PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

साग लक्षित महिला भलिबलको प्रशिक्षण सुरु



पहिलोपोस्ट

साग लक्षित महिला भलिबलको प्रशिक्षण सुरु
file photo

काठमाडौं : नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षिण गर्दै राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शनिवारदेखि सुरु भएको हो। आगामी डिसेम्वरमा काठमाडौं र पोखरामा हुने सागका लागि महिला टोलीको प्रशिक्षण सुरु गरिएको हो।

पुरुष भलिबल टिमको प्रशिक्षण भने करिब एक महिनायता जारी छ। साउन ३२ देखि भदौ ८ सम्म हुने एभिसी सेन्ट्ल जोनको लागि पुरुष टिमले चाँडै तयारी सुरु गरेको हो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज पहिलो दिन महिला टिमको परिचयात्मक कार्यक्रम मात्र भएको छ। 'आजबाट औपचारिक रुपमा सुरु भएको छ। राष्ट्रपति रनिङ शिल्डको कारण अब तीनदिनपछि मात्रै प्रशिक्षण सुरु हुनेछ।' नेपाली भलिबलको मुख्य प्रशिक्षक सलिना श्रेष्ठले भनिन्।

केही खेलाडी राजधानी बाहिर रहेकाले आज पूरै खेलाडी उपस्थित थिएनन्।

श्रेष्ठका अनुसार अब साउन १ गतेदेखि लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा महिला टिमको प्रशिक्षण हुनेछ।
यस्तै महिला टिमको प्रशिक्षण जगदिश भट्टले हेर्ने भएका छन्। भट्टले यसअघि पुरुष राष्ट्रिय टिमको प्रशिक्षण सम्हालिसकेका छन् भने अहिले पनि विदेशी प्रशिक्षक हान अबिङलाई पुरुष टिमको प्रशिक्षणमा सघाइरहेका छन्।

'हामीले अहिले तत्कालको लागि जगदिश भट्टलाई नै प्रशिक्षणको जिम्मेवारी दिएका छौँ। प्रशिक्षण दिउँसो १२ देखि २ बजेसम्म हुनेछ।'

गत चैत-बैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनको आधारमा सेलेक्सन कमिटिले २५ खेलाडी छनोट गरेको छ। बन्द प्रशिक्षणमा त्यही खेलाडीलाई राखेर प्रशिक्षण गराइनेछ।

श्रेष्ठले यो बन्द प्रशिक्षण नभएर विशेष प्रशिक्षण भएको बताइन्। 'नेपाल भलिबल संघकै पहलमा यो प्रशिक्षण हुन लागेको हो। यसलाई बन्द प्रशिक्षण भन्दा पनि विशेष प्रशिक्षण भन्दा हुन्छ।'

प्रशिक्षणका लागि यसअघि घोषणा भएको २५ सदस्यीय सूचीमा कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ भने अटाउन सकेनन्। यस पटक महिला टिममा नयाँ खेलाडीहरुको बाहुल्य रहेको छ।

सरस्वती चौधरी, रेश्मा भण्डारी, प्रतिभा माली, अरुणा शाही, निरुता ठगुन्ना, उषा भण्डारी, शान्ति थारु, लक्ष्मी कुमाल, पुष्पा शाही, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफिय पुन, कविता भट्ट, हिरा केसी, उषा विष्ट, कमला पुन, चन्द्रकला खरेल, संगम महतो, शान्ति तामाङ, सलिना श्रेष्ठ, यामकली कुँवर, ममता डगौरा, जानकी भण्डारी र सरस्वती कट्टेललाई समेत प्रारम्भिक टोलीमा राखिएको छ।

नेपाली टिमको प्रशिक्षकको रुपमा जगदिश भट्ट रहनेछन्।

यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको अनी टिममा सिनियर खेलाडीको रुपमा रहेकी रेश्मा भण्डारीले लामो सयम ट्रेनिङ हुने र नयाँ खेलाडीहरु पनि धेरै रहेकोले सबैजना उत्साहित रहेको बताइन्।

'नेपालमै हुने सागको लागि अहिले देखि नै ट्रेनिङ हुन लागेको छ। नयाँ बहिनिहरु पनि टिममा छन्। सबै जना उत्साहित छन्।' भण्डारीले भनिन्।

'यसअघि कम समय ट्रेनिङ हुन्थ्यो। टिम सेट हुन समय लाग्थ्यो। अहिले नयाँ खेलाडी भएकोले टिम सेट हुन र कन्फिडेन्स बन्न समय लाग्छ। त्यसैले यो लामो समय ट्रेनिङ हुँदा नया खेलाडीलाई पक्कै फाइदा पुग्छ।'

सबैले मेहनत गरेमा टिम राम्रो हुने भण्डारीले बताइन्।

यस्तै उनले घरेलु कोर्टमै हुने सागका लागि नेपालको लक्ष्य पनि ठूलो हुने बताइन्। दक्षिण एसियामा भारत सबैभन्दा बलियो टोलीको रुपमा रहेको छ। भण्डारीले आफ्नै कोर्टमा भएकोले पहिलो हुने नै लक्ष्य राख्नु पर्ने बताइन्।

'पहिला हामीले एक महिना मात्र ट्रेनिङ गर्दा पनि भारत विरुद्ध राम्रो अंक ल्याएका थियौँ। अहिले लामो समय ट्रेनिङ हुन्छ। त्यसैले घरेलु कोर्ट र दर्शक सामु हामीले जित्छौँ भन्ने आशा राखेर तयारी गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell