PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जेलमा गाँसिएको त्यो सम्बन्ध जुन एउटै रुख र एउटै पासोमा समेटियो



सविन ढकाल

जेलमा गाँसिएको त्यो सम्बन्ध जुन एउटै रुख र एउटै पासोमा समेटियो
प्रतीकात्मक स्केच

‘कोदो रोप्न आएको दिदी। केही दिनमा फेरि काठमाडौं नै जान्छु,' २० दिनअघिको भेटमा उमिताले बोलेको यो वाक्य अझै पनि ताजै छ चन्द्रकला राईको स्मृतिमा।

कोदो रोपेर टिप्ने बेलामा फर्कने गरी काठमाडौँ गएकी उमिता अब कहिल्यै फर्किन्नन् भन्ने चन्द्रकलालाई एकछेउमा पनि लागेको थिएन।

तर, गएको बुधवार बिहान बतासे शैलीमा आएको एउटा खबरले उनलाई स्तब्ध बनायो।

खबर थियो - गौशालाको जंगलमा एउटै पासोमा झुन्डिएको अवस्थामा भेटिए एक जोडी।

झुन्डिएको अवस्थामा फेला परेकामध्ये एक चाहिँ अरू कोही होइन, चन्द्रकलासँग फर्केर आउने वाचासहित हिँडेकी उमिता।

नाम : उमिता दमाई

वर्ष : ३३

ठेगाना : दिप्रुङ चुइचुम्मा गाउँपालिका - ७, खोटाङ

छिमेकीसमेत रहेकी चन्द्रकलालाई उमिताले आत्महत्या नै गरिन् भन्ने एकरत्ति विश्वास छैन।

'उमिताले धेरै दु:ख पाइन्। अझै उनमा केही गर्ने हिम्मत डगेको थिएन,' चन्द्रकलाले पहिलोपोस्टसँग भनिन्।

उनले आत्महत्या गरेको भन्दा उनलाई अपत्यारिलो लाग्नुका केही कारण थिए। सबैभन्दा मुख्य त उमिताले भनेका कुराहरु नै।

'काठमाडौँमा नै केही गर्छु। अब आफैँ कोठा लिएर बस्छु दिदी,' चन्द्रकलालाई उमिताले यसै भनेकी थिइन्।

उमिता पटकपटक काठमाडौं र खोटाङ गर्थिन्। सुरुमा बहिनी ज्वाइँसँगै बस्दै आएकी उमिता यसपटक भने काठमाडौँ पुगेर बेग्लै कोठा लिएर बस्ने सुरमा थिइन्। काठमाडौंमा डेरा लिएर बस्ने योजना बनाएकी उनी एकाएक कसरी रुखमा झुन्डिइन्?

९ वर्षअघि माइतीबाट दुई घण्टाको पैदल हिँडेर पुगिने थाम्खा वडा नम्बर १ मा उनको घरजम भएको थियो उनको। बिहे त भयो तर वैवाहिक जीवन जम्न सकेन।

त्यसमाथि नसोचेको जेल जीवन भोगिन्। गर्भपतनको अभियोगमा उमिताको जेलयात्रा सुरु भयो।

‘जेल परिन्। घरतिरबाट पनि त्यसपछि सहयोग भएन,' दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ७ की सदस्य समेत रहेकी चन्द्रकलाले सुनाइन्। तीन वर्ष उमिताले खोटाङ जिल्ला कारागारमा नै बिताउन पर्‍यो।

केही महिना अघिमात्रै हो उमिता जेलबाट छुटेकी। जेलमुक्तिसँगै उनको बैबाहिक जीवनको धागो पनि चुँडियो। बिहे टुट्यो। श्रीमानले छाडे र खाडीतिर हानिए। त्यसपछि माइतमा नै बस्दै आएकी थिइन् उमिता।

‘माइती पनि आर्थिक अवस्था कमजोर नै छ,' चन्द्रकलाले सुनाइन्।

यतिसम्म कि उमिताका आमाबाबु र भाइ पनि उनको मृत्युको विषयबाट बेखबर छन्। उनीहरुलाई केही पनि थाहा छैन - किन र कसरी मरिन्?

नजिकबाट चिनेकी चन्द्रकला पनि यतिमात्र भन्न सक्छिन् - 'ज्यान फाल्न पो पहाड छोडेर काठमाडौँ पुगेकी रहिछिन्।'

+++

उमिताको सलको पासोमै झुन्डिएको अवस्थामा भेटिए जय।

नाम : जय गिरी

उमेर : ४० वर्ष

ठेगाना : मझुवागढी नगरपालिका-१०, खोटाङ।

एक दशनामी पुरुष र एक दलित महिलाको पासो एउटै!

'अनर किलिङ' त होइन?

प्रश्न उठ्नु स्वभाविक थियो। प्रेम र कथित उचनीच जातिको विषयले पटकपटक यस्तै रुप लिने गरेको छ। त्यसले आशंकालाई थप बल मिल्यो र प्रश्न उठ्यो, जातकै कारण मृत्यु भएको त होइन?

अनि जय गिरी र उमिता दमाईको भेट चाहिँ कसरी भयो त? धेरैको चासो बन्यो।

अनुसन्धानमा जुटेको प्रहरी र जयकै परिवारका सदस्य दुवैका अनुसार यी दुईको भेट भने जेलभित्रै भएको खुल्छ।

‘हामीले अनुसन्धान गर्दा उनीहरु एउटै कारागारमा भेटिएको भन्ने देखिएको छ,' प्रहरी निरीक्षक खेम राउतले सुनाए, 'जेलभित्रै उनीहरूको चिनजान भएको बुझियो।'

‘एक जना दमाई केटी लिएर काठमाडौँ गयो भन्नेमात्र सुनियो। जेलमा नै प्रेम परेको हल्ला सुनेको हो,' नातामा भतिज पर्ने धनबहादुर गिरीले पहिलोपोस्टसँग भने।

जय चोरी केसमा जेल परेका थिए। जिल्ला कारागार खोटाङमा रहँदा त्यही उनको उमितासँग चिनजान भएको थियो। त्यही चिनजान प्रेममा परिणत पनि भयो। उमिता जेलबाट बाहिरिएको ४ दिनपछि जय पनि रिहा भए।

‘कारागारमा हुँदा मैले नै खर्च लग्दिने गर्थेँ। तर, पछि मलाई नै थाहा नदिइ जेलबाट निस्किएर काठमाडौँ गएछन्,' धनबहादुरले भने। जेलबाट घरतिरै नलागी जय काठमाडौं हिँडेका रहेछन्। उमितासँग प्रेममा परेका जयको यसअघि नै घरजम कायमै थियो।

+++

जय काठमाडौंको बाँसबारीमा बस्दै आएका थिए - १७ वर्षीय छोरा र श्रीमतीसँगै। उनकी श्रीमतीले भने मकै पोलेर जिविका चलाउँदै आएकी छिन्। सोमवार पशुपति जाने भन्दै कोठाबाट निस्किएका उनी त्यसपछि फर्केनन्।

तीजको मेला हेर्न भनेर नुवाइधुवाई गरेर निस्किएका थिए जय। ‘मेला हेर्ने भनेर करिब ११ बजेतिर निस्किएको रहेछ,' जयका दाजु खड्गबहादुरले सुनाए, 'नुहाउँदा बुहारीले नै जीउ मिचिदिएकी रहिछिन्। हाँसीखुशी नै निस्कियो थियो रे।'

त्यसो त जयका दाजु खड्ग पनि काठमाडौंमै बस्छन्। तर, जेलबाट छुटेपछि यी दुईबीच भेट नै भएन। जतिखेर भेट भयो त्यतिखेर जयको प्राण थिएन।

'रुखको फेदमा तीनवटा बोतल थियो,' मृत भाइसँग साक्षत्कार हुँदाको अवस्था सुनाए। जयसँगै झुन्डिरहेको अवस्थामा रहेकी उमितालाई चाहिँ पहिलो र अन्तिम पटक त्यही भेटेका रहेछन्।

+++

मृत भेटिनु अघिल्लो दिन यी दुवै पशुपति जाने भन्दै हिँडेका थिए। साथीहरुसँग आएकी उमिता एकाएक भिडबाट कता छुटिन् कसैले पत्तै पाएन, तीजको भिडमा छल्लिनु ठूलो कुरा थिएन। कोठाबाट विदा भएका जय पनि पशुपति पुगे वा पुगेनन् कसैले याद गरेन।

त्यसको भोलिपल्ट मर्निङ वाक गर्न पुगेका मानिसहरुले एक जोडी झुन्डिएको अवस्था देखे। लगत्तै प्रहरीलाई खबर गरे। राणा शासनको सुरुवातसँगै हिंसात्मक घटनाको साक्षी रहेको भण्डारखालको भुईँबाट १२ फिट माथि रुखमा यी दुवैको शव झुन्डिएको अवस्थामा भेटियो। दुवै एकै रुखमात्र होइन एउटै पासोमा झुलिरहेको अवस्थामा भेटिँदा रहस्यको खोजी सबैतिरबाट भयो। मृत्यु भएका दुवैको पृष्ठभूमि र तत्कालीन अवस्थाको तथ्य प्रहरीले खोज्यो र निश्कर्ष निकाल्यो - सामुहिक आत्महत्या। दुवैको शव पोस्ट मार्टमका लागि प्रहरीले पठाएको छ। घटनालाई लिएर कसैले जाहेरी दिएका छैनन्। पोस्ट मर्टमको रिपोर्टमा अन्य कुनै संकेत देखिएन भने प्रहरीकै निश्कर्षले काम गर्छ र बन्द हुनेछ प्रहरीको अनुसन्धान फाइल। त्यससँगै रहस्यहरु पनि - जिवित र मृत भेटिँदा बीचका घटनाक्रमसमेत।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell