PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

विश्वकप क्रिकेट : भारत र न्यूजिल्याण्ड सेमिफाइनलमा पहिलो पटक भिड्दै



पहिलोपोस्ट

विश्वकप क्रिकेट : भारत र न्यूजिल्याण्ड सेमिफाइनलमा पहिलो पटक भिड्दै

आइसीसी क्रिकेट विश्वकप २०१९ को सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ। १० टोलीबीच राउण्ड रोविन लिगपछि अंक तालिकामा शीर्ष चारमा रहेका टोली सेमिफाइनल पुगेका थिए। जसमध्ये शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजिल्याण्डबीच आज पहिलो सेमिफाइनल हुनेछ।

विजेता टिम फाइनल पुग्नेछ। यी दुई टोलीबीच ओडिआई विश्वकपको सेमिफाइनलमा पहिलो पटक भेट हुँदैछ।

लिगमा एक मात्र खेल हारेको भारतले ७ जित र १ अनिर्णित नतिजापछि १५ अंक जोडेको थियो। उता ५ जित र एक अनिर्णित नतिजाबाट न्यूजिल्याण्डले ११ अंक जोडेको थियो। लिग चरणमा पाकिस्तान समान ११ अंक भए पनि न्यूजिल्याण्ड रनरेटमा अगाडि रहँदै सेमिफाइनल पुगेको हो।

लिग चरणमा भारत र न्यूजिल्याण्डको खेल भने वर्षाले प्रभावित हुँदा यी दुईले अंक बाँडेका थिए। विश्वकपअघिको अभ्यास खेलमा भने न्यूजिल्याण्डले भारतलाई पराजित गरेको थियो।

भारत र न्यूजिल्याण्डबीचको खेलको बिजेताले अष्ट्रेलिया/इंग्ल्याण्डको बिजेतासँग उपाधिका लागि खेल्नेछ।

 

भारत

विश्व वरीयता २

विश्वकप अघि दोस्रो वरीयतामा रहेर इङ्ल्यान्ड पुगेका भारत केही दिनका लागि शीर्ष वरीयतामा उक्लेको थियो। तर इङ्ल्यान्डसँग हारपछि भारत दोस्रो स्थानै झर्‍यो।

यस पटक कुनै पनि टिम लिगमा अपराजित रहेन। तर, भारत सबैभन्दा कम खेल हार्ने टिम बन्यो। लिगका ९ मध्ये ७ खेल जितेको भारतले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो भने घरेलु टोली इङ्ल्यान्डसँग मात्र हार बेहोरेको थियो।

प्रतियोगिता सुरु भएको एक सातापछि पहिलो खेल खेलेको भारतले सुरुमै ठूलो प्रतिद्वन्द्वीहरुसँग खेले पनि उत्कृष्ट नतिजा निकाल्यो। तर, प्रतियोगिताको बीचकै ब्याट्म्यान शिखर धवन, बलर भुवनेश्वर कुमार र विजय शंकरजस्ता खेलाडीको चोटका कारण भारतलाई धक्का लागेको थियो। धवन र शंकर विश्वकपबाटै आउट भए पनि भुवनेश्वरले पुनरागमन गरिसकेका छन्।

भारतका रोहित शर्माले ५ शतक प्रहार गर्दै एउटै विश्वकपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने कीर्तिमान बनाइसकेका छन्। उनले विश्वकपमा सर्वाधिक ६ शतक प्रहार गर्नै भारतकै सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरिसकेका छन्। अब एउटै विश्वकपमा धेरै रन बनाउने सचिनको ६७३ रनको कीर्तिमान भन्दा रोहितमात्र २६ रनले टाढा छन्। रोहितले यस विश्वकपमा ५ शतकसहित ६४७ रन बनाइसकेका छन्।

सन् १९८३ र २०११ को विश्वकप विजेता भारत तेस्रो पटक विश्वकप जित्न योजनामा छ। भारत र न्यूजिल्याण्डबीच लिग चरणमा वर्षाका कारण खेल हुन सकेको थिएन। त्यसैले पहिलो सेमिफाइनल खेल्दा यी दुईका लागि यस विश्वकपको पहिलो खेल हुनेछ।

भारतले १९८७, १९९६ र २०१५ मा सेमिफाइनल खेलेको थियो भने २००३ मा फाइनलसम्म पुगेको थियो।

 

न्यूजिल्याण्ड

विश्व वरीयता ४

चार वर्षअघि छिमेकी अष्ट्रेलियासँग संयुक्त रुपमा विश्वकप आयोजना गर्दा न्यूजिल्याण्डले पहिलो पटक फाइनल खेलेको थियो। तर, अष्ट्रेलियासँग नै फाइनलमा पराजित भएपछि किवी टोलीले उपविजेतामै चित्त बुझायो।

यस पटक सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलसम्म अपराजित रहेको न्यूजिल्याण्डले त्यसपछि लगातार ३ खेल हार्दा पनि सेमिफाइनलमा स्थान बनायो। पाकिस्तान समान ११ अंक जोडेको न्यूजिल्याण्डले रनरेटमा पाकिस्तानलाई पछि पारेको हो।

दुवैले लिगमा ५ खेल जित्दा ३ खेल हारेका थिए भने एक खेल वर्षाले प्रभावित हुँदा नम्बर बाँडेका थिए।

सातौँ पटक सेमिफाइनल पुगेको न्यूजिल्याण्डले लगातार चौथो पटक सेमिफाइनल खेल्न लागेको हो। किवी टोलीको सेमिफाइनल रेकर्ड भने खराब छ। अहिलेसम्मको ६ सेमिफाइनल खेल्दा १ पटक मात्र उसले यो चरण पार गरेको छ।

त्यसैले यस पटक फाइनल पुग्न न्यूजिल्याण्डले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ।

ब्याटिङमा कप्तान केन विनियम्सन र रोज टेलर अनि बलिङमा ट्रेन्ट बोल्ट र लकी फर्गुसनले यस पटक न्यूजिल्याण्डका लागि राम्रो खेलिरहेका छन्। यस्तै अलराउण्डर कोलिन डे ग्राण्डहोलमले पनि ब्याटिङमा राम्रो गरिरहेका छन्। यी खेलाडीहरुले सेमिफाइनलमा पनि भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने आश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell