PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


जँड्याको लिस्ट बनाउनुपर्ने माग गर्ने विडारीलाई प्रश्न : तपाईँ चाहिँ पिउनुहुन्छ कि नाई?


कुञ्जरमणि भट्टराई

 जँड्याको लिस्ट बनाउनुपर्ने माग गर्ने विडारीलाई प्रश्न : तपाईँ चाहिँ पिउनुहुन्छ कि नाई?

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीका पछिल्ला अभिव्यक्ति सामाजिक संञ्जालमा भाइरल नै छन्। संसदमा उनले उठाएका विषयवस्तुमात्र नभइ प्रस्तुतीकरणको शैलीले पनि चर्चा बटुल्छ। कटाक्ष गर्दै ठूलो आवाजमा हाउभाउका साथ प्रतिपक्षी दलका सांसद झैँ प्रस्तुत हुने गर्छन, उनी। वरिष्ठ अधिवक्ता समेत रहेका सत्तारुढ दलका सांसद बिडारी संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति सभापति पनि हुन्। वरिपरि व्याप्त समस्यालाई आकर्षक रुपमा प्रस्तुत गर्दै आएका सांसद बिडारीसँग कुञ्जरमणि भट्टराईले गरेको कुराकानी :

यहाँका पछिल्ला भाषण त सामाजिक सञ्जालमा भाइरल नै भए नि?

संविधानसभा २०७० मा सांसदको रुपमा आएँ। त्यसपछिका चार वर्षमा खासगरी संविधान निर्माणका विषयमा मैले कुरा उठाएँ जुन महत्वपूर्ण थिए। बहुत चोटिला कुरा थिए। संविधान बनाउनकै निम्ति आएको। म चाहिँ संविधान मस्यौदा कार्यदल समितिको १५ जना भित्रै थिएँ। त्यसमध्येबाट पनि संविधान मस्यौदा विज्ञ समितिको पाँच जनामा पनि म थिएँ। तर, ती बेलामा मैले बोलेका कुरा भाइरल, प्रचार भएन। किन भने युट्युब र ट्वीटरको खासै पहुँच थिएन। संविधानसभाले पनि अडियो दिन्थ्यो। भिडियो साह्रै थोरै। बल्ल बल्ल लिनुपर्ने।

 

कुरा त कडा कडा उठाउनुहुन्छ त?

मैले अहिले त्यस्ता भयंकर ठूला कुरा त गरेको त होइन। आफ्नो आँखाले देखेका, आफूले भोगेका, हाम्रो समाजमा व्याप्त कुरा तर सरकारले नदेखेको, देखेर पनि नगरेको कुरा गरेको हुँ।

सरकार भनेर मैले यही सरकारलाई मात्र होइन। युगयुगदेखि सरकारले नगरेको, सामान्य भन्दा सामान्य काम पनि नगरेको, सोच नै गलत भएको। बाटो बनाउनुपर्छ भन्ने सोच भएको तर फुटपाथ बनाउनुपर्छ भन्ने सोच नभएको। मोटरमा हिँड्ने मान्छेलाई सम्मान गर्नुपर्छ, फुटपाथमा हिड्नेलाई अपमान गरे पनि हुन्छ भन्ने बुझाई भएको।

अनि भट्टीमा युवालाई रक्सी खान छोडदिने। प्रत्येक गल्लीगल्लीमा भट्टी खोल्ने। पसल पसलमा रक्सी हुने। राम्रा सीप भएका युवा जति विदेश जाने। रक्सी, स्म्याक, गाँजा खाने युवाजति नेपालमा बसेका छन्। यस्तो दुर्दशा देखेर कुरा उठाएँ।

यस्तो नीति किन नबनाएका भन्दा सबै नेता जाँड खाने भएर हो? किन नबनाएको? सबै कुराको समय हुन्छ। जाँड खाने, पुजा गर्ने ठाउँ समय होला। ठाउँ होला। यो देखेर भोगेका कुरा भन्दा कतिलाई हाँसो पनि उठ्यो होला। कतिलाई रीस पनि। कतिलाई गम्भीर लाग्यो होला।

यहाँले कुरा उठाइरहँदा राष्ट्रिय सभाका सांसदहरु सधैं रमाइरहेको देखिन्छ। मनोरञ्जन दिए झै लाग्नेगरी।

मलाई एउटा समस्या छ। कडा कुरा भन्नु छ। उनीहरुकै विरुद्धमा भन्नु छ। अनि रीस उठ्ने गरी भन्दा त कानले नखप्ला। अनि अर्कै विद्रोह होला। मेरो नीति भनेको उनीहरुको कानले खप्ने गरी भित्रसम्म पुर्‍याइदिने। उनीहरुलाई तत्काल चोट परेको अनुभव नहुने। भन्न पनि तरिका अपनाएर भन्नुपर्‍यो नि त।

 

संसदमा प्रस्तुत गर्ने विषयहरुको छनोट चाहिँ कसरी गर्नुहुन्छ?

मैले उठाउने विषय पहिल्यै छानेर गएको हुँदिन। देखेका, भोगेका कुरा नै हुन्छन्। एक दिन मैले मासुको विषयमा कुरा उठाएको थिएँ। त्यो दिन मैले मासुको विषयमा बोल्छु भन्ने सोचेको थिइन। एकजना सांसदले मासुको विषयमा बोल्न पाए हुने भन्ने कुरा गर्नुभयो। तर, त्यो कुरा उठाउन आफूसँग आइडिया नभएको सुनाउनुभयो। मैले त्यही विषय उठाएँ। मासुको अवस्थाबारे मलाई राम्रो ज्ञान थियो। इण्डियाको नाकाबाट बुढा भैसी, दुब्ला राँगा कसरी ट्रकबाट ल्याइन्छ आफ्ना आँखाले देखेको। यातना दिएर ल्याइएका ती बुढा भैँसीलाई काटेर कसरी सडकमा फोहोरमा लतपतर पारिएको छ। अनि त्यो मासु जनतालाई खुवाउने? मानवअधिकारको दृष्टिकोणले पनि अपराध हो त्यो।

मासु जाँच ऐन भनेर बनाएको दशकौँ भइसक्यो। त्यो कार्यान्वयन पनि नगर्ने। स्लटर हाउस, पशु बधशाला नबनाउने।

२००२ मा म इटाली गएको थिएँ। मिठाइ पसल भनेर छिरेको मासु पसल रहेछ। त्यहाँ मासुलाई चकलेट जसरी राखिएको छ। म त त्यतिबेलाको कुरा गर्दैछु। के हाम्रो नेताहरुले त्यो कुरा देखेका छैनन? देख्छन्। आउँछन्। तर, गर्दैनन्। यी नेताहरुलाई किन विदेश पठाउने? यी कर्मचारी राष्ट्रसेवकहरु लाई पनि विदेश पठाउनु के काम? गएपछि त सिकेर आउनुपर्‍यो नि।

त्यस्तै मैले उठाएको बाटोको विषय, पेट्रोलमा करको विषय। आफूले देखिएको छ। भोगिएको छ। विषय उठाउन केही गाह्रै छैन।

जँड्याको लिस्ट बनाउनुपर्छ भन्ने विषय नि जोडदार रुपमा उठाउनुभयो नि?

मैले जड्याहाको मात्र कुरा गरेको हैन। मानिसहरुले यो कुरालाई मात्र हाइलाइट गरे। नेपालका युवापुस्ताहरु बिग्रिए। कुलतमा फसे। कुलतमा फसेर बिग्रिएका युवाजति नेपालमा बस्ने। सीप भएका युवा चाहिँ विदेश जाने। मरीमरी काम गर्ने, पसिना बगाउने, श्रम बेच्ने। विदेश बनउने। यो कुरा सरकारले देखेको छ कि छैन? सरकारले देखेको भए नियन्त्रण गर्नुपर्‍यो। झिंगाको टाउकोबाट बनाइएको हिरोइन, स्म्याक, ब्राउन सुगरमा युवालाई फसाइयो। सरकार के गरिरहेको छ? मैले त्यो दिन बोलेको कुरा।

अनि औषधी पसल, मन्दिर, विद्यालयको ढोकमा रक्सी। जहाँसुकै रक्सी बेच्ने? रक्सी कहाँ खाने, कसले खाने, कति खाने भन्ने कुराको नीति चाहिएन? मदिरा ऐन २०३१ सालमा बनाइएको छ। अझै लागू हुँदैन। त्यतिमात्र हो र? मदिराको लाइन्सेस नदिनु भनेको छ संसदले। यस अघिको सरकारले निर्देशन दिएको छ। तर, लाइसेन्स बनाइएको छ छैन? त्यसकारण रक्सी जोन बनाउनुपर्छ। रक्सी खाने उमेर तोकियोस्। रक्सी खाने समय तोकियोस्। रक्सी नियमन गरियोस् भनेको हुँ।

 

पहिलेका सरकार, दरबार र शोषकले जानीजानी युवाहरुलाई कुलतमा फसाउँथे। किनकि युवा कुलतमा फसेनन् भने शासन कसलाई गर्ने? जेलमा लगेर कसलाई थुन्ने? यो शोषक, शासक सरकारले गर्थे। अझ निरंकुश शासकहरुले हिरोइन स्म्याक ख्वाएर युवाहरुलाई राजनीत र पढाइमा जान नदिने। अहिलेको सरकाले त्यसो गरेको छ भनेको होइन मैले।

रक्सी खानै हुँदैन भनेको होइन नि मैँले। यसका राम्रा पक्ष पनि छन। कतिपय औषधीमा अल्कोहल हुन्छ।

रक्सी खानु भन्नु र जड्यहा भन्ने कुरा पनि फरक छन्। जड्याहाहरुले महिला हिंसा गर्छन, रात्री अपराध गरिरहेका छन्। बलात्कार बढेको छ। बाबुले छोराको, छोराले बाबुको हत्या गरेको छ। रक्सीका कारण यस्ता घटना बढेका छन्।

त्यसकारण रक्सी खानेको लिष्ट बनाउँ भनेको। लिष्ट भएपछि कसले रक्सी खान्छ? रक्सी कतिबेला खाने थाहा हुन्छ। रक्सी कति मात्रामा खान हुन्छ थाहा हुन्छ।

रक्सीको कुरा गरिरहँदा तपाईँ चाहिँ रक्सी खानुहुन्छ कि खानु हुन्न?

यसमा तीनवटा कुरा छन्। पहिलो कुरा त ब्राह्मणको छोरा भएकाले रक्सी खाने इजाजत थिएन। ब्राह्मण परिवार जन्मिएकाले रक्सी खान पाइँदैनथ्यो। यो २०–२२ वर्ष रहिहाल्यो। त्यस पछाडि म कम्युनिष्ट पार्टीको कार्यकर्ता भएँ। रुपचन्द्र बिष्टसँग संगत भयो। कम्युनिष्टले रक्सी खान हुँदैन भन्ने थियो। राजनीति गर्नेले रक्सी खानुहुँदैन भन्ने थियो।

जब म वकालत पेशामा आएँ। पैसा कमाउन पनि थालेँ। सामन्त, टाढाबाठा, जान्नेसुन्ने हुँ भन्नेहरुसँग पनि घेटघाट हुन थाल्यो। उता बा आमाको पनि मृत्यु भयो। कम्युनिष्ट आएपछि जातभातका कुरा पनि गइहाल्यो। त्यसपछि मैले केही समय रक्सी खाएँ। कुनैकुनै दिन मात्तिएँ पनि होला। सधैँ होइन। बेहाल भएर त हिँडिन।

अहिले त कस्तो समस्या छ। खान्न भनूँ, खान्छु। खान्छु भनुँ मैले रक्सी खाएको थाहै पाउनुहुन्न। कारण मेरो मजबुरी पनि हो। रोग पनि लाग्या छ। डाक्टरले नखानु भनेको छ। अल्कोहल खानै नहुने चिज होइन। रक्सी खाएका सबै मानिसहरुलाई बदमास भनेको छैन। रक्सी खाएर जड्याहा बनेर अपराध गरेर हिँडेकालाई नियमन गर्नुपर्छ भनेको।

 

तपाईँले उठाएका कुराले कति न्याय पाएको छ त?

सरकारले सबै काम गर्न सक्छ भन्ने त छैन। सरकारले सुरु गरोस्। त्यो बाटो पट्टि लागोस् भनेको हो। जस्तो अहिले स्थानीय, प्रदेश सरकारहरुले रक्सी मासुका विषयमा अलिअलि काम सुरु गरिसकेको छ। विभिन्न ठाउँमा कार्यान्वयन भएका छन्। डिजेलमा लाग्ने भ्याट नियमन भइसक्यो। तर यति गरेर पुगेन।

यहाँ त खरो रुपमा प्रस्तुत हुनुहुन्छ। प्रतिपक्षी सांसद जस्तो हुनुभयो भन्ने प्रश्न आउँछ कि आउँदैन?

मैले यो सरकारलाई मात्र भनेको छैन। प्रतिपक्षीलाई पनि कहाँ बाँकी राखेको छु र? आजसम्म यत्रा अपराध गरेका त पहिलाका सरकारले हुन्। अहिलेको प्रतिपक्षी पहिले त सरकारमा थियो।

कहिले सत्ता पक्षका कुरा होला। कहिले प्रतिपक्षको कुरा होला। साँचो कुरा बोल्दा कहिले कता कहिले कता होला। ती कुरा ध्यान दिइँदैन। सत्य कुरा बोल्न जमर्को गरिन्छ। कहिले काहीँ कसैले भन्नु पनि हुन्छ। तपाई अलिक बहिकिएको हो कि? त्यसो होइन। कतै भ्रम परेको होला भनिदिन्छु।

मैले निष्पक्ष सक्रियताको अध्यास गरेको हुँ। सक्रिय भयो निष्पक्ष भएन भने त्यो मान्छे काम लाग्दैन। निष्पक्ष भयो सक्रिय भएन भने त्यो मान्छे पनि काम लाग्दैन। काम लाग्ने मानिस को त? निष्पक्ष सक्रियताको अभ्यास गर्ने। निष्पक्ष हुने सक्रिय रहने। थाहा दर्शनको सिद्धान्त।

मैले जन अहितकारी कुरा त म बोलेको छैन नि?

हेर्नुस पूरा भिडियो अन्तर्वार्ता : 

यहाँ त वरिष्ठ अधिवक्ता। वकालत सहज कि राजनीति?

दुवैमा स्वतन्त्र छु। राजनीतिमा पनि स्वतन्त्र रुपमा प्रतिक्रिया दिइरहेको छु। फरक त जिम्मेवारी हो। अहिले मैले कुनै व्यक्ति वा समुहको पक्षमा लागेर बोल्न मिल्दैन। मैले समग्र र बहुमतको आधारमा बोल्नुपर्छ। वकालत गर्न त्यस्तो पर्दैन।

कुनै व्यक्ति वा पक्षको लागेर बोल्नुपर्छ। यसको आचरणै फरक छ। आर्थिक दृष्टिकोणबाट म वकालत गर्दा राम्रो आम्दानी गर्थेँ। निजी आर्जन। अहिले मेरो निजी आर्जन छैन। अहिले तलबमै भर परेको छु। मलाई अहिले पनि आनन्दै आएको छ।

 

यहाँको प्रस्तुतीकरण शैली रुचाइएको पनि छ। यो शैली चाहिँ कहाँबाट सिक्नुभयो?

यो शैली? मैले कहीँ न बोल्नलाई ट्रेनिङ लिएको छु, न अन्तवार्ता दिन नै। म १३–१४ देखि खुला राजनीति गरेको मान्छे। बच्चैदेखि गाउँका समान्तसँग जुध्न थालेँ। त्यसपछि जिल्लाका सामन्तसँग जुध्न थालेँ। त्यसपछि रुपचन्द्र विष्टसँग जनमुखि राजनीतिको अभ्यास गर्न थालेँ। २०३१ सालमा विद्यार्थीको रुचाइएको नेता भइसकेको थिएँ। जनतासँग खुला रुपमा जनमुखी सभाहरु गर्न थालियो।

अहिलेको युवापुस्ताले वरिष्ठ अधिवक्ता भनेर मात्रै त चिन्छन्। म त जनताको घरदैलोमा खाली खुट्टा लिएर १९ वर्ष हिँडे। २०४८ सालमा संसदको चुनाव, जनमुखी स्वतन्त्र उम्मेदवार।

त्यतिबेला नेकपा एमालेको तर्फबाट हिरण्यलाल श्रेष्ठ उमेद्वार हुनुहुन्थ्यो। उहाँ फस्ट हुनुभयो म सेकेन्ड। त्यतिबेला म चुनावको पर्चा बेचेर चुनाव लडेको थिएँ। त्यसपछि विभिन्न पार्टीहरुमा आवद्ध हुँदै अहिले यहाँ छु। यो शैली अभ्यासबाट आएको। कसैलाई मन परे पनि नपरे पनि मेरो बानी यस्तै हो। मन पराउनेलाई मैले कृतज्ञता दिनुपर्छ। मन नपराउनेलाई सरी भन्नुपर्छ।



जँड्याको लिस्ट बनाउनुपर्ने माग गर्ने विडारीलाई प्रश्न : तपाईँ चाहिँ पिउनुहुन्छ कि नाई? को लागी १ प्रतिक्रिया(हरु)

सक्कली रुपचन [ 2019-08-10 14:39:05 ]
यो बिडारीले हुनुपर्ने हाँस्य कलाकार हो कताबाट राजनीति र वकालतमा छिरेछ । यी बिडारी अहिलेको हास्य जोकर जोकर्नीको हुलमा भए जनतालाई अरु मनोरन्जन दिने थिए कि ? यिनले हास्य कलाकार नारायण त्रिपाठीको भन्दा राम्रो अभिनय गर्छन । अनुहार र हाउभाउ पनि नारायण त्रिपाठीको झै छ । अनि यी बिडारीले रुपचनको नाम लिए पनि राजनीतिक लिस्नोमा यिनलाई चढाएको चै सुमार्गी भन्नेले हो । यी बिडारीले एकपटक संसदमा पहिले नै पटपट खुट्टा फुटेको पो जनता हुन्छ कार चढ्ने जनता हुन्छ भनेर भासन गरेका थिए । त्यसपछि जनआस्था साप्ताहिकले अनि त्यो रातो कार चढ्ने चाहिँ को हो नि भनेर समाचार लेखेको थियो यिनलाई बंग्य गर्दै । त्यतिबेला यी बिडारी रातो कार चढ्थे । यी जनताका नेता भन्ने बिडारीले त्यो रातो कार चाहिँ कताबाट ल्याएर चढे ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट