
- राजु आचार्य-
बिरुवाको हाम्रो जस्तो खुट्टा हुँदैनन् र देखिँदैनन् पनि। त्यसो हो भने सालका रुखहरू पहाडी क्षेत्रको माथिल्लो भूभागमा कसरी पुगे त? हिजोसम्म नपाइने माइकेनिया झार तराई क्षेत्रमा कसरी मौलायो? वनमारा झार पनि कहाँबाट कसरी आई पुग्यो? यिनीहरू आफै हिँडे वा कसैले लिएर आयो?
वैज्ञानिकहरू बीउको माध्यमबाट बोटबिरुवाहरू एक ठाउँबाट अर्को ठाउँसम्म पुगेर उम्रने तथा हुर्कने कामलाई सरेको/हिँडेको भन्ने गर्छन्। यस्तो अवस्थामा माउ बिरुवा एकै ठाउँमा रहे पनि तिनका सन्ततिहरू भने पर पर सर्दै जान्छन्। औसतमा बिरुवाहरू १०० वर्षको अन्तरालमा १० किलोमिटरसम्म फैलने अनुमान गरिन्छ। केराको बोट आफ्नो जीवनमा ४० सेन्टिमिटरसम्म सर्छ भनिन्छ।
पिपलको फल खाएर न्याउली चराले अर्को ठाउँमा विष्टयाउँदै बिरुवा सार्न सहयोग गर्छl खुला ठाउँमा दिसा गर्दा गोलभेँडा, खुर्सानीको बिरुवा उम्रेको हामीले पनि देखेका छौँ। बीउहरू हावाले, पानीले, जनावरले तथा मानिसहरूले एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने गर्छन्।
बीउमात्र नभई स-साना हाँगाहरू, जराहरू वा बिरुवाका अन्य भागहरू पनि यिनैले एक ठाउँबाट अर्को ठाउँमा पुर्याउछन्। नयाँ ठाउँमा उपयुक्त वातावरण (पानी, तापक्रम, खाना) हुने बित्तिकै यिनीहरू उम्रन/सर्न सुरु गर्छन्। यसरी बोटबिरुवाहरू एक ठाउँबाट अर्को ठाउँमा सरिरहन्छन्।
यस्ता बीउहरू वा बोटबिरुवाका भागहरू केही घण्टादेखि केही वर्षसम्म पनि जीवित रहन सक्छन्। द गार्डियन पत्रिकाले १२ वर्ष अगाडि प्रकाशित लेखमा इजरायलमा पाम रुखको २००० वर्ष पुरानो बीउ उमार्न सफल भएको उल्लेख गरेको थियो।
यसअघि चीनमा भेटिएको १३०० वर्ष पुरानो कमलको बीउलाई क्यालिफोर्निया विश्व विद्यालयले सफलतापूर्वक उमारेको थियो। नेपालमा पाइने बडहर जातको डाले घाँसको बीउको उम्रने क्षमता केही दिनमा नै नष्ट हुन्छl
कुनै कुनै बिरुवा भने आफैं हिँडेकोसमेत भेटिएको छ। वैज्ञानिकहरूले उत्तरी अमेरिकातिर पाइने होर्सीटेल प्रजातिको बिरुवा हिँड्ने र उफ्रेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेको तथ्य फेला पारेका थिए। सन् २०१३ मा 'रोयल सोसाइटी जर्नल' मा प्रकाशित उक्त शोधले सो बिरुवाले बीउभन्दा पनि स्पोरमा रहेका स-साना खुट्टाहरूको माध्यमबाट आफू वरिपरिको पानीको मात्रामा परिवर्तन हुने बित्तिकै सर्ने गर्छन् भनेर उल्लेख गरेको थियो।
इक्वेडरस्थित 'सुमाको बायोस्फर रिजर्भ' मा पाम जातका रुखहरू पाइन्छन्। यिनका नयाँ जराहरू खानाको खोजीमा सर्ने गर्छन्। सन् २०१५ मा बिबिसीमा प्रकाशित सो अनुसन्धान लेखले ती बिरुवा कहिलेकाहिँ वर्षमा २० मिटरसम्म सरेको उल्लेख छ।