PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रम ओलीले डाकेको सर्वदलीय बैठकमा सबै नेता आउँदा किन देखिएनन् वरिष्ठ नेता माधवकुमार नेपाल?



कुञ्जरमणि भट्टराई

प्रम ओलीले डाकेको सर्वदलीय बैठकमा सबै नेता आउँदा किन देखिएनन् वरिष्ठ नेता माधवकुमार नेपाल?

काठमाडौं : जुन दिन प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित बुँदा नै सार्वजनिक गरे, त्यही साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको सर्वदलीय बैठकमा उनी देखिएनन्। पूर्व प्रधानमन्त्रीहरु र पार्टीका उपल्लो तप्काका नेताहरु छलफलमा जुटेको बैठकमा आखिर माधवकुमार नेपाल किन देखिएनन् त?

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक डाकेका थिए।

बैठकमा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्, गृह मन्त्री रामबहादुर थापा, कानुन मन्त्री भानुभक्त ढकाल लगायत सहभागी रहे। सर्वदलीय बैठकमा ने क पाको वरिष्ठ नेताको दोस्रो नम्बरमा झारिएका माधवकुमार नेपाल भने अनुपस्थित हुनुलाई सबैले चासोको साथ हेरे।

कांग्रेसबाट पूर्व प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, नेताहरु कृष्ण सिटौला, विजय गच्छदार, पूर्णबहादुर खड्का उपस्थित थिए। त्यस्तै, राजपाबाट महन्थ ठाकुर, राजकिशोर यादव र समाजवादीबाट बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी थिए प्रधानमन्त्रीले डाकेको बैठकमा।

वरीयतामा तल झारेपछि तीव्र असन्तुष्ट बनेका नेता नेपाल बैठकमै नजाने गरी क्रुद्ध भएकै हुन् त?

सचिवालय बैठकमा भएका निर्णय तथा पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहेका नेपालले हिजै महासचिव विष्णु पौडेललाई सचिवालय बैठकको निर्णय पुस्तिका समावेश गर्न भन्दै लिखित असहमति पठाएका थिए।

प्रधानमन्त्रीले साँझ ५ बजेका लागि डाकेको सर्वदलीय बैठकबारे नेता नेपाललाई ढिलो गरी सवा ४ बजेमात्र जानकारी दिइएको उनका स्वकीय सचिव मोहन गौतमले बताए।

'प्रधानमन्त्री कार्यालयबाट अपरान्ह ४:१५ मा मात्र सर्वदलीय बैठकबारे खबर गर्नुभयो। अन्तिम समयमा खबर पाएकाले उहाँ बैठकमा जान सक्नुभएन,' स्वकीय सचिव गौतमले भने, 'समयमै बैठकको जानकारी नभएकाले पहिले नै अन्यत्रै भेटघाटको कार्यक्रम तय भएको थियो।'

ने क पाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा वरिष्ठ नेताको वरीयतामा रहेका नेपाललाई एकाएक अलग्याएर नेता झलनाथ खनाललाई अघि सारेपछि असन्तुष्ट बनेका नेपालले पार्टीमा भएका पछिल्ला निर्णयहरुको विरुद्धमा लिखित रुपमै ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।

विधानमा भएका व्यवस्था अनुसार पार्टीमा निर्णय नहुने गरेकाले निर्णय प्रक्रियामा सुधार गर्नुपर्ने माग गर्दै आएका नेता नेपाललाई ढिलो गरी सर्वदलीय बैठकबारे जानकारी दिनु नियोजित थियो कि संयोग मात्र? सचिवालय र पार्टीमा जिम्मेवारी दिँदासमेत नेपाल पक्षधर नेताहरुलाई बेवास्ता गरे जस्तै नेता नेपाललाई पूर्णतया पाखा लगाउन खोजिएको त हैन भन्ने आशंका हुनु स्वाभाविक हो।

बैठकमा प्रधानमन्त्री ओलीले संघीय गणतान्त्रिक व्यवस्था नै खतरामा रहेको र त्यसको रक्षाका लागि एकजुट भएर अघि बढ्न सबै राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका थिए। ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक सर्वदलीय बैठक डाकेका हुन्। पहिलो बैठकमै नेता नेपाललाई नदेखिनु र उनले असहमतिका बुँदा लिखित रुपमा नै सार्वजनिक गर्नु सायद संयोग नै हुनुपर्छ।

हुन पनि, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवादेखि महन्थ ठाकुरसम्म जान भ्याएको बैठकमा माधवकुमार नेपालमात्र जान नभ्याउनुलाई चाहिँ सबैले चासोकै रुपमा लिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell