काठमाडौंः जिल्ला अदालत कञ्चनपुरले सञ्चारकर्मी रवि लामिछाने लगायत ३ जनाविरुद्ध दिएको उजुरी अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। आज बसेको न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले उजुरी दर्ता नगर्ने निर्णय गरेको हो।
गत २०७५ भदौ ४ गते १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्गबहादुर विष्टले रवि लामिछाने र डिएसपी अंगुर जिसीले अदालतको मानहानी गरेको भन्दै उजुरी दिएका थिए। विष्टले अदालतमा दिएको उजुरी आफ्नो क्षेत्रअधिकारभित्र नपरेको भन्दै अस्वीकार भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। ‘आज बसेको इजलासले मैले गरेको निर्णयलाई नै सदर गरेको छ,‘ श्रेस्तेदार अवस्थीले भने।
सञ्चारकर्मी रवि लामिछानेले सञ्चालन गरेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा उपस्थित भएका निलम्बित डिएसपी अंगुर जिसीले आफ्नो भाइलाई अभियुक्त भनेर बोलेको लगायत विषयलाई लिएर विष्ट अदालत पुगेका थिए। विष्टले सञ्चारकर्मी रवि लामिछाने, निलम्बित डिएसपी अंगुर जिसी र न्युज २४ विरुद्ध उजुरी दिएका थिए।
गत भदौ २ गते अदालतमा उजुरी दिएका विष्टको उजुरी श्रेस्तेदारले दरपीठ (उजुरी दर्ता नगर्ने निर्णय) गरेका थिए। त्यसपछि विष्टले कानुनी बाटो प्रयोग गर्दै न्यायाधीश समक्ष उजुरी दिएका थिए। आज बसेको इजलासले श्रेस्तेदारको निर्णयलाई नै सदर गरेको हो।
सञ्चारकर्मी लामिछानेले पहिलोपटक गत साउन ९ गते डिएसपी अंगुर जिसीलाई आफ्नो कार्यक्रममा उपस्थित गराएका थिए। त्यस्तै, साउन २० गते पत्रकार खेम भण्डारीसहित जिसीलाई आफ्नो कार्यक्रममा उपस्थित गराएका थिए। पत्रकार भण्डारीले आचारसंहिता विपरीत कार्यक्रम चलाएको भन्दै प्रेस काउन्सिलमा समेत उजुरी हालेका थिए।