PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मुद्दा हाल्ने साथीले नै मलाई बधाई दिनु भइसक्यो, अब क्रिकेट विवाद समाधान हुन्छ : रमेश सिलवाल



पहिलोपोस्ट

मुद्दा हाल्ने साथीले नै मलाई बधाई दिनु भइसक्यो, अब क्रिकेट विवाद समाधान हुन्छ : रमेश सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले खेलकुद क्षेत्रको भलो नचाहने कोही छ भने त्यसलाई बहिस्कार गर्नुपर्ने बताएका छन्।

उनले मंगलवार आइसीसी टी २० विश्वकप एसिया क्वालिफायर खेल्न जाने नेपाली क्रिकेट टिमको बिदाई कार्यक्रमको अवसरमा उक्त धारणा राखेका हुन्।

यसअघि नेपाली क्रिकेट संघमा रहेर काम गरिसकेका सिलवाल हिजो मात्रै नेपाली खेलको सबैभन्दा ठूलो कार्यकारी पदमा नियुक्त भएका थिए। त्यसको भोलिपल्टै उनलको 'बोल्ड' अभिव्यक्ति आएको हो।

'नेपाली खेलकुद र क्रिकेटलाई माथि पुगेको हेर्न नचाहने कोही छ भने अब त्यसलाई मिडियादेखि सामाजिकरुपमा बहिस्कार गर्नुपर्छ। किनकि कसैलाई पनि बिगार्ने हक छैन। यदि सपार्ने हो भने आउनुस् तर कोही पनि खेलकुद क्षेत्रलाई बिगार्ने गरी यहाँ बसेको राम्रो हुँदैन।'

यस्तै उनी संयोजक रहेको तदर्थ समितिलाई मुद्दा हाल्ने 'साथी'हरुले समेत बधाई दिएको बताए। साथै उनले मिलेर काम गरेमा क्रिकेटको विवाद समेत चाँडै समाधान हुने दावी गरे।

'मलाई मुद्दा हाल्ने साथीहरुले पनि तपाईँ आउनुभा'छ भनेर बधाई दिनु भइसक्यो। म आफैँ समाधान समाधान गर्नको लागि पहल गर्नेछु। अब छिटै समस्या समाधान हुन्छ,' उनले भने।

खेलाडीहरुलाई केही समस्या छ भनेर आएर बताउन आग्रह गरेका छन्।

केशव कुमार विष्ट सदस्य सचिव हुँदा सिलवालको संयोजकत्वमा क्रिकेट विवाद समाधान गर्नको लागि तदर्थ समिति गठन भएको थियो। त्यसको विरुद्ध चतुरबहादुर चन्द अध्यक्षको निर्वाचित क्यानले अदालतमा मुद्दा दायर गरेको थियो। तर, अहिलेसम्म त्यो मदुद् फिर्ता भएको छैन।

सिलवाल स्वयम् राखेपको सदस्य सचिव बनेर आएपछि अब क्रिकेट विवाद समाधान होला कि भन्ने आशा खेलाडीमा देखिन्छ। राष्ट्रिय टिमका कप्तान पारस खड्काले सिलवाल खेलकुद बुझेको र व्यवस्थापनमा पनि दक्ष रहेको बताए।

'रमेश सिलवाल सर पहिलेदेखि नै क्रिकेटमा आवद्ध भएको मान्छे, एउटा जिम्मेवार व्यक्ति। मलाई लाग्छ अब उहाँ सदस्य सचिव भएर आइसकेपछि धेरै कुरा चेन्ज हुनेछ,' पारसले भने, 'क्रिकेट भित्रको माहोल पनि उहाँले सबै बुझ्नुभाछ। उहाँलाई यस विषयमा काम गर्न सजिलो होला भन्ने आशा छ र चाँडै नै यो विवाद समाधान होस भन्ने चाहना छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell