PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यू-१८ साफ फुटबल आयोजनाः अनुमानित बजेट १ करोड ८० लाख



पहिलोपोस्ट

यू-१८ साफ फुटबल आयोजनाः अनुमानित बजेट १ करोड ८० लाख
तस्बिर: एन्फा

काठमाडौं: दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू-१८ आयोजना गर्न अनुमानित १ करोड ८० लाख रुपैयाँ लाग्ने एन्फाले जनाएको छ।

यही असोज ३ गतेदेखि सशस्त्र प्रहरीको मैदान हलचोकमा हुने खेलमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान सहभागी हुनेछन्। प्रतियोगिताका लागि एन्फाको उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको एन्फाले जानकारी दिएको छ।
त्यस्तै एन्फाले विज्ञप्ति जारी गर्दै च्याम्पियनसिपमा १ करोड ८० लाख अनुमानित रकम लाग्ने बताएको छ। एन्फाका प्रवक्ता किरण राईले साफको अनुदान र टिकट कलेक्सनबाट बजेट खर्चको परिपूर्ति हुने बताए। प्रतियोगितामा टिकटको मूल्य २०० रुपैयाँ रहने बताइएको छ।

प्रतियोगिता असोज ३ गतेबाट सुरु हुने छ। सुरुमा पाकिस्तान पनि सहभागी हुने बताइएको भए पनि पछि पाकिस्तानले सहभागी नहुने जनाएको थियो। नेपालले पहिलो खेल असोज ३ गते माल्दिभ्सविरुद्ध खेल्नेछ। त्यस्तै, नेपालले दोस्रो खेल ५ गते भुटानसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ।
समूह 'ए' मा नेपालसहित भुटान र माल्दिभ्स रहेका छन्। समूह 'बी'मा भने बंगलादेश, भारत र श्रीलंका रहेका छन्। प्रतियोगिता असोज ३ गतेदेखि १२ गतेसम्म सशस्त्र प्रहरीको मैदानमा हुनेछ।

तेस्रो संस्करणको रुपमा आयोजना हुन गइरहेको प्रतियोगितामा नेपाल साबिक विजेता हो। नेपालले पहिलो र दोस्रो दुवै संस्करणमा भारतलाई पराजित गर्दै उपाधि हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell