PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विराटनगर गुरुकुल नाटक महोत्सवमा प्रदर्शन भयो ‘अँध्यारो बाटो’

विराटनगर गुरुकुल नाटक महोत्सवमा प्रदर्शन भयो ‘अँध्यारो बाटो’

पहिलोपोस्ट /पहिलोपोस्ट


विराटनगर : विराटनगरको हाटखोलास्थित गुरुकुलमा शुक्रवार शुरु भएको विद्यालय नाटक महोत्सवमा शनिवार नाटक ‘अँध्यारो बाटो’ मञ्चन भएको छ। 
विराटनगरस्थित सत्यनारायण माविले तयार पारेको ‘अँध्यारो बाटो’ हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा मञ्चन गरिएको हो। नाटकले सामाजिक परिवेश र समाजका बेथितीहरुलाई समेटेको थियो। सत्यनारायण माविकै शिक्षक लोकनाथ नेपालको लेखन तथा निर्देशन रहेको नाटक ‘अँध्यारो बाटो’ खासगरी चेलीबेटी बेचबिखन र उनीहरुको पुनःस्थापना गर्दा हुने समस्यामा केन्द्रित थियो।

आरोहण–गुरुकुल विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको संरक्षण र प्रवर्द्धनमा शुक्रवार शुरु नाटक महोत्सव भदौ २९ गतेसम्म चल्नेछ। नाटकप्रति आकर्षित विद्यार्थीहरुलाई सहभागी गराइ महोत्सव गर्दा विद्यालयहरु उत्साहित हुने र आगामी दिनमा नाट्य गतिविधिले तीव्रता पाउने आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए।

आयोजक संस्थाको नाटक ‘म–नैतिक’ मञ्चनसँगै शुरु भएको महोत्सवमा विभिन्न ९ विद्यालयले दैनिक अपरान्ह ४ बजे नाटक मञ्चन गरिरहेका छन्। महोत्सवमा आज अन्नपूर्ण एकेडेमीले ‘मेहनत र परिश्रमको फल’ मञ्चन गर्नेछ।

पारागन एकेडेमी माविले भदौ २३ गते सोमवार ‘दशैं’, सेन्ट जोसेफ स्कुलले भदौ २४ गते मंगलवार ‘लक्ष्मीपूजा’, सप्तकोसी सेबो स्कुलले भदौ २५ गते बुधवार ‘छाउपडी’, बूढानीलकण्ठ से.इ. स्कुलले भदौ २६ गते बिहीवार ‘नासो’ नाटक प्रस्तुत गर्नेछन्।

लिलिपुट प्रिमियर एलिमेन्ट्री स्कुलले भदौ २७ गते शुक्रवार ‘प्रधानमन्त्री’, श्रीश्री रविशंकर विद्या मन्दिरले भदौ २८ गते शनिवार ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक इ. टिचिङ स्कुलले भदौ २९ गते आइतबार ‘परिवेश’ मञ्चन गर्दै नाटक महोत्सव समापन हुनेछ। नाटक महोत्सवमा सांग्रिला बुक्स र वाईवाई चाउचाउले सहयोग गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell