काठमाडौं : २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त हुन पुगेका काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माणमा दक्षिण कोरियाले सहयोग गर्ने भएको छ।
ऐतिहासिक महत्व रहेको साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र दक्षिण कोरियाको सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यस्तै ती क्षेत्रसँगै निर्माण हुने स्मार्ट सिटीहरुको विकासका लागि पनि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ। समझदारी पत्रमा नेपालका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियाको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरेका थिए।
त्यसक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमको उपस्थिति रहेको थियो।
सम्झौता अनुसार पहिलो चरणमा कर्पोरेसनले साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र सोसँग जोडिएका क्षेत्रहरुको गुरुयोजना तयारी एवं विभिन्न योजनाहरुको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्राधिकरणले जनाएको छ। सो परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने भएको छ।
यस्तै स्मार्ट सिटीको विकासका लागि कर्पोरेसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा सहयोग पुर्याउने सहमति भएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस समझदारी काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको संरक्षण तथा नयाँ शहरहरुको विकासका लागि महत्वपूर्ण रहेको बताएका थिए।