कैलालीः जिल्ला प्रहरी कार्यालय कैलालीले २९ लाख ८० हजार श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीको टोलीले यूपी ३१ ए के ७३४८ नम्बरको कारबाट २५ लाख रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ सहित भारत पालिया खिरी घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने अतुल बर्मालाई पक्राउ गरेको हो।
भारतीय नम्बर प्लेटको गाडीमा भारतीय २ हजार र ५ सय दरका नोटहरू रहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतको नेतृत्वमा शुक्रवार बिहानैबाट सीमामा टोली खटेको थियो।
डिएसपी बस्नेतका अनुसार बर्मा धनगढीका सुनचाँदी व्यवसायी हुन्। भारतीय नागरिक रहेका बर्माले धनगढीमा शुभम् नाम गरेको सुनचाँदी पसल सञ्चालन गर्दै आएको बुझिएको छ। उनी बिहीबार बेलुका मात्रै पालिया गएका र शुक्रवार फर्किदा उक्त परिमाणको रकम बरामद गरिएको प्रहरीको अनुसन्धानमा देखिएको छ।
उनका साथबाट छ बटा विभिन्न बैङ्कका एटिएम कार्ड र विभिन्न खाली चेक समेत प्रहरीले बरामद गरेको छ।