्धविस्वासहरुका घोर विरोधीका रुपमा चिनिँदै आएका कम्युनिस्ट नेता तथा कम्युनिस्ट प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नै 'छौँडा' शब्दको प्रयोग गरेको प्रति टिप्पणी भइरहेको छ।

रिमालको ट्विटमा जवाफ दिँदै ने क पाकै नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन्। तत्कालिन एमालेको प्रकाशन विभागमा रहेर काम गरेका तथा हाल ने क पा निकटको जनता प्रकाशन प्रालिका अध्यक्ष डा विजय पौडेलले रिमाललाई सामाजिक सञ्जालनमा यस्तो नलेख्न तथा वैचारिक रुपमा लेख्न सुझाव दिँदै प्रश्न गरेका छन्, 'विष्णु सर, यो अमूर्त कविता कसका लागि हो? के यो तपाईँकै ह्याण्डल हो? हो भने यस्तो नलेख्नुस्।'

रिमालको ट्विट अमूर्त रहेको र छौँडाहरु को हुन् भन्ने स्पष्ट पार्नसमेत सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले दबाब दिएका छन्।

पछिल्लोपटक सरकार एक पछि अर्को निर्णयले विवादमा बल्झिँदै गएको छ। सत्ता पक्षकै नेताहरुले सरकारको आलोचना गर्दै आएका छन्। सरकार एक पछि अर्को गर्दै आफ्नो निर्णयबाट पछाडि हट्दै गएको छ।

गुठी सम्बन्धि विधेयकबाट सरकारमाथि आफ्नै कदमले निरन्तर ‘ब्याक फायर’ भइरहेको छ।

सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी सम्बन्धी विधेयकको विरोधमा उपत्यकाबासी आन्दोलित भए। सत्तारुढ दलका सांसद तथा नेताहरुले नै त्यसको विरोध गरे। संसद तथा सार्वजनिक कार्यक्रममै सत्तारुढ दलकै नेताहरुले सरकारको विरोध गर्दै विधेयक फिर्ता लिन माग गरे। अन्तत: सरकार विधेयकबाट पछि हट्यो।

आइफामा पनि ‘ब्याक फायर’

सरकारको भारतीय सिनेमा अवार्ड आइफा गर्ने निर्णय एक साता पनि टिक्न सकेन। यद्यपि यो निर्णयबाट पछि हटेको निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी गराइएको छैन। तर पनि सरकार पछि सरेको अवस्था छ।

मन्त्रिपरिषदको गत असार ५ र ८ गते निर्णय सुनाउन असार १२ गते भएको पत्रकार सम्मेलनबाट सार्वजनिक भएको आइफा अवार्ड आयोजना गर्ने सम्बन्धि निर्णयको विरोधमा विपक्षीभन्दा बढी सत्तारुढ दलकै नेताहरु उभिए। सत्तारुढ दल ने क पाका वरिष्ठ नेता माधव नेपाल, स्थायी कमिटी सदस्य भीम रावल लगायतका नेताहरुले सार्वजनिक रुपमै सरकारको आलोचना गरे।

सम्बन्धित समाचार: नचाहँदा नचाहँदै पनि आइफाबाट किन पछि हट्यो सरकार?

ने क पाका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई सरकारको निर्णयबाट पछि हटन सुझाव दिए। यसैको परिणाम स्वरुप सहआयोजकको जिम्मेवारी पाएको भनिएको नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशीले आयोजना स्थगित भएको बताइसके।

भारतीय तरकारीमा आलोचित सरकार

पछिल्लोपटक सरकार भारतीय तरकारीको गुणस्तर सम्बन्धी मुद्दामा पनि पछि हट्न बाध्य भयो। असार २ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भारतबाट आयात हुने तरकारी फलफूल लगायतका वस्तुको गुणस्तर परीक्षणपछि मात्र प्रवेश दिने जनाएको थियो। कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय २० दिन पनि टिक्न सकेन्।

उद्योग तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले यस सम्बन्धी निर्णयलाई उल्ट्याउँदै पूर्ववत रुपमा भित्र्याउन दिन निर्देशन जारी गरेको छ। कृषि मन्त्रालयको प्रस्तावमाथि भएको निर्णय उल्ट्याउने क्रममा पूर्वाधार नभएको भन्दै स्पष्टिकरण दिइएको छ।

तर कृषि मन्त्री चक्रपाणि खनालले भने यसको खण्डन गरेका छन्। आइतवार राष्ट्रियसभामा बोल्दै मन्त्री खनालले काठमाडौंको कालिमाटीस्थित केन्द्रमा २९ विषादी समूहको परीक्षण हुने र अन्य ६ ठाउँमा पनि यसको परीक्षण हुने दाबी प्रस्तुत गरे।

उनले कर्णाली प्रदेशबाहेकका स्थानमा विषादीको परीक्षण हुने दाबी प्रस्तुत गरेका थिए। मन्त्री खनालकाअनुसार प्रदेश एकको बिर्तामोड, दुईको सर्लाही, तीनको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश पाँचको बुटवल र सुदूरपश्चिम प्रदेशमा रहेका दुईवटा केन्द्रबाट विषादी परीक्षण हुन्छ।

कृषि मन्त्रालयको प्रस्ताव पारित भएसँगै खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्तर्गतका १४ वटा क्यारेन्टाइन र तीनसय १२ जना कर्मचारी थप भइसकेको समेत उनले बताए। ‘अब फेरि बाणिज्यले पूर्वाधार नभएकाले अहिले सकिन्नँ कि भनेर प्रस्ताव लग्यो,’ उनले भने, ‘हामीसँग कर्णाली बाहेक अरु प्रदेशमा विषादी परीक्षण केन्द्र छ।'

प्रधानमन्त्रीले पनि भनेका थिए, छिमेकीले 'छौँडा' खेलाएर दु:ख दियो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आज 'छौँडा' शब्दको प्रयोग गरेपनि यो शब्द पटकपटक नेपाली राजनीतिमा पनि उठ्दै आएको छ। प्रधानमन्त्री ओलीले समेत यसको प्रयोग गर्थे।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले घुमाउरो पारामा भारतले 'छौँडा' चलाएर दु:ख दिएको बताएका थिए।

त्यतिबेला प्रधामन्त्रीले यो शब्द बोल्दा अहिलेको जस्तो आलोचना भएन। उनको वाहावाही नै भयो। भारतले नाकाबन्दी लगाएको अवस्थामा भारत विरोधी राष्ट्रवादी छवि बनाएका ओलीले भारतलाई 'छौँडा' भन्दा उनको राष्ट्रवादी छविमा अर्को इँटा थपिएको थियो।

सिंहदरबारबाट ओलीको बहिर्गमनका लागि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सक्रिय हुँदै थिए। उनको यो भनाई 'प्रचण्ड' प्रति लक्षित थियो।

अहिले प्रचण्ड ने क पाका अर्का अध्यक्ष हुन्। प्रधानमन्त्रीका सल्लाहकारले 'छौँडा'हरु आफैं चलमलाएका हुन् कि कसैले छाडेका हुन् भन्दै प्रश्न ठड्याउँदा यसको तीर कसप्रति हो रिमाललाई नै थाहा होला। हामीले उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन। तर, केही अनलाइनहरुमा उनलाई उदृत गर्दै लेखिएका समाचारमा उनले यो कसैप्रति लक्षित नभएको बताएका छन्। भावनात्मक भनेर रिमालले स्पष्टिकरण दिएको उल्लेख समाचारहरुमा उल्लेख गरिएको छ।

तर, यस्तो भावना कहाँबाट आयो?

प्रश्न यो हो कि, यस्तो भावना रिमालको मनमा कहाँबाट आयो? सरकार पटकपटक आफ्नै निर्णयबाट पछाडि हटिरहेको छ। सरकारको ‘ब्याक गियर’ लागिरहेका बेला हिजो प्रधानमन्त्रीले 'छिमेकीले छाडेका छौँडाहरुले दु:ख दिए' भनेको अभिव्यक्ति र अहिलेको अभिव्यक्तिमा केही समानता भने देखिन्छ। खाली अभिव्यक्ति दिने पात्र मात्र फरक हुन्।

२०७३ सालमा प्रधामन्त्री ओलीले यस्तो अभिव्यक्ति दिँदा सरकार चेपुवामा थियो। अहिले पनि सरकार चुपुवामा पर्दै गएको छ। हिजो विपक्षीले चेपुवामा पार्दै थिए। आज आफ्नैले पार्दै छन्।

सरकारले तरकारी परीक्षणबाट ब्याक हुने निर्णय गरेसँगै ने क पाका स्थायी कमिटी सदस्य रावलले निर्णयको विरोध गरे।

'विश्व व्यापार संगठन अन्तरगत अन्तर्राष्ट्रिय सम्झौता अनुरूप सबै देशहरूले उपभोग्य वस्तु, फलफूल, तरकारी र बिरूवाको आयात गर्दा जनताको स्वास्थ्य सुरक्षा र विषादीबाट जोगाउन सही मापदण्ड अनुरूप भए नभएको परीक्षण गर्न पाउँछन्, गर्नुपर्छ। कसैको दबाबमा आएर सरकार कर्तव्य विमुख हुन मिल्दैन,' उनले ट्विटरमा लेखेका छन्।

त्यस्तै गुठी विधेयक होस वा अन्य सरकारका निर्णयहरुको चर्को आलोचना गर्ने नेतामा पर्छन् स्थायी कमिटी सदस्य जनार्दन शर्मा 'प्रभाकर'। सामाजिक सञ्जालमा सरकारका काम कारबाहीको आलोचना भइरहेका बेला उनले पनि सांकेतिक अभिव्यक्ति सार्वजनिक गरे। 'विनास काले बिपरित बुद्धि...उफ!' उनले ट्विटरमा लेखेका छन्।

उनको यो ट्विट कसप्रति लक्षित हो भन्ने उल्लेख नगरे पनि सहजै अनुमान लगाउन सकिन्छ कि उनको सरकारप्रतिको असन्तुष्टि।

सामाजिक सञ्जालमा रिमालको अभिव्यक्तिको आलोचना विपक्षीबाट त छँदै छ त्योभन्दा सत्तापक्षकै नेता कार्यकर्ताहरुले गरिरहेका छन्।

विद्यार्थी नेता अशेष घिमिरेले पार्टी 'यस्तै'(विष्णु रिमाल)हरुले ध्वस्त पार्न थालेको टिप्पणी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell