PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पेनाल्टी सुटआउटमा रियल विजयी



पहिलोपोस्ट

पेनाल्टी सुटआउटमा रियल विजयी

इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले लण्डन क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ।

दुई रातो कार्ड, निर्धारित समयको खेल बराबरी, अनी आर्सनलको अपराजित यात्रा समाप्त, खेलको विशेषता बन्यो।

निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जहाँ रियलका लागि इस्को, राफेल भरान र भिनिसिओस जुनियरले गोल गरे। आर्सनलका लागि भने रेइस नेल्सन, बुकायो शाकाले मात्र गोल गर्न सके। ग्रान्ट जाका, नाचो मोनरेल र रोबी बुर्टनले गोल गर्न सकेनन्। रियलका गारेथ बेलले पनि गोल गर्न सकेनन्।

खेलमा आर्सनलले  अग्रता बनाए पनि रियलले पुनरागमन गरेको थियो।

खेलको नवौँ मिनेटमा रियलका नाचो पर्नान्डेजले रातो कार्ड पाएपछि आर्सनलले त्यसको फाइदा उठाउँदै दुई गोल गरेको थियो। दशौँ मिनेटमा एलेक्जान्डर लाकाजेट र २४औं मिनेटमा पिएरे एमरिक ओवामेयाङले गोल गरेका थिए। तर ४०औँ मिनेटमा आर्सनलका सोक्रेटसले पनि रातो कार्ड पाएपछि दुबै टोली दश खेलाडीमा सीमित भए। जसको फाइदा रियलले उठायो र दोस्रो हाफमा दुई गोल पर्कायो। रियलका लागि बेलले ५७औँ र मार्को असेन्सिओले ५९औँ मिनेटमा गोल गरेका थिए।

यस हारपछि इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलको अपराजित यात्रा सकिएको छ। यसअघि आर्सनलले लगातार दुई खेल जितेको थियो।

यस्तै बुधबार बिहान नै सम्पन्न अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिखले इटालियन क्लब एसी मिलानलाई १-० ले पराजित गरेको छ। वायर्नका लागि पहिलो हाफको अन्तिम समयमा लिओन गोरेट्ज्काले एक मात्र गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell