
- राजु आचार्य-
‘घरभित्र डरलाग्दो चरा पस्यो, ठूला ठूला आँखा छन्, नाकमाथि घाउ पनि छ, ट्याक्क ट्याक्क गरेर कराएको छ, लौन के गर्ने होला?’ स्थानीयका डर, माया र आशा भरिएको प्रश्न प्रायःजसो फोनमार्फत सुनिरहन्छु। उनीहरूको चासो घाइते लाटोकोसेरो र हुचिल कसरी उद्धार गर्ने भन्ने नै हुन्छ।
सकेसम्म नजिकै भए आफैं पुग्छु, नसके साथीहरूलाई भन्छु। र त्यो पनि नसके चिडियाखाना, वन कार्यालय, वार्डेन कार्यालय आदिमा खबर गर्न भन्छु। अहिलेसम्म तीनवटा घटनाबाहेक सबै लाटोकोसेरो सकुशल आफ्नै वासस्थानमा फर्किएका छन्। सो सङ्ख्या करिब १०० पुग्न आँटेको छ।
यसरी लाटोकोसेरोलाई उद्धार, पुनःस्थापना गर्दा विशेष तालिम चाहिन्छ। उपकरण चाहिन्छ। आर्थिक स्रोत चाहिन्छ। कानुनी आधार चाहिन्छl राख्ने स्थान चाहिन्छ। तर हामी वर्षौदेखि यी सबै नहुँदा पनि यो काम गरिरहेका छौँ। कहिलेकाहीँ लाग्छ राम्रो काम गर्न केही पनि चाहिँदैन क्या हो! आफैंले आफूलाई राम्रो भन्दा किन यस्तो भन्यो भन्ने लाग्ला। अरूको उद्धार गरेर जीवन दिनु राम्रो काम हैन त!
'एकपटक धादिङ सदरमुकाम नजिकै उद्धारको प्रयास गर्दा ‘पोखरादेखि आएर उद्धार गर्नु भएको छ। पैसा त निकै कमाइन्छ होला नि!’ स्थानीयले यस्तो प्रतिक्रिया दिएका थिए। तर त्यतिखेर म धादिङमा नै काम गर्थेँ। स्थानीयको यो बचन मुटुमा अहिलेसम्म पनि बिझिरहन्छ।
कहिलेकाहीँ हामी उद्धारकर्मी आपसमा छलफल गर्छौं। संरक्षणकर्मी ऋषि बरालको यो वाक्यले लामो समयसम्म काम गर्ने ऊर्जा दिइरहन्छ ‘आ…. छोड्नु दाइ, भन्नेको मुख कसले टाल्न सक्छ र! यस्तो काम गर्दा चराले हामीलाई कति आशिष दिन्छ होला।' हुन् पनि हो, उपचार गरेर चरा उडेपछि आनन्द लाग्छl अस्पतालबाट ठूलो रोगको सफल उपचार गरेर हामी घर फर्के जस्तो। तिनको उद्धारमा भएको व्यक्तिगत खर्च, समय, अनि मानिसको बचन सबै पाखा लाग्छन्। सन्तुष्टि नै यो क्षेत्रको सबैभन्दा ठूलो आम्दानी रहेछ।
मानिसलाई उपचार गर्ने अस्पताल छन्, तर लाटोकोसेरो घाइते हुँदा जाने ठाउँ छैन। यी अबोध प्राणीसँग मृत्यु कुर्नेबाहेक कुनै विकल्प हुँदैन। यिनीहरू कहिले जालीमा पर्छन्, कहिले गुँडबाट खसेर घाइते हुन्छन्, कहिले कागले लखेटेर रगताम्मे हुन्छन्। कहिले अवैध व्यापारको क्रममा सरोकारवाला निकायले समात्दा तनावमा हुन्छन्। गुलेलीले घाइते हुन्छन्। गुँडमा गएर समाउने, पासोमा पार्ने त कति हो कति।
यस्तो बेला यिनलाई माया, स्याहार र उपचारको आवश्यकता हुन्छ तर उपचार नेपालमा छैन भन्दा पनि हुन्छ। लौन उपचार गर्ने व्यवस्था गर्नुपर्यो भने उही प्रश्नले जहिले पनि दुःख मात्र दिन्छ ‘मानिसहरू जीवनजल नपाएर मरेको देशमा चराको उपचार।’ मानिसको पनि उपचार गरौँ, यी अबोध पक्षीको पनि उपचार गरौँ न। किन राम्रा कामहरूलाई पश्चिम नेपाल भन्दै रोकिन्छ कुन्नि!
पछिल्लो समयमा सबै प्रदेशमा वन्यजन्तु उद्धार र पुनःस्थापना केन्द्र स्थापनाको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एन २०२९ को पाँचौँ संशोधनले बाटो खोलिदिएको छ। प्राविधिक रूपमा हामी कमजोर छौँ। त्यसैले वन्यजन्तुको उद्धार र पुनःस्थापना गर्न प्राविधिक तालिम पनि अति आवश्यक छ।
नेपालबाट मात्रै वार्षिक करिब दुई हजार लाटोकोसेरो बेचिने वा मारिने गरेका छन्। यो १० वर्ष अघिको तथ्याङ्क होl यसका लागि देशभरी ३२ वटा अवैध बाटा र भारत-चीन सीमाका १४ वटा नाका पहिचान भएका छन्। भारतमा तान्त्रिक र चीनमा परम्परागत औषधिको लागि यिनको अत्यधिक प्रयोग हुने गरेको छ। खुल्लम खुला हुने यस्तो व्यापारमा कमी आए पनि रोकिएको छैन।
सन् २००८ मा लमजुङमा ‘लाटोकोसेरो पाल्न पाइँदैन र, पाइन्छ होला’ भन्ने डिभिजन वन कार्यालयले त्यसपछि थुप्रै लाटोकोसेरो र हुचिलको उद्धार गरेर सकारात्मक परिवर्तन भएको सङ्केत गरिसकेको छ। डिभिजन वन कार्यालय काठमाडौँले पनि धेरै उद्धार र पुनःस्थापन गरेको छ।
तर पुनःस्थापनाको नाउँमा फोटो खिचेर जबर्जस्ती सेलिब्रेटी हुने चलन पनि बढ्दो छ। यो चराको हितमा छैन।
यिनको अनुसन्धान र संरक्षणमा ठूला गैरसरकारी संस्था मौन बस्नु बुझी नसक्नु छ। तर नेपाल सरकारले तयार पार्दै गरेको लाटोकोसेरो कार्ययोजनाले यी चराहरूको संरक्षणमा नेपाल सरकार लागेको प्रस्ट हुन्छ।
लाटोकोसेरो के हो?
चराहरू भन्ने बित्तिकै प्वाँख भएका, दुई खुट्टे उड्न सक्ने जीवलाई बुझिन्छ। संसारभरी पाइने करिब १० हजार ५० प्रजातिका चराहरूमध्ये हालसम्म नेपालमा ८ सय ८७ प्रजातिको अभिलेख गरिएको छ। लाटोकोसेरो पनि चरा हो।
अन्टार्कटिका महादेशबाहेक सबै क्षेत्रमा अभिलेख गरिएका करिब २२५ प्रजातिका लाटोकोसेरोहरूमध्ये नेपालमा हालसम्म २३ प्रजाति पाइएको छ। सन् २००८ मा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा गरिएको अध्ययनका क्रममा तीन प्रतिशत स्थानीयले त यसलाई चरा नै होइन भनेका थिए।
लाटोकोसेरो तराईदेखि हिमालसम्म पाइन्छन्। वन, पहरा, घाँसे मैदान, कृषि क्षेत्र, बस्ती र सबै खालको वासस्थानमा भेटिने गर्दछन्। यिनीहरू सिकारी वर्गका मांसाहारी चरा हुन्। आँखा र कान असाध्यै शक्तिशाली हुन्छन्। साना प्रजातिहरूलाई लाटोकोसेरो भनिन्छ भने ठूला हुचिल, भुन्द्रुङ र हाप्सिलो आदि नामले चिनिन्छन्।
यिनीहरूको आँखा मान्छेका जस्तै अगाडि फर्किएको हुन्छ। यिनीहरूले आफ्नो टाउकोलाई एकै दिशामा २७० डिग्रीसम्म घुमाउन सक्छन्, जबकि मानिसले मात्र ९० डिग्रीमात्रl यिनीहरू राति बढी सक्रिय हुने भएकाले सुन्ने क्षमता पनि सोहीअनुरुप विकास भएको हुन्छ, जुन मानिसभन्दा १० गुणासम्म बढी हो।
यिनले हामीलाई कसरी फाइदा पुर्याउँछन्?
यिनीहरू सिकारी चरा हुन्, त्यसैले अरूलाई मारेर खान्छन्। यिनीहरूले सर्प, भ्यागुता, मुसा, छुचुन्द्रो, गँगटा, गड्यौला, किराफट्यांग्रा, माछा, माउसुली, छेपारो, चमेरा, माकुरा, शंखेकिरा, लोखर्के, फ्याउरो, मलसाँप्रो र खरायो आदिलाई आहारा बनाउँछन्। ठूला लाटोकोसेराहरूले साना लाटोकोसेरालाई मारेर खाएको समेत अभिलेख गरिएको छ।
यिनीहरूले बिरालो र न्याउरी मुसा तथा तिनका बच्चालगायत अन्य साना स्तनधारी जीव पनि सिकार गर्छन्। एक अध्ययनका अनुसार गोठे लाटोकोसेरोको एउटा परिवारले फुल (अण्डा) पारेर, कोरल्दै चल्लालाई उड्ने बनाउने बेलासम्मको एक सिजन (करिब ४ महिना) मा २,००० देखि ३,००० वटासम्म मुसा खाने गरेको भेटिएको छ। मुसा खाएर अन्नबाली जोगाउने भएकोले यिनलाई किसानको साथी पनि भनिन्छ।
यिनीहरूको उपस्थितिले प्रकृतिको अवस्था, पर्यटन वृद्धि, अध्ययन र वातावरण सन्तुलन आदिमा अहम् भूमिका खेल्छन्। यिनलाई देवी लक्ष्मीको वाहन समेत मानिन्छ। यिनै फाइदाको बारेमा सर्वसाधारणलाई जानकारी गराउन फेब्रुअरी महिनाको पहिलो शुक्रवार र शनिवार ‘नेपाल लाटोकोसेरो तथा हुचिल’ उत्सव समेत हुने गर्दछ।
अन्त्यमा
श्रावण १९ (अगस्त ४) गते विश्वव्यापी रूपमा ‘विश्व लाटोकोसेरो सचेतना दिवस’ मनाइँदैछ। त्यो दिन आज होl संसारभरीका स्वयम्सेवकहरूले यिनको संरक्षणका लागि कार्यक्रमहरू गर्दैछन्। हामी पनि एउटा प्रण गरौँ ‘आजदेखि म लाटोकोसेरोलाई हानी हुने कुनै काम गर्दिनँ।’
सन्दर्भः विश्व लाटोकोसेरो सचेतना दिवस
लाटोकोसेरोसँग सम्बन्धित अन्य लेखहरु
घाइते लाटोकोसेरो र हुचीलको उद्दार कसरी गर्ने?
लाटोकोसेरोको आत्मकथा! तिहारमा पूजा गर्छौ र दुःख पनि किन दिन्छौ?
भव्य विदाइको तयारीमा एलाइस- एउटा लाटोकोसेरो, जसको साइनो नेपालसँग पनि जोडिएको छ
उल्लुदेखि जंगली बँदेलको अचारसम्म : अनलाइनबाट भइरहेको छ वन्यजन्तुको अवैध व्यापार
आज अन्तर्राष्ट्रिय लाटोकोसेरो सचेतना दिवस : लाटोकोसेरो सम्बन्धी रमाइला जानकारी
विश्व भ्रमण गरिरहेकी 'भाग्यमानी गुडिया'को नेपाल यात्रा
उल्लु उत्सव गर्न खोज्दा झण्डै उल्लु भइयो
लाटोकोसेरोको के के छ मान्छेसँग मिल्ने गुण? थाहा पाउनुस् लाटोकोसेरोबारे केही तथ्य