PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अस्पतालमै आक्रमण प्रयास : भयरहित वातावरणको माग गर्दै डडेलधुरा अस्पतालका चिकित्सक झरे धनगढी



एम बम

अस्पतालमै आक्रमण प्रयास : भयरहित वातावरणको माग गर्दै डडेलधुरा अस्पतालका चिकित्सक झरे धनगढी

कैलाली: अस्पतालमा पटक पटक डाक्टरहरूमाथि आक्रमण हुन थालेको भन्दै डडेलधुरा अस्पतालका चिकित्सकहरू जिल्ला छोडेर राजधानी आइपुगेका छन्। डडेलधुरा अस्पतालमा जेठ ३१ गते सुत्केरीको मृत्युपछि र असार २५ गते शव पोस्टमार्टमको विषयमा स्थानीयले चिकित्सकमाथि आक्रमणको प्रयास गरेका थिए। सोही विषयलाई लिएर जिल्लामा सुरक्षा खतरा रहेको भन्दै अस्पतालका १० जना चिकित्सकहरू विगत तीन दिनदेखि प्रदेशको राजधानी धनगढीमा छन्।

गत जेठ ३१ गते डडेलधुरा अस्पतालमा सुत्केरीको मृत्यु भएको थियो। जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा …ब्लिडिङ’ नरोकिएपछि अस्पतालमा मृत्यु भयो। शल्यक्रिया गरेर बच्चा जन्माएको १४ दिनपछि उनको मृत्यु भएको हो।

उक्त घटनामा चिकित्सकको लापरबाही रहेको भन्दै ताम्राकारका आफन्तले अस्पतालमा आन्दोलन, ढुंगामुडा बर्साउनुका साथै चिकित्सकमाथि आक्रमणको प्रयास समेत गरेका थिए। पछि घटनामा छानबिन गर्ने प्रशासन, मृतकका आफन्त र चिकित्सकबिचको सहमतिले उक्त घटना साम्य बन्दै गयो।

त्यसपछि गत असार २५ गते सडक दुर्घटनामा मृत्यु भएका अमरगढी नगरपालिका ११ सल्लाघारीका रमेश खड्काको शव पोस्टमार्टममा ढिलाइ भएको भन्दै सोही वडाका वडा अध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको टोलीले डाक्टरमाथि आक्रमणको प्रयास गरेको थियो। पोष्टमार्टका लागि प्रहरी मुचुल्का समयमै नआउँदा केही ढिलाइ भएको भए पनि प्रक्रिया पुगेपछि पोस्टमार्टम सुरु गर्दा वडाध्यक्ष सहितको टोली आएर आक्रमण नै गर्ने अवस्थामा घटना पुगेको पोस्टमार्टममा संलग्न चिकित्सक दिनेश उपाध्यायले बताए।

त्यसपछि चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको ग्यारेन्टीसहित काम गर्ने वातावरण तयार पार्न आग्रह गर्दा पनि चासो नदिएको चिकित्सकले गुनासो गरेका छन्। हाल धनगढीमा रहेका चिकित्सक उपाध्यायले पोस्टमार्टम गर्दागर्दै ढोका फोडेर स्थानीयले पिट्नुपर्छ भनेर भित्रनै छिरेपछि आफू ५ जना प्रहरीको सुरक्षा घेराबाट बच्न सफल भएको बताए। ‘पोस्टमार्टम गर्दै गर्दा लासको बाकस सँगै अर्को बाकसमा यो डाक्टरलाई पनि लैजानुपर्छ भन्ने आवाज सुनियो,’ उनले भने ‘त्यसपछि ज्यान बचाउन त्यहाँबाट भागेको हुँ।’

जिल्लाका सुरक्षा निकायसँग सुरक्षाको पटक–पटक माग गर्दागर्दै पनि कुनै पहल नभएको अर्का चिकित्सक नवराज जोशीले बताए।

यी घटनामा नेपाल चिकित्सक सङ्घले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै घोर आपत्ति जनाएको छ। नेपाल चिकित्सक सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. प्रमोद जोशीले शवको पोस्टमार्टम गर्दा पनि डाक्टरको ज्यान असुरक्षित भइरहेको विषयमा सुरक्षा निकाय र राज्य गम्भीर बन्नुपर्ने उनले बताए। नभए आफूहरू आन्दोलनमा जाने उनको भनाइ छ।

१० जना चिकित्सकहरू राजधानी झरेपछि १५ जना चिकित्सक कार्यरत रहेको डडेलधुरा अस्पताल हाल ३ जनाले धानेका छन्। चिकित्सक अभावमा डडेलधुराका महिलाहरू पनि प्रसूति गराउन कैलालीको सेती अस्पताल आउन थालेको नेपाल नर्सिङ संघ सुदूरपश्चिम प्रदेशकी अध्यक्ष तथा सेती अस्पतालकी नर्सिङ इन्चार्ज यशोदा ढकालको भनाई छ।

नेपाल चिकित्सक सङ्घ सहित १० जना डाक्टरको टोलीले आज सुदूरपपिश्चमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर यस विषयमा छलफल गरेका छन्। मुख्यमन्त्री भट्टले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिसकेको भन्दै चिकित्सकहरूलाई जिल्ला फर्किन आग्रह गरेका थिए। तर चिकित्सकहरूले भने भयरहित भएर काम गर्ने वातावरण नभएकोले त्यसको माग गरेका छन्।

असार २५ गतेको घटनामा चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एक जनालाई चिकित्सकको उजुरीका आधारमा आज प्रहरीले पक्राउ गरिसकेको डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिएका छन्।

नियन्त्रणमा रहेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेकाले उनको परिचय भने गोप्य राखिएको छ।

अस्पतालमा हाल आकस्मिक बाहेकका सबै सेवा बन्द छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell