काठमाडौँः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुससहित पक्राउ परेका छन्।
प्रतिष्ठानको भवन निर्माणको ठेक्का कमिसन बापतको रकम बुझिसकेको अवस्थामा रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्। रौनियारसँगै डा. रामहरि रौनियार पनि पक्राउ परेका छन्।
घुस रकम लिइसकेको अवस्थामा अख्तियारको धरानबाट खटिएको टोलीले कार्यालय परिसरस्थित उपकुलपतिको निवासबाट पक्राउ गरेको हो।
घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिष्ठानकै रेडियोलोजी विभाग प्रमुख रहेका रौनियारलाई ०७३ फागुनमा तत्कालीन सरकारले उपकुलपति नियुक्त गरेको थियो। तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौनियारलाई उपकुलपतिमा नियुक्त गरेका थिए।
गत फागुनमा रौनियारलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका थिए। तर, सर्वोच्च अदालतको अन्तरिम आदेशले काममा फर्किएका थिए।
चैत १२ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश मीरा खड्काको इजलासले रौनियारलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
घुससहित पक्राउ परेका रौनियारमाथि अख्तियारले मुद्दा चलाएमा उनी स्वतः निलम्बनमा पर्नेछन्।