PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यसपाला आँप किनिनसक्नु महँगो किन?



सुवास निरौला

यसपाला आँप किनिनसक्नु महँगो किन?

काठमाडौं : तपाईँले यसपाला आँप किन्नु भयो? किन्नु भएको भए पक्कै पनि महसुस गर्नुभयो - महँगीको। हो, यसपाला अघिल्ला वर्षहरुको तुलनामा आँपको मूल्य ह्वात्तै बढेको छ।

यस वर्ष नेपाली बजारमा आँप १० वर्ष यताकै महँगो भएको छ। कालीमाटी तरकारी बजारका अनुसार २०६५ सालको असारमा प्रति केजी आँपको थोक औसत मूल्य ५० रुपैयाँ ६५ पैसा थियो भने सोमबारको थोक मूल्य ९५ रुपैयाँ पुगेको छ।

आन्तरिक उत्पादनमा कमी र आयातमा समस्याका कारण आँप १० वर्ष यताकै महँगो भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

यस वर्ष आन्तरिक उत्पादनमै कमी आएको कुलेश्वर फलफूल व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिए। 'यस वर्ष आन्तरिक उत्पादनमै कमी आएको कारण आँपको मूल्य बढेको हो,' बानियाले भने।

आँप एक सिजनमा धेरै फल्ने गर्छ भने अर्को सिजनमा कम फल्छ। यस वर्ष आँप कम फल्यो। बानियाँका अनुसार यस वर्ष कुलेश्वर फलफूल बजारमा प्रति केजी थोक मूल्य नै १५० रुपैयाँसम्म पुगेको थियो। थोक मूल्य नै आकासिएपछि उपभोक्ताले खुद्रा मूल्य किलोको २५० रुपैयाँसम्म हाल्न बाध्य भए। एक दशकमा यति धेरै मूल्य तिरेर उपभोक्ताले आँप खानुपरेको पहिलो पटक हो।

गत वर्ष असारमा प्रति केजी आँपको औशत मूल्य ६५ रुपैयाँ ३१ पैसा रहेको थियो। अघिल्लो वर्ष ९३ रुपैयाँ ७१ पैसा रहेको थियो। १० वर्ष अघि २०६५ साल असारमा यसको मूल्य ५० रुपैयाँ ६५ पैसा थियो। तर, यस वर्ष आँपको मूल्य एकाएक आकासिएपछि उपभोक्ताले खरिद समेत घटाएको कुलेश्वर फलफूल व्यवसायी सङ्घले जनाएको छ।

अघिल्लो वर्ष आँप पारखी उपभोक्ता थोक बजारमै आँपको पेटी नै खरीद गर्न पुग्ने गर्थे। मूल्य बढेका कारण त्यस्ता उपभोक्ता थोक बजारमा नै नपुगेको संघले जनाएको छ। पहिले तीन चार पेटी खरीद गर्नेले पनि यो वर्ष मूल्य वृद्धिका कारण एक दुई पेटीमै चित्त बुझाएको अध्यक्ष बानियाँको अनुमान छ।

यस वर्ष आँपको उत्पादन घटेको अनुमान राष्ट्रिय फलफूल विकास केन्द्रले गरेको छ। तर, कति घट्यो भन्ने यकिन विवरण भने सिजन नसकिएकोले नआइसकेको केन्द्रका प्रवक्ता भरत आचार्यले बताए। गत वर्ष तीन लाख २८ हजार २७३ मेट्रिक टन आँप उत्पादन भएको राष्ट्रिय फलफूल विकास केन्द्र किर्तीपुरले जनाएको छ। नेपालमा गत वर्ष ३६ हजार पाँच सय ४३ हेक्टर क्षेत्रफलमा आँप लगाइएको थियो।

कुलेश्वर फलफूल व्यवसायी सङ्घले भने यस वर्ष नेपाली उत्पादन ७० प्रतिशतले घटेको अनुमान गरेको छ। 'पोहोरको तुलनामा यस वर्ष ३० प्रतिशत पनि नेपाली आँप बजारमा आएन,' बानियाँले भने।

फलफूल तथा तरकारीमा विषादी जाँचको विषयले प्राथमिकता पाउँदा अन्य मुलुकबाट आयात हुने फलफूलको आयात समेत रोकिदा आँपको मूल्य बढेको हो। बानियाँका अनुसार नेपाली उत्पादनले मात्रै बजार धान्न सक्ने अवस्था छैन।

विषादी जाँचले भन्सारमा फलफूलका गाडी रोकिएकाले व्यवसायीले कम आँप आयात गरे। बजारमा आँप नै कम आएको कारण मूल्यमा प्रभाव परेको बानियाँको भनाई छ।

अझै पनि व्यवसायीले निर्धक्क फलफूल आयात गर्न सकेका छैनन्। अति नाशवान भएकाले भन्सारमा आयातित फलफूल केही दिन मात्रै रोकिए पनि लाखौँ रुपैयाँको घाटा हुने भएकोले उनीहरू आयात गर्न डराएका हुन्।

आयात सहज नभएसम्म आयातित फलफूलको मूल्य अझै केही दिन महँगै पर्ने छ। आयात सहज भएसँगै मूल्य घट्दै जाने बानियाँले जानकारी दिए। तर, त्यतिन्जेलसम्म आँपको सिजन रहिरहला त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell