
अस्ट्रियाको ४९ वर्ष पुरानो एक स्टेडियमले अनौठो र पर्यावरण सुधारसँग सम्बन्धित पहल गरेको छ। यो स्टेडियममा करिब ३०० रुखहरु रोपिएको छ।
सन् १९६० को दशकमा ठूला प्रतियोगिताहरुसमेत हुने यस मैदानमा पछिल्लो समय कुनै पनि खेल गतिविधि भएका थिएनन्। ३० हजार दर्शक क्षमता भएको मैदानको बीचमा अहिले करिब ३०० रुखहरु रोपिएका छन्। अब यो स्टेडियममा दर्शकहरु फुटबल म्याच हेर्न नभएर रुखको प्रदर्शनी हेर्न जाने छन्।
दक्षिण अस्ट्रियामा रहेको यो स्टेडियम इटली र स्लोभानियाको सीमानजिक रहेको छ।
५० वर्षका फ्रान्सेली कलाकार क्लाउस लिटम्यानले यो स्टेडियमलाई रुखहरुको प्रदर्शन गर्ने स्थलका रुपमा विकास गर्न भूमिका खेलेका हुन्। रुखहरुलाई हेर्न एकपटकमा बढीमा ३० हजार मानिसहरु आउन सक्नेछन्।
'वर्तमान अवस्थामा यसले धेरैका लागि क्लाइमेट चेन्ज बहसकाे स्मरण र प्रतिनिधित्व गर्छ,' लिटम्यानले भनेका छन्।
वातावरणसम्बन्धी अभियानकर्ता समेत रहेका पप/रक/ज्याज गायक मिचेलको १९७० ताकाको गीत 'बिग एलो ट्याक्सी' को एउटा अन्तरामा 'उनीहरुले स्वर्गलाई फुटपाथ बनाएर पार्किङमा राखेका छन्' भनेको छ भने अर्को अन्तरामा 'संसार यति विकसित भइसक्यो की प्रकृति हेर्न संग्रहालय जानुपर्ने अवस्था आएको छ' भनेर भनेकाे छ। मिचेलको यही गीतबाट प्रभावित भएर यो स्टेडियमलाई 'क्लाइमेट चेन्ज' सम्बन्धी प्रदर्शन स्थल बनाउन प्रेरित भएको बताइएको छ। यद्यपि लिटम्यानले यो गीतबाट प्रेरणा पाएकोबारे प्रदर्शनीमा बताएनन्। तर सोही वर्ष बनाइएको एउटा स्केचबारे भने बताएका छन्।
सन् १९७० मा कोरिएकाे एक पेन्टिङबाट प्रेरणा
सन् १९७० मा कोरिएको एक चित्रबाट प्रभावित भइ लिटम्यानले स्टेडियमलाई रुख प्रदर्शन गर्ने स्थलका रुपमा विकास गरेका हुन्। उनका अनसार सन् १९७० मा म्याक्स पेन्टनरले एउटा स्केच बनाएका थिए, जसमा एउटा भिजन थियो- एकदिन यस्तो हुनेछ प्रकृति हेर्न मानिसहरु निश्चित क्षेत्र जस्तै कि स्टेडियममा जानेछन्। उनको स्केचमा मानिसहरुले स्टेडियममा बसेर रुख हेरिरहेको देखाइएको छ।