PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

सिस्टम ह्याक गरेर बैंक लुट्ने चिनियाँको 'मास्टर माइन्ड' को? नेपाली पनि संलग्न रहेको आशंका



पहिलोपोस्ट

सिस्टम ह्याक गरेर बैंक लुट्ने चिनियाँको 'मास्टर माइन्ड' को? नेपाली पनि संलग्न रहेको आशंका

काठमाडौँः चिनियाँहरूले प्रणाली ह्याक गरेर एटिएम बुथबाट पैसा लुटेको विषयमा नेपालीको संलग्नताको आशंका गरिएको छ।

शुक्रबार नेपाल आएका चिनियाँहरुले सरासर होटेल गएर शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म एटिएम बुथ लुट्दै हिँडेका थिए। उनीहरूले कुन बैंकको एटिएम कहाँ छ? होटलसम्म पैसा पुर्‍याउन कति समय लाग्छ? भन्ने सबै अध्ययन गरेर आएको अनुसन्धान स्रोतले जानकारी दियो।

पक्राउ परेका पाँच चिनियाँ नागरिकहरुको विच्याटमा भएको कुराकानी अध्ययन गर्दा उनीहरू १० प्रतिशत कमिसनका लागि नेपाल आएर पैसा लुट्दै हिँडेका थिए। उनीहरूले लुटेको पैसाको १० प्रतिशत कमिसन पाउँथे। अहिले सफल भएको अवस्थामा घटस्थापनालगत्तै फेरि लुट मच्चाउने योजनामा रहेको अनुसन्धानमा खुलेको छ।

उनीहरूले लुटेको पैसा चीनमा चल्दैन। त्यसैले उनीहरूले नेपालीलाई चिनियाँ वा परिवर्त्य विदेशी मुद्रामा सटही गर्नुपर्छ। लुटेको पैसा एकै पटक सटही गर्न सम्भव छैन। लुटेको रकम नेपालीलाई जिम्मा लगाएर उनीहरू आइतबार चीन फर्किने योजनामा रहेको हुनसक्ने अनुसन्धानरत एक अधिकारीले बताए।

'अर्काको देशमा आएर यस्तो खालको हाइटेक फ्रड गर्न सजिलो छैन। त्यसैले यहाँ नेपालीको संलग्नता पनि आशंका गरिएको छ' ती अधिकारीले भने, 'फोरेन्सिक टिम ल्याएर जाँच्ने काम सुरु भएको छ। केही दिनमा सबै कुरा थाहा हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell