PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फूलमान बल र धनकुटे कान्छो लाई मोती युवा पुरस्कार 



पहिलोपोस्ट

फूलमान बल र धनकुटे कान्छो लाई मोती युवा पुरस्कार 

काठमाडौं : नेपाली साहित्यमा श्रृंगारिक धारको शुरुवातकर्ता मानिन्छ मोतिराम भट्टलाई। उनको जीवन छोटो रहे पनि नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा उनको ठूलो योगदान छ। उनै स्रष्टाको सम्मानमा स्थापित युवा वर्ष ‘मोती’ पुरस्कारबाट यसपटक काभ्रेका स्रष्टा फूलमान बल र धनकुटाका शंकर चापागाई (धनकुटे कान्छा) सम्मानित भए। १५४ औं मोती जयन्तीको अवसरमा संंस्कृतिविद एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गरे। नेपाल शिक्षा परिषदद्वारा आयोजित समारोहमा कवि वल र चापागाईले संंयुक्त रुपमा ५० हजार रुपैंयाँ र स्वर्णपदक पाए। 
राष्ट्रिय युवा सेवा कोषले २०४२ बाट प्रदान गर्दै आएको पुरस्कार यसबर्ष वल र चापागाईले पाएका हुन् । कथा, कविता र नाट्य विधामा कलम चलाउने वलका ‘महाभारतकी मैच्याङ’, ‘काजोल खातुन’, ‘म्हेन्दोमाया’ लगायतका कृति प्रकाशित छन् भने कविता र गजलमा कलम चलाउँदै आएका धनकुटेका ‘इतिहास निफनेर’ लगायतका कृति प्रकाशित छन् । 
कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा–साहित्यको प्रवद्र्धनका लागि मोतीरामको जस्तै कार्य गर्ने प्रतिभालाई बर्सेनि पुरस्कृत गर्दै आएको बताए। कोषका कार्यकारी सदस्य हरि शर्माले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जनाए। सो अवसरमा यसैवर्ष दिवंगत भएका १९ साहित्यकारलाई सम्झना गर्नुका साथै समस्यापूर्ति कवि सम्मेलन समेत गरिएको थियो। समस्यापूर्ति कविताका लागि संस्कृतिविद जोशीले ‘त्यो जुरेली चरीको’ शीर्षकको चार लाइन छन्द कविता दिएका थिए। त्यसैमा झन्डै दुई दर्जन कविहरुले कविता सुनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell