काठमाडौं: गत जेठ ३० गते तीन जना भारतीय नागरिक पोखरा महानगरपालिका ८ पृथ्वीचोकमा रहेको होटेल कोसी एन्ड रितिक रेस्टुरेन्ट पुगे। भारतीय नागरिक सञ्जय शर्मा, चितरन्जन र अन्य एक जना थिए। उनीहरुले होटेलमा नै रात बिताए। त्यसपछि बिहानै होटेलबाट निस्किए।
होटेलमा कति बजे इन्ट्री गरे? कति बजे आउट भए? उनीहरु को थिए? कता गए केही खुलेन। त्यसको झन्डै एक महिनापछि होटेल सञ्चालिका ममतादेवी महतो प्रहरीको अनुसन्धान घेरामा परिन्। प्रहरीको अनुसन्धानबाट के खुल्यो भने होटेलमा बस्न आएका तीन जना गत असार १ गते कालिका चोकबाट हराएर २५ दिनपछि जंगलमा मृत फेला परेकी २७ वर्षीया लक्ष्मी परियारको हत्यामा संलग्न थिए। घटनाका मुख्य योजनाकार भने लक्ष्मीका पति रमेश नेपाली भएको खुलेको थियो।
पति नेपालीको योजनामा सञ्जयले भारतबाट १० लाख रुपैयाँ सुपारी लिएर मार्न बोलाएका भारतीय नागरिकलाई पोखरा बोलाएर होटेलमा राखेका थिए। तर होटेलमा उनीहरुको इन्ट्री र विवरण भने प्रहरीले फेला पार्न सकेको थिएन। जेठ ३१ गते रमेश नेपालीले सञ्जयलाई १ लाख रुपैयाँ दिए। हत्या गर्ने स्थान खोज्नको लागि पोखरा २२ स्थित कर्कले जङ्गलमा रमेश, सञ्जय, चितरन्जन र तीन जना भारतीय पुगेर फर्किएको अनुसन्धानमा खुलेको थियो।
गत मंगलवार प्रहरीले ममतालाई नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। होटेलमा कुनै रेकर्ड नराखी गेस्ट राखेको अभियोगमा कारवाहीको लागि प्रहरीले सिफारिस गरेको हो। 'होटेलमा कुनै पनि रजिस्टर नहुँदा अनुसन्धानमा समस्या आउने गरेको छ। उहाँले त झनै रजिस्ट्री नै गर्नु भएन यो कानुन विपरित हो,‘ जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर गणेश सुवेदीले भने।
ममताको घटनामा कुनै संलग्नता भएर कारवही गरेको होइन। केवल उनले कानुनलाई परिपालन नगरि रजिस्टर नगरेकाले कारवाहीको भागिदार बनेकी हुन्।
होटल व्यवसाय तथा मदिरा बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३ को दफा ५ को उपदफा १(क) मा होटेल मालिकले होटेलमा आएका ग्राहकको नाम, नागरिकता, पेशा, आएको मिति र ठेगना समेत राख्नु पर्ने उल्लेख गरेको छ। तर अहिले धेरैजसो होटेलले विवरण समेत नराख्ने गरेकाले यस्ता समस्या आउने गरेका छन्।
सम्बन्धित समाचार