PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

खोटाङको जालपा गाउँको अघोषित नियमः जसले सिकाउन सक्छ राष्ट्रिय राजनीतिलाई नमूना पाठ



पहिलोपोस्ट

खोटाङको जालपा गाउँको अघोषित नियमः जसले सिकाउन सक्छ राष्ट्रिय राजनीतिलाई नमूना पाठ

  • राजु आचार्य-

विकास राईले नेपालबाट समाजशास्त्रमा स्नातकोत्तर तथा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट हुबर्ट हमफ्री फेलोसिप प्राप्त गरेका छन्। गत स्थानीय चुनावमा उम्मेद्वार लागि अनुरोध गर्दा सुरुमा उनी अलमल्ल परे। जीवनको लामो कालखण्ड सामाजिक अभियन्ताको रूपमा परिचय बनाएका राईलाई राजनीतिमा प्रवेश गर्ने निम्तो अनपेक्षित थियो।

व्यक्तिगत मतले मात्रै पनि विजय हुने सम्भावना देखेपछि गाउँका समाजसेवी दानबहादुर राईले उम्मेद्वार बन्न प्रस्ताव गरेका थिए। दुई पटकसम्म प्रतिनिधिसभा सदस्य भएका खोटाङका  प्रतिष्ठित समाजसेवी टङ्क राईले पनि अनुरोध गरे। सो क्षेत्रका सबै सामाजिक अभियन्ताहरू इमानसिंह राई, जयश्वोर राई, प्रतिमान राई, रामप्रसाद राई, तेजबहादुर राई, दिलबहादुर राई, टिकाबहादुर श्रेष्ठ, ध्रुव श्रेष्ठले पहल गर्न थाले। यो अनुरोध मेयर बन्न वा प्रदेशको सांसद बन्न थिएन। वडाध्यक्ष बन्नको लागि थियो।

काठमाडौँमा राम्रै चलिरहेको पसल, घर, कन्सल्टेन्सी लगायत सबै छोडेर चुनाव लड्नुलाई उनकी श्रीमतीले सुरुमा स्वीकृति दिइनन्। घरपरिवारलाई अनुरोध गर्न थालियो। अन्ततः श्रीमती पनि मानिन् उनले पनि सबै सुविधा छोडेर गाउँमा जाने निधो गरिन्। नेपथ्यमा गरिएको उनको यो त्याग अविस्मरणीय थियो। यो नौलो राजनीतिक यात्रामा उनका सबै परिवार र आफन्त एकमत भए।

खोटाङ जिल्लाको जालपा गाउँमा एउटा अनौठो र अघोषित नियम छ। जहाँ पढे पनि, जता गए पनि गाउँको विकासमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी हुनैपर्ने। विगतमा बनाइएको सो नियम विकास राईले तोडेनन्। अन्ततः वडामा उठ्न उनी सहमत भए।

चुनावमा खर्च हुने र सो खर्च उठाउन चुनावपछि भ्रष्टाचार हुन सक्ने सम्भावना रहन्छ भन्ने  कुरा अगाडि आयो। समाधान पनि निस्कियो। विकास राईको चुनाव खर्च सबैले बेहोर्ने। विकास माने।

खोटाङ जिल्लाका दूरदराजमा २०औँ वर्ष काम गरे पनि विकास राईको राजनीतिक पृष्ठभूमि थिएन। उनले स्वतन्त्र भएरै समाज सेवा गरेका थिए। उनी स्वतन्त्र उठे पनि जीत पक्का थियो। तर भविष्यमा राजनीतिक यात्राको लागि पार्टी चाहिन्थ्यो। त्यसैले तत्कालीन माओवादी पार्टी छनोटमा पर्‍यो। चुनावमा सबैको सहयोग भयो र जिते दुई तिहाइभन्दा बढी मतले। उनी बने दिक्तेल रुपाकोट मझुवागढ़ी नगरपालिका १२ का अध्यक्ष। गाउँलेले जितको खुसीयालीमा आफैंले पैसा उठाएर रमाइलो पनि गरे।

उनका प्रत्यासी तथा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज राईले पराजित भए पनि विकासलाई गाउँको विकासमा पूर्ण सहयोग गरेका छन्। गत वर्ष सम्पन्न 'लाटोकोसेरो तथा हुचिल उत्सव' को आयोजक समितिको संयोजकमा विकास राई थिए भने सदस्यमा धर्म। धर्मराज भन्छन् 'चुनाव एउटा प्रजातान्त्रिक प्रक्रिया थियो। चुनाव भयो र सकियो। गाउँको विकास हामी मिलेर गर्दैछौँ। हामीबीच कुनै विवाद छैन। विकासजीलाई हाम्रो पूर्ण समर्थन छ।' विकास र उनको राजनीतिक दलले जालपामा दुई तिहाइको दम्भ कहिले देखाएनन्।

माओवादीले चुनाव जिते पनि स्थानीय जालपा माविको सञ्चालक समितिमा नेपाली कांग्रेसका प्रत्यासीलाई राखियो। यसबाट पनि विकास राई राजनीतिलाई भन्दा पनि गाउँको आवश्यकतालाई प्राथमिकता दिन्छन्  भन्ने प्रस्ट हुन्छ।

उनको समूहमा 'तत्कालीन जिल्ला विकास समितिको सदस्य भएर काम गरेका उनीभन्दा धेरै अनुभवी जयश्वोर राई वडा सदस्यको रूपमा सहयोग गरिरहेका छन्। गाउँको विकासमा सबैको एकता अनुकरणीय छ। यो गाउँमा कोही ठूलो र सानो भन्ने नै छैन। जालपा गाउँले विकासको गति लिइसकेको छ। अमेरिकामा अध्ययन गरेका अर्का ध्रुव श्रेष्ठ पनि होस्टेमा हैसे गर्न गाउँ फर्किसकेका छन्।

दिक्तेलको पञ्च माविका शिक्षक कृष्ण आचार्य भन्छन् 'नयाँ काम गर्ने भनेपछि तम्सी हाल्ने विकास राई जस्तो योग्य र इमानदार वडाध्यक्ष शायदै अरू होलान्। त्यो भाग्यमानी गाउँ हो। त्यो राजनीतिक दल पनि भाग्यमानी हो जसले उनी जस्ता उम्मेदवार पाए।'

आचार्य जस्तै जालपा माविका  शिक्षक दिलबहादुर राई भन्छन् 'यो गाउँ मेहनतीहरूको नवीन काम गर्न रुचाउनेहरूको थलो हो। सामुदायिक रेस्टुरेन्ट, सामुदायिक विद्यालय, सामुदायिक मिल वा बाँसको डुड प्रयोग गरेर घर-घर धारा पुर्‍याइएको प्रसङ्ग होस् गाउँलेहरू एक जुट थिए र छन् पनि। पहिलो पुस्ता वा भनौँ ‘संस्थापन पक्ष’को रूपमा काम गरेका समाजसेवी टङ्क राई, जयश्वोर राई, प्रतिमान राई,  रामप्रसाद राई लगायतले देखेका सपना विकासजीले इमानदारीपूर्वक अगाडि बढाउने काम गरिरहनु भएको छ' उनी थप्छन् 'उनी जस्तो घर बिर्सेर समाजको लागि समय दिने मानिस शायदै पाइएला।'

जालपा गाउँमा पञ्चायतकालमै ‘जनहित युवा समाज’ नामक संस्था खोलेर नवीन कामहरूको सुरुवात गरिएको थियो। यो सानो गाउँमा मात्रै करिब ३० जनाले स्नातकोत्तर गरेका छन्। तिनै मध्येका एक विकास राई सरल, सहज, इमानदार र पारदर्शी छन्। उनले सो क्षेत्रमा प्रभावकारी काम गरिरहेको ‘जालपा जनसेवा समाज’को नेतृत्व गरिसकेका छन्। उनी गैरसरकारी संस्था महासंघ खोटाङको संस्थापक अध्यक्ष समेत भएका थिए। जुन कार्यकाल मानिसहरू अझै पनि सम्झन्छन्।

आज भन्दा २० वर्षअघि जालपा गाउँलाई जैविक गाउँ बनाउँदा होस्, गाउँमा गरिएका कुनै पनि विकासको कामको अनिवार्य सार्वजनिक लेखा परीक्षण गर्दा होस् विकास राईको भूमिका उल्लेखनीय रह्यो। नम्र, सबैसँग मिल्ने र सरकारको नियम गाउँमा लागु गर्ने कुरामा उनी दृढ छन्। उनी यति साधारण छन् पहिलोपटक भेट्नेले उनी त्यति पढेलेखेको भनेर भेउ पनि पाउँदैनन्।

हिसाब किताबमा पक्का छन्। अनावश्यक भाषण गर्न मन पराउँदैनन्। धेरै औपचारिकतामा विश्वास गर्दैनन्। उनी अफिस समयदेखि अगाडि र पछाडि पनि वडा कार्यालयमा भेटिन्छन्। फुर्सद निकालेर दिक्तेल बहुमुखी क्याम्पसमा पाहुनाका रूपमा समाजशास्त्र समेत पढाउँछन् उनी।

भर्खर गाउँमा ट्राउट माछा पालनको सुरुवात गरिएको छ। कुखुरा उत्पादनमा गाउँ आत्मनिर्भर भैसकेको छ। साना घरेलु उद्योगहरू सञ्चालित छन्। सङ्घ संस्थाको बैठक तथा गोष्ठीमा भत्ता लिइँदैन। शतप्रतिशत नतिजा ल्याउने अङ्ग्रेजी भाषामा पढाइने सामुदायिक विद्यालय 'ज्योति मावि' छ। सरकारी विद्यालय जालपा माविको पनि नतिजा उत्कृष्ट छ। उनकै नेतृत्वमा स्थापित सामुदायिक अस्पताल छ। गाउँमा खेल संस्कृति व्यापक छ। यो गाउँ विकास र संस्कृतिमा अब्बल छ।

समाजसेवी टंक राईले भने ‘यिनले न आफूले भ्रष्ट्राचार गर्छन् न अरूलाई गर्न दिन्छन्। यिनलाई जिम्मा दिएको काम पारदर्शी ढंगले गर्छन्। भद्र छन्। कामको जिम्मा लगाउँछन् र गरे कि गरेनन् भनेर सोधी रहन्छन्। योजनादेखि कार्यान्वयनमा विकास राईको अगुवाइ उल्लेखनीय छ।’

तर विकास राई आफैं भने 'गाउँको सामूहिक नेतृत्व, मानिसहरूको गाउँप्रतिको अगाध माया, विकास गर्ने चाहना र एकताले नै’गर्दा सम्भव भएको भनेर विश्वास गर्छन्। उनी सबै कुराको श्रेय आफ्ना अग्रज तथा सहकर्मीहरूलाई दिन्छन्। उनी भन्छन् ‘म त माध्यम मात्र हुँ।’

गाउँको विकास र विकास राई समेतको समूहको बारेमा बुझ्नको लागि  भने खोटाङ जिल्लाको जालपा गाउँमा नगई हुँदैन। राष्ट्रिय राजनीतिबाट  निराश भएका इमानदार राजनीतिज्ञहरू र सर्वसाधारणको लागि ग्रामीण विकास र सामुदायिक कर्तव्य सिक्नको लागि यो गाउँ एउटा खुला विश्वविद्यालय सरह हो। राष्ट्रिय राजनीतिमा पनि यस्तै अनुभवी, दूरगामी, पारदर्शी र मेहनती नेता आवश्यक छ। र जालपाको जस्तो  सामूहिक सोच र सपना पनि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell