PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

स्टार्कको कीर्तिमान, अष्ट्रेलियाको नचाहेको कीर्तिमान, इंग्ल्याण्ड र न्यूजिल्याण्ड जसले जिते पनि नयाँ विजेता



पहिलोपोस्ट

स्टार्कको कीर्तिमान, अष्ट्रेलियाको नचाहेको कीर्तिमान, इंग्ल्याण्ड र न्यूजिल्याण्ड जसले जिते पनि नयाँ विजेता

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा ४७ खेलपछि घरेलु टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड विश्वकपको फाइनलमा पुगेका छन्। पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित यी दुई टोली आइतवार लण्डनस्थित लर्ड्स मैदानमा भिड्नेछन्।

दुवै टोलीले यसअघि फाइनल खेलेता पनि विश्वकपको उपाधि जित्न सकेका छैनन्। इंग्ल्याण्ड चौथो पटक र न्यूजिल्याण्ड दोस्रो पटक फाइनल पुगेको हो।

बिहीवार भएको दोस्रो सेमिफाइनलमा केही कीर्तिमान बने। इंग्ल्याण्डले २७ वर्षपछि पहिलो पटक फाइनलमा स्थान बनायो। त्यसका लागि कीर्तिमान ५ पटक उपाधि जितिसकेको साविक विजेता समेत रहेको अष्ट्रेलियालाई हरायो।

इंग्ल्याण्डले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियालाई ८ विकेटले सहजै हरायो।

यस खेलमा अष्ट्रेलियातर्फ दुई कीर्तिमान बने। फास्ट बलर मिचेल स्टार्क एउटै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने। इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान जोनी बेयर्स्टोबलाई आउट गरेपछि स्टार्ले यस विश्वकपमा विकेट संख्या २७ पुर्‍याउँदै आफ्नै देशका ग्लेन म्याग्राको कीर्तिमान तोडे। म्याग्राले सन् २००७ मा एकै विश्वकपमा २६ विकेट लिएका थिए। स्टार्कले १२ वर्षपछि उक्त कीर्तिमान आफ्नो नाममा लेखाए।

अर्कोतर्फ अष्ट्रेलियाले नचाहेको कीर्तिमान बनायो। यसअघिका ११ संस्करणमध्ये ७ पटक सेमिफाइनल खेल्दा अष्ट्रेलिया पराजित भएको थिएन। सातै पटक फाइनलसम्म पुगेको थियो। तर, यस पटक भने कंगारु टोली सेमिफाइनलमा पराजित भयो र यस्तो भएको पहिलो पटक हो।

यस्तै अष्ट्रेलियाका डेविड वार्नरले एउटै विश्वकपमा धेरै रन बनाउने कीर्तिमान तोड्ने अवसर पाए पनि चाँडै आउट हुँदा त्यहा पुग्न सकेनन्। एकै विश्वकपमा धेरै रन बनाउने सचिन तेन्दुलकरको कीर्तिमान तोड्न वार्नरलाई ३६ रन बनाउनु आवश्यक थियो। तर, उनी ९ रन मात्र बनाएर आउट भए। यस विश्वकपमा भारतका रोहित शर्माले सर्वाधिक ६४८ रन बनाएका छन् भने रोहित भन्दा १ रन कम रहेका वार्नर दोस्रो स्थानमा छन्।

अब १२औं एक दिवसीय विश्वकपको फाइनल हुने स्थान लर्ड्समा सबैको ध्यान केन्द्रित हुनेछ। जहाँ पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यका साथ इंग्ल्याण्डले न्यूजिल्याण्डसँग खेल्नेछ। लिग चरणका दुवैको प्रदर्शनमा केही उतारचढाव आएको थियो। यसअघि लिगमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई हराएको थियो। किवी टोली सामु उक्त हारको बदला लिने अवसर समेत छ।

इंग्ल्याण्डले यस अघि ३ पटक फाइनल खेले पनि उपाधिको स्वाद चाख्न पाएको छैन। यस पटक घरेलु मैदानमै उपाधि राख्दै त्यो चाहना पूरा गर्न चाहन्छ। उता चार वर्षअघि अष्ट्रेलियासँग संयुक्त आयोजक बन्दै पहिलो पटक फाइनल पुगेपनि न्यूजिल्याण्ड अष्ट्रेलियासँगै फाइनलमा हारेको थियो। यस पटक त्यो हारलाई बिर्साउने प्रयासमा किवी टोली छ।

जसले जिते पनि विश्वकपमा नयाँ विजेता बन्नेछ र त्यो विश्वकप जित्ने छैटौँ राष्ट्र बन्नेछ। यसअघि अष्ट्रेलियाले सर्वाधिक ५ पटक उपाधि जित्दा वेष्ट इन्डिज र भारतले २-२ तथा पाकिस्तान र श्रीलंकाले १-१ पटक जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell