काठमाडौं : प्रमाणले एउटा देखाउँछ तर अभियुक्तको बोली ठ्याक्कै उल्टो भएपछि परेन फसाद!
अब गर्ने के?
प्रहरीसामु सधैं तेर्सिने प्रश्न।
प्रमाणलाई झुट भन्ने कि अभियुक्तको पत्यारलाग्दो शैलीको बोलीलाई?
अभियुक्तले बोल्ने बोलीको सत्यता मापन गर्ने प्रविधि नभएको होइन। प्रहरीले प्रयोगमा ल्याउने यस्तै प्रविधि हो, पोलिग्राफ जसले झुट र साचोको सीमाना निर्धारित गर्छ। अहिले यसको प्रयोग नेपाल प्रहरीसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि थालेको छ।
‘प्रमाण र अभियुक्तको बोली फेरिएपछि हामी पोलिग्राफको लागि पठाउँछौं। केही घटनामा हामीले पोलिग्राफ गराइसकेका छौं,' आयोगका सहसचिव प्रदीपकुमार कोइरालाले भने।
कुनै पनि घटनामा अभियुक्तले बयानमा झुटो बोलेको शङ्का लागेमा प्रहरीले यसमार्फत् परीक्षण गर्छ। यसलाई बैज्ञानिक पनि मानिन्छ। तर, नेपालका कुनै पनि अदालतले पोलिग्राफकै आधारमा भने कुनै पनि फैसला गर्दैन। अदालतको बुझाइमा पोलिग्राफ प्रहरीको अनुसन्धानलाई ‘न्यारो डाउन’गर्ने उपकरणमात्र हो।
नेपाल प्रहरीले ६ वर्षयता यस्तै जटिल अनुसन्धानका लागि पोलिग्राफ टेस्ट गर्दै आएको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०७० माघ २३ गतेबाट पोलिग्राफ परीक्षण गर्न सुरु गरेको हो। पछिल्लो समय नेपाल प्रहरीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पोलिग्राफ गर्दै आएको छ। अख्तियारले प्रहरीको सहयोगमा पोलिग्राफ गर्न थालेको हो।
पोलिग्राफ टेस्ट अभियुक्तको मन्जुरीविना भने गर्न पाइँदैन। पोलिग्राफ निर्देशिका २०७० मा आन्तरिक तथा कारबाहीको अनुसन्धानमा कुनै पनि प्रहरी कर्मचारीलाई विभागीय कारबाही र स्वयम् आफैँले पोलिग्राफ परीक्षण गराइपाउँ भनी निवेदन दिएको आधारमा पोलिग्राफ परीक्षण लिन सकिने प्रावधान छ।
‘केही अभियुक्तहरुले पोलिग्राफ लिन स्वीकृत दिनुहुन्न। हामीले त्यस्तो बेला पोलिग्राफ गरेका छैनौं,' सहसचिव कोइरालाले भने।
घुस प्रकरणमा पोलिग्राफ
प्रहरीको विभागीय कारबाही, भष्टाचार, घुस र रिसवत लिएको, चोरी, कर्तव्य ज्यान, सवारी ज्यान, साइबर अपराध लगायतका विषयमा अभियुक्तहरुको पोलिग्राफ हुनेको गरेको छ। गएको आर्थिक वर्षमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको पोलिग्राफ शाखामा सबैभन्दा धेरै घुस लिएको विषयलाई लिएर पोलिग्राफ परीक्षण भएको छ।
आर्थिक वर्ष २०७५/७६ मा ३१ जनालाई घुस लिएको विषयमा पोलिग्राफ गरिएको छ। एक वर्षमा ७८ जनाको पोलिग्राफ भएको छ। त्यसो त प्रहरी प्रधान कार्यालयमा पनि पोलिग्राफ हुने गर्छ।
काठमाडौं उपत्यका भित्रका जबर्जस्ती करणीमा १५ जना, चोरीमा ११, कर्तव्य ज्यानमा ६ जना, सवारी दुर्घटनामा ३, साइवर अपराधमा २ जना गरी ७८ जनाको पोलिग्राफ भएको छ।
‘पछिल्लो समयमा घुस प्रकरणमा जोडिएका घटनामा धेरै पोलिग्राफ भएको छ,' महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले भने।
उपत्यकामा प्रहरीले लिएको पोलिग्राफमा अधिकांशले झुट बोलेको पाइएको छ। ७८ जना मध्ये ३६ जनाले झुट बोलेको प्रहरीको तथ्याङ्क छ। अहिलेसम्म ३ जनाले पोलिग्राफ गर्न मानेका छैनन्। पाँच जनाको परीक्षण हुन सकेको छैन। परीक्षणमा सहभागीमध्ये २९ जनाले साँचो बोलेको भेटिएको छ।
समाजमा प्रविधिको प्रयोगले जटिल किसिमका अपराध बढेसँगै प्रहरीले गर्ने पोलिग्राफ टेस्टको सङ्ख्या पनि बढ्दै गएको हो। देशभर आर्थिक वर्ष २०७०/७१ प्रहरीले २ सय २५ जनाको पोलिग्राफ परीक्षण गरेको थियो। आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६७ पुग्यो यो संख्या। २०७२/७३ मा ३ सय ९१ जनामाथि यसको परीक्षण भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। २०७३\७४ मा पनि यो सङ्ख्या झनै बढेर ५ सय ४३ पुग्यो। आर्थिक वर्ष २०७४/७५ मा ५ सय ५६ पुग्यो।