PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डेढ महिनाअघि रिचार्ज कार्ड किन्दा दिएको नोटले खुलाएको नक्कली नोटको धन्दा



एम बम

डेढ महिनाअघि रिचार्ज कार्ड किन्दा दिएको नोटले खुलाएको नक्कली नोटको धन्दा

कैलालीः जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला अदालत कैलाली नजिकै एक व्यापारी खुद्रा तथा रिचार्ज कार्डको व्यापार आएका छन्। करिब डेढ महिनाअघि उनले १ हजारको एउटा नोट प्रहरीलाई बुझाए। उनलाई १ हजारको नोट कसले थमायो भन्ने उनलाई थाहा भएन । तर उनी त्यो नक्कली भएको थाहा पाउनासाथ प्रहरी गुहार्न पुगेका थिए।

उनले नक्कली नोट दिएपछि प्रहरीले त्यसबारेमा अनुसन्धान थाल्यो। त्यसको केही दिनपछि साउन ३ गते प्रहरीले २ जना भारतीय नागरिक भारतको लखिमपुर खिरी बस्ने श्रवणकुमार सिंह र सोही ठाउँका गुरुजित सिंहलाई धनगढीबाटै नक्कली नोटको कारोबार गर्दै गर्दा ४० हजार ९ सय भारतीय रुपैयाँसहित पक्राउ गर्‍यो।

त्यसपछि फेरि साउन १५ गते कैलालीको कैलारी गाउँपालिका ५ घर भई धनगढी १ बस्ने ३४ वर्षीय छेदुराम चौधरी डगौरालाई पनि प्रहरीले नक्कली रुपैयँकै कारोबार गरिरहँदा पक्राउ गर्‍यो। उनी धनगढीस्थित सेती अञ्चल अस्पतालको फार्मेसीमा १ हजार दरका १७ नोटलाई ५ सयमा चेन्ज गर्न भनेर पुगेका थिए। घर निर्माण भइरहेको भन्दै मजदुरहरूलाई दिन भनी रकम साट्न गएका उनीमाथि शंका लागेपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थाल्यो।

अनुसन्धान गर्दै जाँदा चौधरीको बयानबाट प्राप्त सूचनाका आधारमा धनगढीमा नक्कली नोट छाप्ने कार्यका मुख्य नाइके खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवारलाई साउन १७ गते पक्राउ गर्न प्रहरी सफल भयो। उनी नक्कली नोट छाप्ने मेसिन खरिदका लागि पैसाको बन्दोबस्त, नक्कली नोट तयार पार्ने र त्यो नक्कली रुपैयाँ सटहीका लागि ग्राहक खोज्ने काममा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। उनी कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको नैनादेवी मन्दिर नजिकै कोठा भाडामा लिएर बस्दै आएका थिए। उनले पैसा छाप्ने काम पनि कोठामै गर्ने गरेको पाइएको छ।

उनीसँगै प्रहरीले चुरे गाउँपालिका १ घर भई धनगढी ३ बस्दै आएका भोजबहादुर बमलाई पनि पक्राउ गर्‍यो। उनको पनि पैसा बनाउनेदेखि अन्य सहयोगी भूमिका रहेको पाइएको छ। त्यसको एक दिनपछि पैसा सटहीमा सक्रिय भूमिका खेलेका धनगढी ३ कै पल्लपराज भट्टलाई समेत प्रहरीले पक्राउ गरेको छ।

नक्कली नोट छाप्ने कार्यमा सबैभन्दा ठूलो भूमिकामा रहेका महोत्तरीको बर्दिबास नगरपालिका ६ का गोकुलबहादुर खड्कालाई भने सिआइबीको टोलीले साउन २१ गते काठ्माडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले शुक्रवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए। खड्कालाई पक्राउ परेकाहरूले दिएको सूचनाका आधारमा सिआइबीलाई खबर गरेपछि पक्राउ गरिएको हो।

कसरी बन्यो योजना ?

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार बर्दिबास नगरपालिका वडा नम्बर–६ का गोकुल खड्का गत फागुन अन्तिम साता धनगढी आइपुगे। आइटी सम्बन्धी १८ महिने कोर्स गरेका खड्का विगतमा नक्कली प्रमाणपत्र र अन्य नक्कली उपकरण बनाउने काममा सक्रिय रहेको पनि पाइएको छ।

उनी धनगढी पुगेपछि खगेन्द्र बमसँग उनको भेट भयो र नक्कली नोट छाप्ने योजना बन्यो। त्यसपछि बमले ब्रदर कम्पनीको फोटोकपी मेसिन खरिद गरे र नक्कली नोटहरू छाप्ने काम सुरु गरे। धनगढी उपमहानगरपालिका वडा नम्बर–१ नैनादेवी मन्दिरको नजिकै एउटा कोठा भाडामा लिएर उनीहरूले सुरुमा नेपाली ५ सय र १ हजारका नोट फोटोकपी गर्ने (छाप्ने) काम थाले।

उनीहरूले नेपाली नोटहरू छापेर बिक्री गर्न सफल भएपछि भारतीय नोटहरू पनि छाप्न थाले। त्यसको १ महिनमा १३ लाख हाराहारीका नक्कली नोट छापेपछि खड्का काठ्माडौं हिँडे। उनी काठ्माडौं हिँडेपछि पैसा छाप्ने जिम्मा पाएका बमले हालसम्म १० लाख बराबरका नक्कली नोट छापिसकेको बयान प्रहरीसमक्ष दिएका छन्।

प्रहरीले उनीहरूका साथबाट खोटा नोट छाप्न प्रयोग गरिएको एक थान ब्रदर कम्पनीको मेसिन, नोट छाप्न प्रयोग भएको २ सय २० थान ए–३ डबल साइजको सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट बरामद गरेको छ। पैसा छापेर काट्न बाँकी रहेको नेपाली ५ सय दरको ९८ थान नोट, ५ सयकै भारतीय ८६ थान नोट, भारतीय ५ सय दरको पछाडिको भाग छापिएको ४ थान नोट बरामद गरिएको छ।

यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० वटा नोट, पछाडिको भाग मात्र छापिएको ५ सयकै ८ वटा नोट, पाँच सयकै पछाडिको भाग छापिएको १२ नोट बरामद गरिएको प्रहरीले जनाएके छ। त्यस्तै एक हजारका नेपाली ६८ नोट समेत बरामद गरिएको डीएसपी बस्नेतले बताएका छन्।

प्रहरीले विभिन्न हिसाब किताब लेखिएको डायरी, स्टिलको कैँची, एक थान स्केल, एक थान मोबाइल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्ट्याम्प पनि बरामद गरेको छ।

खोटा मुद्रा बनाएमा यस्तो छ सजाय

मुलुकी अपराध संहिता २०७४ अनुसार खोटा मुद्रा बनाए ५ वर्षदेखि १० वर्षसम्म कैद तथा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। यसैगरी खोटा मुद्रा चलन गर्ने गरेको प्रमाणित भए ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँ सम्म जरिवाना तिर्नुपर्ने व्यवस्था समेत अपराध संहिता २०७४ ले गरेको छ।

यो सङ्गठित अपराधसँग समेत सम्बन्धित भएकाले उनीहरूलाई सङ्गठित अपराध गरेको प्रमाणित भए मुलुकी ऐनले निर्दिष्ट गरेको सजायमा थप ५० प्रतिशत बढी सजाय भुक्तानी गर्नु पर्ने व्यवस्था मुलुकी ऐन २०७२ ले निर्दिष्ट गरेको छ।

उनीहरूले हालसम्म २३ लाख नक्कली नोट छापेको स्वीकार गरे पनि बजारमा त्योभन्दा बढी रकम रहेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भएकाले अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell