PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

घाइते लाटोकोसेरो र हुचीलको उद्दार कसरी गर्ने?



पहिलोपोस्ट

घाइते लाटोकोसेरो र हुचीलको उद्दार कसरी गर्ने?

  • राजु आचार्य -

ठूला-ठूला आँखा, कुनै पुरै काला अनि कुनै राता घेरा भएका। टाउको घुमाएर अनौठो आवाज निकाल्दा डरलाग्दो सुनिन्छ। कसैले भूत-प्रेत समेत भन्छन्। सानालाई लाटोकोसेरो भनिन्छ भने ठूलालाई हुचील, हाप्सिलो आदि।

सुन्दा डर लागे पनि यी साह्रै उपयोगी चरा हुन्। मुसा खाएर हामीलाई सहयोग गर्ने यिनीहरूलाई किसानको साथी पनि भनिन्छ। हामीलाई बिगार नगर्ने यी चराहरू घाइते अवस्थामा भेटिएको खबरहरू दिनहुँ आइरहन्छ। कुनै पनि चरा घाइते हुँदा तनावमा हुन्छन्। उद्दारको पहिलो काम भनेकै यिनको तनावलाई कम गर्नु हो। उद्दार गर्दा मानिसहरू धेरै भएको ठाउँमा हातले धेरै चलाउने, फोटो खिच्ने र हल्ला गर्ने कार्य तत्कालै रोक्नु पर्दछ। यस्तो बेला तिनको नजिक जानु कहिलेकाहीँ जोखिमपूर्ण पनि हुन्छ। यसले चुच्चो बजाएर ‘ट्वाक ट्वाक’ आवाज निकालेर नजिक नआउन सचेत पनि गराउँछ।

हुचीलहरुलाई बाँधेर राख्दा थप घाइते हुन् सक्छ। त्यसैले लामो समय राख्नु परे खोरमा खुला राख्नु पर्दछ।

सा-साना चल्लाहरू प्रायःगरी उड्ने बेलामा गुँडबाट झर्ने गर्छ। कुनै कुनै लाटोकोसेरोको बच्चाहरू गुँडबाट बाहिर निस्केर दगुर्ने समेत गर्दछन्। हामीले भने चरा घाइते भएको ठान्छौं। यदि सार्वजनिक बाटोमा छैनन् वा कसैबाट कुल्चिने, हानी पुग्ने सम्भावना छैन भने सोही ठाउँमा छाडिदिनु पर्छ। केही समयपछि यिनको माउले ती चल्लालाई लिएर जान्छन्।

घाइते लाटोकोसेरो वा हुचीललाई भिडभाड भएको ठाउँबाट सकेसम्म कागतको कार्टुनमा राखेर सुरक्षित स्थानमा लैजानु पर्दछ।

तर, त्यस्ता ठाउँमा छाड्दा बिरालो, कुकुर र काग आदिले आक्रमण गर्ने सम्भावना छ भने सुरक्षित स्थानमा छाड्न सँगै लिएर जानु ठिक हुन्छ। मान्छे तथा यातायातको भिडभाड हुने क्षेत्र छ भने पनि घाइते चरालाई त्यसै छाड्नु हुँदैन। गाडीमा ठोक्किएको अवस्थामा भेटियो भने आँखा बन्द गरेको हुन सक्छ। यस्ता बेलामा न्यानो कपडाले बेरेर शान्त ठाउँमा राख्न सकिन्छ।

सँगै लैजानुपर्दा कागजको कार्टुनमा साना–साना प्वाल पारेर घाइते लाटोकोसेरोलाई राख्नुपर्छ। भित्र बस्ने ठाउँमा नरम कपडा प्रयोग गर्नुपर्दछ। सकेसम्म लाटोकोसेरोलाई चुच्चो मात्रै खुला छाडेर न्यानो कपडाले छोप्नु पर्दछ।

कार्टुनमा राखिएको लाटोकोसेरोलाई मान्छेको आवाज कम भएको तर, हावा लाग्ने ठाउँमा राख्दा तनाव कम गर्न सकिन्छ। यस्तो बेलामा पानी वा कुनै पनि खानेकुरा दिनुहुँदैन, यस्तो गर्दा मर्ने सम्भावना धेरै हुन्छ। जस्तो कि तपाईँ बिरामी परी आइसीयुमा राख्दा जबर्जस्ती मम ख्वाए जस्तो हुनसक्छ।

यिनीहरुले दूध, भात वा यस्तै घरयसी खाना खादैनन्। १/२ दिन राख्दा केही नदिँदा पनि फरक पर्दैन। तर, लामो समय राख्नु परे सकेसम्म जिउँदो किरा, फट्यांग्रा, मुसा दिन सकिन्छ। नेपालमा धेरै हुचीलहरुलाई कुखुराको मासु दिएर पालिएको अनुभव पनि छ।

कार्टुनको आकार ठिक्कको हुनुपर्छ, जसले गर्दा चरालाई चाहिने ठाउँ पुगोस् र ढुवानी गर्दा भित्र लड्ने सम्भावना पनि थोरै होस्। घाइते अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा तारको पिँजडा सकेसम्म प्रयोग गर्नुहुँदैन।

यदि शरीरको कुनै भागमा चोट लागेको तर, हड्डी बाहिर देखिएको छैन भने ती चराहरू आफ्नो वासस्थानमा फर्कन सक्छन्। छाड्नका लागि कोलाहल युक्त वातावरणबाट अलि पर अग्लो ठाउँमा लैजान सकिन्छ। यस्तो सम्भव भएन भने घरको छाना पनि प्रयोग गर्न सक्छौं।

कार्टुनमा लगेको चरालाई कार्टुन नखोली केही बेर त्यतिकै राख्नुपर्छ। केही समयपछि कार्टुन खोलेर छाडिदिनु पर्छ। कहिलेकाहीँ कार्टुनबाट झिकेर हातमा राखी थोरै बल प्रयोग गरेर माथितिर छोड्दा चरालाई उड्न सजिलो हुन्छ। यसरी छोड्दा मानिसहरू एकातिर बसेर सम्भावित उड्ने ठाउँतिर स्थान खाली गरिदिनु पर्दछ।

हुचीलहरुलाई बाँधेर राख्दा थप घाइते हुन सक्छ। त्यसैले लामो समय राख्नु परे खोरमा खुला राख्नु पर्दछ।

अलि उज्यालोमा छाड्दा काग वा अन्य चराहरूले लखेटेर फेरि घाइते बनाउन सक्ने भएकाले बेलुकी वा बिहानको समयमा मात्रै छोड्नु पर्छ।

यदि प्वाँखहरू काटिएको, भाँचिएको अवस्थामा भेटिएको छ भने उक्त लाटोकोसेरोलाई सञ्चो वा उड्न सक्ने हुञ्जेल पाल्नु आवश्यक हुन्छ। यसको लागि महिनौँ (३-६ महिना) लाग्न सक्छ। पखेटाहरू पलाइसकेपछि फेरि उड्न योग्य हुन्छन्। यस्तो अवस्थामा नजिकको चिडियाखाना वा उद्दार केन्द्र वा वन कार्यालयमा पनि राख्न सकिन्छ।

घाइते लाटोकोसेरो वा हुचीललाइ भिडभाड भएको ठाउँबाट सकेसम्म कागजको कार्टुनमा राखेर सुरक्षित स्थानमा लैजानु पर्दछ

उद्दार केन्द्रहरुमा राख्दा बस्नका लागि अँधेरो बक्स वा गुडको व्यवस्था गर्नु पर्दछ। त्यस्ता चराहरूलाई मानिसको पहुँचभन्दा सकेसम्म पर राख्नु पर्दछ।

यदि लाटोकोसेरालाई उभिन गाह्रो भएको छ, खुट्टा बाङ्गो देखिएको छ र झोक्राएको छ भने यिनले विषादी भएको मुसा खाएको हुन सक्छन्। यस्तो अवस्थामा पुनर्स्थापना केन्द्रमा बिस्तारै आफैँ ठिक हुँदै जान्छन्। तर, यसका लागि भेटेनरी प्राविधिक वा स्वास्थ्यकर्मीको मद्धत आवश्यक हुन्छ। आन्तरिक रक्तस्राव रोक्न उनीहरूले भिटामिनको इन्जेक्सन दिने गर्दछन्। यसले रगतलाई बाक्लो बनाउने र रगत निस्कने गतिलाई नियन्त्रण गर्दछ।

तार वा कुनै पासोमा परेको अवस्थामा लाटोकोसेरोहरू एकदमै आक्रामक हुन्छन्। यस्तो बेलामा हामीले उद्दार गर्दा हातमा बाक्लो पञ्जाको प्रयोग गर्नु जरुरी हुन्छ। समात्नका लागि आफूसँग भएको कपडाले अलि टाढाबाट छोपेर मात्र समाउनु पर्दछ। समाउँदा यिनको तिघ्रामा समाएर पछाडिबाट पासो हटाउनु पर्दछ। सकेसम्म पन्जा र चस्माको प्रयोग गर्दा उद्दारकर्मीहरु सुरक्षित हुन्छन्।

यसरी पखेटामा समाउँदा भाँचिएर कहिले पनि प्राकृतिक वासस्थानमा नफर्कन पनि सक्छन्।

भेटनरी डाक्टरहरूसँग नियमित सम्पर्कमा तथा सल्लाहमा उद्दार र पुनर्स्थापना गर्दा लाटोकोसेरोको बाँच्ने सम्भावना जहिले पनि बढी हुन्छ।

विदेशतिर यस्ता चरालाई प्राकृतिक वासस्थानमा फर्कन सक्ने भएपछिमात्र फर्काइन्छ। यदि फर्कन नसके पनि बाँच्न सक्छ भने संरक्षणका कामहरूमा प्रयोग गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell