PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रहरीले काँधमा अर्का प्रहरीलाई बोकेर उद्दार गरेको भाइरल फोटो: के भएको थियो?



सविन ढकाल

प्रहरीले काँधमा अर्का प्रहरीलाई बोकेर उद्दार गरेको भाइरल फोटो: के भएको थियो?

काठमाडौः काठमाडौं मनसुनी वर्षाको चपेटामा परेको थियो। चारैतिर पानीले घेरिसकेको थियो। महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीको कार्यालय पानीले भरिएको थियो। कार्यालयभित्र रहेका एक प्रहरीले काँधमा अर्का एकजनालाई बोकेर बाहिर निस्किए। दुवैले सुन्तला रङ्गको बर्षादी ओढेका थिए। काँधमा चढ्ने अरु कोही थिएनन्, प्रहरी नै थिए।

बिहीवार रातिदेखि आएको वर्षाको कारण डुबानमा रहेको राजधानीको फोटो खिच्दै हिँडेका थिए- एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार प्रकास माथेमा। माथेमाले आफ्नो क्यामराको लेन्स त्यतै तेर्स्याए र प्रहरीले काँधमा अर्का प्रहरी हिँड्दै गरेको दृष्य कैद गरे।

माथेमाले खिचेको त्यही फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ। फोटोग्राफर माथेमाले त्यही रात फेसबुकमा कलंकीमा बाढी भन्दै फोटो हालेपछि फोटो भाइरल भएको थियो। उनले खिचेको फोटो सबैले आफ्नै क्याप्सन राख्दै शेयर गरिरहेका थिए।

धेरैले काँधमा चढ्ने प्रहरी निरिक्षक भएको र आफ्ना तल्लो तहका कर्मचारीलाई दुःख दिएको भन्दै गाली समेत गरिरहेका छन्। सामाजिक सञ्जालमा फोटो शेयर र रिट्वीट हुने क्रमम रोकिएको छैन। के प्रहरीको काँधमा चढ्ने व्यक्ति प्रहरी निरीक्षक नै थिए त? एक हाकिमले आफ्नो मातहतका तल्ला तहका कर्मचारीप्रति देखाएको निरंकुशता नै थियो त?

हामीले जवाफ खोज्ने प्रयास गरेका छौं।

‘शुक्रवार म फोटो खिच्दै गएको थिएँ। प्रहरी बिटबाट एकजना प्रहरीको काँधमा अर्को प्रहरी चढेर आएको देखेँ। मलाई यो फोटो हुन्छ जस्तो लाग्यो र खिचेको हुँ,‘ फोटो खिच्ने माथेमाले भने। फोटो यसरी भाइरल होला भन्ने उनले समेत सोचेका रहेनछन्। पहिलोपोष्टसँगको कुराकानीमा उनले भने, 'मैले त मेरो काम मात्र गरेको हुँ। मैले कुनै पनि क्याप्सन लेखेको थिइनँ। ‘फ्लड इन कलंकी’ (कलंकीमा बाढी) लेखेको हुँ।'

फोटो भाइरल भएपछि सबैभन्दा बढी समस्यामा परे प्रभागका निरीक्षक केशव भट्ट। धेरैले निरीक्षक नै काँधमा चढेको भन्दै सामाजिक सञ्जालमा गाली गर्न थालिसकेका थिए। ‘कहाँ म चढ्नु नी सर। हिजोदेखि फोन आएर तनाव भएको छ,’ प्रभाग प्रमुख भट्टले भने, ‘मैले आफूभन्दा माथिल्लो निकायमा खबर गरेर सबै सुनाइसकेको छु।‘

निरीक्षक भट्टले आफू त्योदिन ड्युटीमा खटिएको र आफ्नो आदेशले नै उनीहरुलाई सुरक्षित ठाँउमा सारिएको बताएका छन्। ‘प्रभागमा तीनजना प्रहरी जवान बिरामी थिए। उनलाई ज्वरो आएको थियो। मैले नै पानी परिरहेको छ। बिरामी छन्। उनीहरुलाई सुरक्षित ठाँउमा लग्नु भनेको हुँ,‘ भट्टले सुनाए।

प्रहरीको काँधमा चढ्ने जवान सुभास खतिवडा भएको प्रहरीले बताएको छ। खतिवडाले तीन दिनदेखि औषधी खाइरहेका थिए। उनलाई बोक्ने प्रहरी जवान अरुण कहर हुन्। ‘हट्टाकट्टा केटो थियो। पौडीन राम्रोसित जानेको थियो। च्याप्प काँधमा हालेर लग्यो,‘ निरीक्षक भट्टले भने।

प्रभागबाट काँधमा आफ्ना सहकर्मीलाई बोकेर उद्धार गर्ने प्रहरी जवान अरुण कहर थिए। उनले आफ्ना बिरामी सहकर्मीलाई आफूले काँधमा बोकेर उद्दार गरेको बताए। ‘हाम्रो अफिसमा तीन जना बिरामी हुनुहन्थ्यो। बिरामीलाई पानीमा भिजाउनु भएन। मैले नै डोरी तानेर बोकेर लगेको हुँ,‘प्रहरी जवान अरुण कहरले भने, ‘मलाई पौडी खेल्न राम्रोसित आउँछ। यसअघि पनि बाढीमा बोकेर उद्धार गरेको थिएँ। ज्वरो आएका साथीलाई नभिजाऊँ भनेर बोकेको हुँ।‘ धादिङमा दरबन्दी रहेका जवान कहर नौ महिना अघि मात्र कलंकी प्रभाग आएका हुन्।

फोटोग्राफर माथेमा आफूले २०६१ सालमा आर्मीले आर्मीलाई काँधमा बोकेको फोटो खिच्दा कुटाइ खाएको स्मरण गर्छन्। ‘ कपिलवस्तुमा आर्मीले आर्मी बोक्दा फोटो खिचेको थिएँ। कान्तिपुरको पहिलो पृष्ठमा नै छापिएको थियो। पछि आर्मीले फोटो खिचेको भन्दै पिटाइ खाएँ,‘फोटोग्राफर माथेमाले सुनाए।

अहिले प्रहरीको भाइरल फोटो खिचेपछि पनि प्रहरीको फोन आएको थियो। प्रहरी निरीक्षक भट्टले आफू नभएको भन्दै घटनाको जानकारी दिएका थिए। त्यसपछि माथेमाले आफ्नो फेसबुकमा बिरामी प्रहरीलाई बोकेर लगेको भन्दै स्ट्याटस् सच्याएका थिए। ‘मेरो गल्ती केही छैन। मैले फोटो खिचेको हुँ,’माथेमाले भने, ‘तर सामाजिक सञ्जालमा आफूखुसी ब्याख्या गरेर फोटो हाले। मलाई त जागीर खानै पो गाह्रो भयो।‘

प्रहरी र फोटोग्राफरको एउटै बुझाइ छ, मानिसले आफूखुसी व्याख्या गरे भन्ने। ‘मेरो इज्जतभन्दा पनि संगठनको बदनामी भयो। फोटो मात्र हेरेर यथार्थ बुझ्न खोजिएन,'निरीक्षक भट्टले सुनाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell