PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

यू १९ क्रिकेटः अभ्यास खेलमा नेपाल पराजित



पहिलोपोस्ट

यू १९ क्रिकेटः अभ्यास खेलमा नेपाल पराजित

श्रीलंकामा हुने एसिसी यू१९ प्रतियोगिताका लागि तयारीमा रहेको नेपाली टोली श्रीलंकाको स्थानीय सिन्हानी स्पोर्ट्स क्लबसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ। वर्षाका कारण ४२ ओभरमा छोट्याएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालले दिएको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। अन्तिम बलमा आएर क्याच मिस हुँदा नेपालले खेल गुमाएको हो। नेपाललका लागि पवन सर्राफले ३ विकेट तथा  कमलसिंह ऐरीले २ विकेट लिएका थिए। त्यस्तै सूर्य तामाङ र सागर ढकालले १/१ विकेट लिए।

नेपालका लागि ओपनर पवन सर्राफले ३० रन तथा रित गौतमले ३१ रन बनाए। त्यस्तै, आशिफ शेखले सर्वाधिक ८८ रन बनाउँदा सुन्दीप जोराले ३३ रन, कुशल मल्लले १० रन, कप्तान रोहित पौडेलले ८ रन, लोकेश बमले १ रन बनाए। त्यस्तै, हरिबहादुर चौहान र भीम सार्कीले अविजित १८ र १५ रन बनाए।

एसिसी यू१९ प्रतियोगिता अगावै अभ्यासका लागि श्रीलंका पुगेको नेपाली टोलीले अन्य दुई ए डिभिजन क्लबहरुसँग पनि अभ्यास खेल खेल्ने छ।

एसिसी यू१९ प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्ने छ। 

त्यस्तै दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र तेस्रो खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्ने छ। दुई समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह  ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell