
- राजु आचार्य -
पोखरामा ‘युरोपियन युनियन फिल्म फेस्टिवल २०१९’को सुरुवात भएको छ। सृजना चोकमा रहेको मिड टावनमा सञ्चालन भइरहेको फेस्टिवलको उद्घाटनमा उल्लेख्य युवा चलचित्रकर्मी, पत्रकार, सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
पहिलो दिनको उद्घाटन सत्रमा देखाइएको ‘बेल्जियनका राजा’ हेरिसकेपछि पोखरेली वातावरणकर्मी दीपक गुरुङले चलचित्रको प्रशंसा गर्दै भने, ‘भोलि परिवार लिएर आउँछु, यस्ता चलचित्रहरूले युरोपको संस्कृतिलाई प्रतिनिधित्व गर्छ। सामाजिक सञ्जालमा समेत हेर्न पाइँदैन।'
फेस्टिवलमा ८ युरोपेली मुलुकका विभिन्न संस्कृतिले भरिएका ९ फिल्मको ३१ अगस्टदेखि २ सेप्टेम्बर (१४ देखि १६ भदौ) सम्म निःशुल्क रूपमा प्रदर्शन हुनेछन्। मध्यान १२ बजे देखि बेलुकी ५ बजे सम्म चलचित्रहरु प्रदर्शन हुनेछन्।
आयोजकका तर्फबाट डेपुटी हेड ‘जेन पेत्री’ले उद्घाटन सत्रमा भनिन्, ‘युरोपियन संस्कृतिको आदानप्रदान गर्ने हेतुले पोखरामा दोस्रो संस्करण स्वरूप यो फेस्टिवल गरिएको हो। युरोप र नेपालका जनताहरू विशेष गरी युवा बीच यस्ता चलचित्रको कारणले सांस्कृतिक सम्बन्ध थप मजबुत हुनेछ। यस्ता क्रियाकलापले बलियो पुलको काम गर्ने विश्वास लिएका छौँ। साथै सो अवसरमा बाँडिएको प्रेस नोटमा युरोपियन युनियनले संस्कृतिलाई जहिले पनि केन्द्रमा राख्ने उल्लेख गरिएको छ।