PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चोरीको टार्गेटमा सरकारी कार्यालयः पोखरामा चोरेर बसबाट बिहानै काठमाडौं



पहिलोपोस्ट

चोरीको टार्गेटमा सरकारी कार्यालयः पोखरामा चोरेर बसबाट बिहानै काठमाडौं

काठमाडौं: सरकारी कार्यालयलाई नै निसाना बनाएर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ घर भएका ५१ वर्षीय किशोर थापा र मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ का ३६ वर्षीय रूपचन्द्र गोपालीलाई नियन्त्रणमा लिएको हो। थापा लामो समयदेखि चोरीमा संलग्न व्यक्ति समेत भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

विगत एक वर्षभन्दा अघिदेखि थापाले पोखरा महानगरपालिकाका विभिन्न ११ वडा कार्यालयमा चोरी गरेको प्रहरीले जानकारी दिएको छ। वडा कार्यालयमा चोरी गर्न सजिलो हुने र सुरक्षा गार्ड नहुनाले उनको चोरीको निसानामा वडा कार्यालय नै पर्ने गरेको प्रहरीमा बयान दिएका छन्। सहरमा चोर्न सजिलो र सार्वजनिक सवारीको सुविधा समेत हुने गरेकाले सहरमा चोरी गर्दै हिँड्ने गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए।

पोखरा महानगरपालिका वडा नम्बर १० कालिकाचोक नजिकै डेरा लिएर बसेका थापा चोरी गरेको बिहानै सामान झोलामा राखेर बस चढेर काठमाडौं आउने गर्थे। चोरीको सामान सस्तो मूल्यमा कलकीमा कम्प्युटर सोलुसन नामको पसल खोलेका रूपचन्द्रले किन्ने गर्थे। प्रहरीले चोरीको सामान किनेको अभियोगमा रूपचन्द्रलाई नियन्त्रणमा लिएको हो।

थापाले पहिलो पटक २०७५ जेठ २ गते माटेपानीमा रहेको वडा नम्बर १२ को कार्यालयमा गएर चोरी गरेका थिए। त्यसपछि गत साउन २१ गते लेकसाइटमा रहेको वडा नम्बर ६ को कार्यालयमा चोरी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनले ल्यापटप, मनिटर, कार्यालयमा रहेको नगद, सिसी क्यामरा लगायतका उपकरण चोरी गर्ने गरेको देखिएको छ।

थापा यसअघि पनि चोरी मुद्दामा जेल सजाय काटेर निस्किएका व्यक्ति हुन्। चोरी मुद्दामा २०४६ सालदेखि २०५१ सालसम्म केन्द्रीय कारागार सुन्धारामा उनी कैद थिए। पाँच वर्ष जेल बसेर निस्किएपछि पनि उनी चोरीमा नै संलग्न भए। फेरि चोरीका सामानसहित पक्राउ परे। जिल्ला अदालत काठमाडौंको आदेशमा २०७१ सालमा फेरि जेल चलान भए। उनी पहिले बसेकै कारागार केन्द्रीय कागरागार पुगे। २०७४ सालमा पुनः छुटे। त्यसपछि पनि उनको चोरी शृङ्खला रोकिएन। गत सोमबार उनी पोखरामा फेरि पक्राउ परेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell