PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भूकम्पले गरायो राधालाई पाटनको कृष्ण मन्दिरमा प्रवेश 



सहयोग रञ्जित

भूकम्पले गरायो राधालाई पाटनको कृष्ण मन्दिरमा प्रवेश 

'यो पनि कृष्णको,

त्यो पनि कृष्णको,

सारा संसार कृष्णको,

म पनि कृष्णको'

कृष्ण जन्माष्टमीका दिन आज देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। कृष्णसँगै उनकी बालसखा राधाको नाम पनि गीतहरुमा सुनिन्छन्।

बाल्यकालदेखि सँगै रहेका यी दुई एकअर्का प्रति मोहित थिए। धार्मिक पुराणहरुमा राधा र कृष्णका अनेकौं लीलाहरुको वर्णन पाइन्छ। यससँगै कृष्णकी गोपिनीहरुको लीला पनि चर्चाको विषय हो। यद्यपि, कृष्ण र राधा मनले एक भएपनि गृहस्थ जीवन भने कहिल्यै बिताएनन्। धेरैजसो कृष्ण मन्दिरमा राधाकृष्णकै पूजा हुन्छ। तर, कृष्णलाई जीवन संगिनीका रुपमा साथ दिएकी रुक्मिणी र सत्यभामाको पूजा वा भजन खासै भएको देखिँदैन।

जनमाष्टमीका अवसरमा पाटनको कृष्ण मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ। मन्दिर दैनिक रुपमा नित्य पूजा र आरतीका लागि खुल्ने गर्छ। कृष्ण जन्माष्टमीमा भने बिहानै देखिनै मन्दिरका ढोका खुल्ला हुन्छ। राष्ट्रप्रमुख नै कृष्ण मन्दिरमा पूजा गर्न पुग्छन्। 

मन्दिरमा रहेको कृष्णको मूर्तिको तस्विर लिन पाइदैन। कृष्णको मूर्तिको दायाँ बायाँ दुई महिलाको मूर्ति छ। 

मन्दिर दर्शन गर्न पुग्ने धेरैजसोले ति मूर्ति राधाको भएको अनुमान गर्ने गर्छन्। तर, त्यसो होइन। पाटनको कृष्ण मन्दिरमा राधाको मूर्ति स्थापना नै भएको थिएन। सिद्धिनरसिंह मल्लको पालामा बनेको सो मन्दिरमा कृष्णको दायाँ बायाँ रुक्मिणी र सत्यभामाको मूर्ति रहेको बताउँछन् मन्दिरका पुजारी विष्णुधर राजोपाध्याय। 

उनी भन्छन्,' किताबमा समेत यहाँ राधा कृष्णको मूर्ति छ भनेर आउँछ। सरकारले पनि त्यही बुझेको छ। तर त्यस्तो होइन। यहाँ राधाको मूर्ति नै छैन। कृष्णसँगै रुक्मिणी र सत्यभामाको मूर्तिमात्रै छ। यो हाम्रो मौलिकता हो।'

तर, २०७२ सालको भूकम्पले भने कृष्णलाई राधासँग मिलन गरायो। भूकम्पपछि जीर्ण बनेको कृष्ण मन्दिरको पुनर्निर्माणको काम चलिरहेका कारण मन्दिरमा भक्तजनहरुलाई प्रवेश गर्न दिइएको थिएन। कृष्ण अष्टमीका दिन पनि मन्दिरमाथि भक्तजनहरुलाई दर्शनका लागि पठाउने अवस्था थिएन। तर, पूजा त गर्नै पर्यो । त्यसैले सो साल मन्दिर बाहिर नै कृष्ण जनमाष्टमी मनाइएको थियो। 

तर, कृष्णको मूर्ति त्यसरी सार्वजनिक रुपमा प्रदर्शन गर्न हुँदैन थियो। त्यसैले बजारबाट कृष्णको मूर्ति किनेर ल्याइयो। कृष्णको मूर्तिसँगै थिइन् राधा। पाटनमा कृष्णसँगै राधाको पूजा गरिएको त्यो पहिलो पटक थियो। 

राजोपाध्याय भन्छन्,' राधाको मूर्ति रहेको छ भनेर अफवाह मात्रै फैलाइयो। कृष्ण, रुक्मिणी र सत्यभामाको मूर्ति आफै प्रकट भएको हो। भूकम्पमा मूर्ति लिन जाँदा प्राय जसो ठाउँमा कृष्ण राधाकै मूर्ति थिए। रुक्मिणी र सत्यभामाको मूर्ति त कहाँ नै पाइन्छ र?  त्यसै क्रममा यहाँ राधा सहित पूजा गरियो। निर्माण सकिएपछि राधासहितको कृष्णको मूर्तिलाई मन्दिरमा स्थापना गर्यौं ।'

यसरी राधा बिहिन कृष्ण मन्दिरको पुनर्निमाणसँगै राधाको कृष्ण मन्दिरमा प्रवेश भयो। कृष्णसहित राधाको नयाँ मूर्तिलाई मन्दिरको पहिलो तल्लामा पुरानो मूर्ति राखिएको ढोका भन्दा बाहिर राखिएको छ। 

शिवको मन्दिर बनाउन चाहन्थे राजा

राजोपाध्यायको अनुसार हाल कृष्ण मन्दिरको शिलान्यास नेपाल सम्बत ७५० मा भएको थियो। सो मन्दिर एउटै पहाडको ढुंगाले बनाइएको कथन छ। त्यसबेला पाटनमा सिद्धिनरसिंह मल्लको शासन थियो। मल्लले खासमा सो स्थानमा कृष्ण मन्दिर बनाउन लागेका थिएनन्। उनले त्यहाँ मन्दिर बनाएर शिवको मूर्ति स्थापना गर्न लागेका थिए। त्यसैकालागि शिलान्यास गरेर शिवको मन्दिर बनाउन थालिएको थियो।

तर, मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको बेला ने सं ५५७  राजाले त्यहाँ कृष्णको मूर्ति स्थापना गर्ने निधो गरे। 

कारण थियो राजालाई आएको सपना। 

राजाको सपनामा भगवान कृष्ण आएर राजालाई आफू उनको दरबारको बगैँचामा पुरिएको र आफूलाई निकालेर अहिले बनाएको मन्दिरमा स्थापना गर्न भन्छन्। यस्तै आफ्नो शिरमाथि भगवान शिवको मूर्ति राख्न सपनामा कृष्णले मल्ल राजालाई आह्वान गर्छन्। फलस्वरुप सिद्धिनरसिंहले दरबारका गुरु, पुरोहित र राजजोशीसँग सपनाका बारेमा छलफल गर्छन्। 

बिहानै सपना आएकोले त्यो सत्य हुने भन्दै गुरुहरुले राजालाई बिन्ती गरे। यससँगै बगैचामा उत्खनन गरेपछि कृष्णको मूर्ति भेटियो। मूर्ति फेला परेपछि राजाले सपनामा भनेझै पहिलो तल्लामा कृष्णको मूर्ति स्थापना गर्ने निर्णय गरे। नेसं ५५७ मा कोतीहोम गरेर पहिलो तल्लामा कृष्ण सहित रुकमणी र सत्यभामा र दोस्रो तल्लामा शिवको मूर्ति स्थापना गरिएको राजोपाध्याय बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell