PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जम्मू-कश्मीर विवादः भारतले स्वतन्त्रता दिवस मनाइरहँदा पाकिस्तानमा भने 'कालो दिवस'



विधुर ढकाल

जम्मू-कश्मीर विवादः भारतले स्वतन्त्रता दिवस मनाइरहँदा पाकिस्तानमा भने 'कालो दिवस'

काठमाडौं: भारतले ७३ ‌औं स्वतन्त्रता दिवस मनाइरहँदा पाकिस्तानले भने भारतीय स्वतन्त्रता दिवसलाई कालो दिनको उपमा दिँदै कालो दिनका रुपमा मनाएको छ। आज भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको दिनको सम्झनामा भारतीयले देशैभरि स्वतन्त्रता दिवस मनाइरहेका छन्। तर, हिजो मात्र आफ्नो स्वतन्त्रता दिवसलाई कश्मिरप्रति ऐक्यबद्धतासहित मनाएको पाकिस्तानले भने भारतीय स्वतन्त्रता दिवसलाई आज कालो दिनको रुपमा मनाएको छ।

यसैक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो आधिकारिक ट्विटर एकाउन्टको प्रोफाइलमा कालो पोतेका छन्। उनीसँगै खान क्याबिनेटका अधिकांश मन्त्रीहरुले पनि आफ्नो प्रोफाइल फोटोमा कालो पोतेका छन्। विदेशमन्त्री शाह मोहमुद कुरेशीले, पाकिस्तानी सेनाका प्रमुखसहितले कश्मिरप्रति ऐक्यबद्धतासहित 'ब्लाक डे' को घोषणा गर्दै ट्विटरको प्रोफाइल कालो बनाएका हुन्।

यसैबीच प्रधानमन्त्री खानले भारत अधिनस्थ कश्मिर मामिलामा अन्तर्राष्ट्रिय समुदाय केही नबोली मौन बसेको भन्दै आलोचना गरेका छन्। उनले यस क्षेत्रमा मुस्लिमहरुको नरसंहार हुन सक्ने भन्दै चेतावनी दिएका छन्। भारतले कश्मिरमा १२ दिनदेखि कर्फ्यु लगाउँदै सञ्चार विच्छेद गरेको भन्दै कश्मिरमा मानवअधिकारको गम्भीर उल्लंघन भइरहेको उनले आरोप पनि लगाएका छन्।

'भारत नियन्त्रित कश्मिरमा कर्फ्यू छ। थप सैनिक परिचालन भएका छन्। अहिले यो अति सैनिकीकरण भएको नियन्त्रित क्षेत्रको रुपमा रहेको छ। आरएसएस (राष्ट्रिय स्वमसेवक संघ)का व्यक्तिहरु पठाइएको छ। मोदीको नेतृत्वमा गुजरातमा भएको मुस्लिमहरुको नरसंहार जस्तो अर्को नरसंहारको आशंका छ,' उनले प्रश्न गरेका छन्, 'के विश्वले अर्को सर्बियाको जस्तै नरसंहार र मुस्लिमहरु नश्लीय सफाया भारत नियन्त्रित कश्मिरमा देख्न चाहन्छन्?'

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिजो मात्र आजाद जम्मु-कश्मिरको संसदलाई सम्बोधन गर्दै आजाद जम्मु-कश्मिरमा हुने कुनै पनि हमला स्विकार्य नहुने चेतावनी दिएका थिए। उनले भारतले आक्रमण गर्दै हिमालय क्षेत्रमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाबाट अन्तर्राष्ट्रिय समूहलाई गुमराहमा पार्ने तयारी गरिरहेको बताएका थिए।

सम्बोधनका क्रममा उनले भारतबाट प्रहार हुने हरेक इट्टाको जवाफ पत्थरले दिने चेतावनी दिएका थिए। संसदमा आजाद जम्मु-कश्मिरका प्रधानमन्त्री राजा फारुख हैदरले कश्मिरपछि भारतले पाकिस्तानमा पनि अस्थिरता फैलाउन खोज्ने बताएका थिए।

यसैबीच एम्नेस्टी इन्टरनेसनलले जम्मु-कश्मिरमा मानवअधिकार उल्लंघनका घट्ना बढेको र झडपहरु भइरहेको दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell